News Summary
Generated by OK AI. Editorially reviewed.- सिल्भेस्टर स्टालोनले डोनाल्ड ट्रम्पले हलिउडका लागि ‘विशेष दूत’ नियुक्त गर्दा आफूले स्पष्ट सहमति नदिएको खुलासा गरेका छन्।
- उनले सुरुमा नियुक्तिबारे असहज लागेको र हलिउडलाई ‘सामन्ती राज्यजस्तै’ भन्दै त्यस्तो भूमिकाले काम नगर्ने बताएका छन्।
- ट्रम्पले जनवरी २०२५ मा स्टालोन, मेल गिब्सन र जोन भोइटलाई हलिउडलाई ‘ठूलो, राम्रो र बलियो’ बनाउने लक्ष्यसहित विशेष दूत घोषणा गरेका थिए।
लस एन्जलस । हलिउड अभिनेता सिल्भेस्टर स्टालोनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हलिउडका लागि ‘विशेष दूत’को उपाधि दिएका थिए । तर नियुक्तिको झन्डै दुई वर्षपछि ‘रकी’ अभिनेताले आफूले उक्त भूमिकाका लागि स्पष्ट रूपमा सहमति नदिएको खुलासा गरेका छन् ।
“यो अचानक भयो,” अस्करमा मनोनीत अभिनेताले हालै ‘द सन्डे टाइम्स’सँगको अन्तर्वार्तामा भने, “एक रात म टेलिभिजन हेरिरहेको थिएँ । त्यहाँ ‘स्टालोन, मेल गिब्सन र जोन भोइट’ भनेर समाचार आयो । त्यसपछि मैले ‘के ?’ भनेँ । मैले भनेँ, ‘माफ गर्नुहोस्, साँच्चै ?’ किनकि सुरुमै मलाई सोधिएको भए म भन्थेँ, यो सम्भव छैन ।’
स्टालोनले नियुक्तिबारे आफूमा रहेको असहमतिबारे पनि खुलेर कुरा गरे । उक्त भूमिका स्वीकार गर्न हिचकिचाएको हो भन्ने प्रश्नमा उनले भने, “हो, किनकि हलिउड सामन्ती राज्यजस्तै छ जस्तो मलाई लाग्छ । त्यहाँ आ-आफ्ना साना राज्य छन् । तपाईं गएर ६ वटा स्टुडियोलाई कसरी काम गर्ने भनेर भन्न सक्नुहुन्न । अनि मेल गिब्सन, जोन भोइट र म आफ्नै ढंगले काम गर्ने मानिस हौँ ।’
उनले ट्रम्पलाई समेत “यसले काम गर्दैन” भनेको स्मरण गरे ।
“मैले धन्यवाद र ‘चाओ’ भनेँ, किनकि यो असम्भव छ । हलिउड आफ्नै ढंगले चल्छ र विकसित हुँदै जान्छ । यो कर्पोरेट क्षेत्र हो र कर्पोरेट क्षेत्रका मानिस मबाट वित्तबारे सुन्न चाहँदैनन्’ स्टालोनले भने ।
तत्कालीन राष्ट्रपति ट्रम्पले जनवरी २०२५ मा स्टालोन, गिब्सन र भोइटलाई पहिलोपटक ‘विशेष दूत’ घोषणा गरेका थिए । उनले ट्रुथ सोसलमा लेखेका थिए, ‘महान् तर गम्भीर समस्यामा रहेको हलिउड, क्यालिफोर्नियाका लागि जोन भोइट, मेल गिब्सन र सिल्भेस्टर स्टालोनलाई विशेष दूत घोषणा गर्न पाउनु मेरा लागि सम्मानको कुरा हो ।’
ट्रम्पले उनीहरूले पछिल्ला चार वर्षमा विदेशी मुलुकतर्फ धेरै व्यवसाय गुमाएको हलिउडलाई पहिलेभन्दा “ठूलो, राम्रो र बलियो” बनाएर फर्काउने उद्देश्यले आफ्नो विशेष दूतका रूपमा काम गर्ने बताएका थिए ।
“यी तीन अत्यन्त प्रतिभाशाली व्यक्ति मेरा आँखा र कान हुनेछन् र उनीहरूले दिएका सुझाव म कार्यान्वयन गर्नेछु । संयुक्त राज्य अमेरिकाजस्तै हलिउडमा पनि फेरि स्वर्णयुग आउनेछ,” ट्रम्पले लेखेका थिए ।
नियुक्तिलाई लिएर प्रारम्भमा असहज महसुस गरे पनि स्टालोनले अझै ट्रम्पबारे सकारात्मक धारणा राखेका छन् । अन्तर्वार्तामा उनले मार–ए–लागोमा आयोजित एक कार्यक्रममा निर्वाचित राष्ट्रपति ट्रम्पलाई ‘पौराणिक पात्र’का रूपमा परिचय गराएको बताए ।
“उनले जे गरेर देखाए, संसारमा अरू कसैले त्यो गर्न सक्दैनथ्यो । त्यसैले म चकित र प्रभावित छु,” स्टालोनले भने ।
प्रतिक्रिया 4