+
+
Shares

सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले सेयर बजारमा इन्ट्राडे कारोबार कार्यान्वयनका लागि नीतिगत र कानुनी व्यवस्था तयार गर्दै अवधारणापत्र सार्वजनिक गरेको छ।
  • बोर्डले प्रारम्भमा ‘बाइ फर्स्ट, सेल लेटर’ बाट कारोबार थाल्ने र पछि ‘सेल फर्स्ट, बाइ लेटर’ लागू गर्ने प्रस्ताव गरेको छ।
  • अवधारणापत्रमा लगानीकर्ता संरक्षण, जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, वास्तविक समयको कारोबार अनुगमन र पारदर्शी बजार सञ्चालनको व्यवस्था उल्लेख छ।

८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा इन्ट्राडे (अन्तरदिवसीय) कारोबार कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको तयारी गरिरहेको छ । एकैदिनमा हुने धितोपत्र किनबेचलाई इन्ट्राडे कारोबार भनिन्छ ।

बोर्डले आवश्यक नीतिगत व्यवस्थाका लागि एक अवधारणापत्र सार्वजनिक गर्दै आवश्यक सुझाव माग गरेको छ । बोर्डले ‘नेपालमा इन्ट्राडे ट्रेडिङ कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक गरी सम्बन्धित सरोकारवालाबाट राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न परामर्श आह्वान गरेको हो।

प्रारम्भिक चरणमा ‘बाइ फर्स्ट, सेल लेटर’ अर्थात् पहिले धितोपत्र खरिद गरेर सोही दिन बिक्री गर्न मिल्ने व्यवस्थाबाट इन्ट्राडे कारोबार थाल्ने प्रस्ताव गरिएको छ ।

धितोपत्र सापटी तथा ऋण र कभर्ड सर्ट सेलिङका लागि आवश्यक पूर्वाधार पर्याप्त रूपमा विकास भएपछि मात्रै ‘सेल फर्स्ट, बाइ लेटर’ अर्थात् पहिले बिक्री गरेर पछि खरिद गर्ने कारोबार कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ।

अवधारणापत्रमा लगानीकर्ता संरक्षणलाई प्राथमिकतामा राख्दै जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, प्रविधिमा आधारित वास्तविक समयको कारोबार तथा अनुगमन र पारदर्शी बजार सञ्चालन गरिने उल्लेख छ ।

नियमित कारोबार हुने, पर्याप्त तरलता भएका र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्रै इन्ट्राडे कारोबारका लागि योग्य बनाउन सकिने प्रस्ताव गरेको छ। अनुभव र जोखिम मूल्यांकनका आधारमा पछि योग्य धितोपत्रको दायरा विस्तार गर्न सकिने उल्लेख छ ।

इन्ट्राडे कारोबारका लागि योग्य धितोपत्रको मापदण्ड, योग्य लगानीकर्तासम्बन्धी व्यवस्था, ब्रोकरको मानक कार्यसञ्चालन प्रक्रिया ९एसओपी०, जोखिमसम्बन्धी जानकारी, मार्जिन तथा जोखिम व्यवस्थापन प्रणाली (आरएमएस), बजार निगरानी प्रणाली र आवश्यक प्रविधिगत पूर्वाधार तयार गर्नुपर्ने अवधारणापत्रमा उल्लेख छ।

यी व्यवस्था तयार भएपछि परीक्षण, पाइलट कार्यान्वयन तथा तयारी मूल्यांकनमार्फत चरणबद्ध रूपमा अन्तरदिवसीय कारोबार सञ्चालनमा ल्याउने प्रस्ताव गरिएको छ।

अवधारणापत्र तयार गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिमा छलफल गरिएको थियो । धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न गठित उक्त समितिले आवश्यक अध्ययनपछि अवधारणापत्र तयार गरेको बोर्डले जनाएको छ।

बोर्डले अवधारणापत्र, यसको कार्यकारी सारांश तथा लगानीकर्ताले सुझाव दिन सक्ने विषय सार्वजनिक गरेको छ। सम्बन्धित सरोकारवालाले प्रस्तावित व्यवस्थामाथि राय तथा सुझाव दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?