+

म्यान्चेस्टर सिटी बहुसंख्यक आर्थिक आरोपमा दोषी ठहर

२०८३ असोज  ९ गते २०:२५ २०८३ असोज ९ गते २०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर सिटी प्रिमियर लिगका ११५ आर्थिक आरोपमध्ये अधिकांशमा दोषी ठहर भएको बीबीसी स्पोर्ट्सले जनाएको छ।
  • स्वतन्त्र प्यानलको निर्णयपछि पनि क्लबमाथि कस्तो सजाय लाग्ने भन्ने विषयमा अझै फैसला भएको छैन।
  • प्रिमियर लिगले सन् २००९ देखि २०१८ सम्मका वित्तीय उल्लंघनसम्बन्धी ११५ आरोप सिटीमाथि लगाएको थियो।

९ असोज, काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटी प्रिमियर लिगले लगाएका ११५ आर्थिक आरोपमध्ये अधिकांशमा दोषी ठहर भएको बीबीसी स्पोर्ट्सले जनाएको छ । स्वतन्त्र प्यानलले निर्णय गरिसकेको भए पनि क्लबमाथि कस्तो सजाय लाग्ने भन्ने विषयमा भने अझै फैसला भएको छैन ।

बीबीसीका अनुसार सिटी अधिकांश उल्लंघनमा दोषी ठहर भएको छ भने द एथलेटिक ले ११५ मध्ये एकबाहेक सबै आरोपमा क्लब दोषी ठहरिएको दाबी गरेको छ । प्रिमियर लिगले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

यता म्यानचेस्टर सिटीले पनि निर्णयबारे प्रत्यक्ष प्रतिक्रिया नदिँदै प्रक्रिया अझै गोपनीय र जारी रहेको जनाएको छ । क्लबले सन् २०२३ मा दिएको आफ्नो आधिकारिक धारणा यथावत् रहेको उल्लेख गर्दै आठ वर्षदेखि आफूले न्यायिक प्रक्रियाको सम्मान गरेको जनाएको छ ।

बीबीसीका अनुसार यदि अन्तिम निर्णय क्लबविरुद्ध आएमा म्यानचेस्टर सिटीले त्यसविरुद्ध अपिल गर्ने तयारी पनि गरेको छ ।

प्रिमियर लिगले सन् २००९ देखि २०१८ सम्मको अवधिसँग सम्बन्धित ११५ आर्थिक उल्लंघनमा सिटीमाथि आरोप लगाएको थियो ।

तीमध्ये ५४ आरोप सही आर्थिक विवरण उपलब्ध नगराएको, १४ आरोप खेलाडी तथा प्रशिक्षकको पारिश्रमिकसम्बन्धी विवरण गलत दिएको, पाँच आरोप यूईएफएको वित्तीय नियम उल्लंघन, सात आरोप प्रिमियर लिगको पीएसआर नियम उल्लंघन तथा ३५ आरोप अनुसन्धानमा सहयोग नगरेकोसँग सम्बन्धित छन् ।

सिटीमाथिको विवाद सन् २०१८ मा ‘फुटबल लिक्स’ मार्फत सुरु भएको थियो । त्यसपछि यूईएफएले अनुसन्धान सुरु गर्‍यो, २०२० मा दुई वर्षको युरोपियन प्रतिबन्ध लगाए पनि कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले त्यो प्रतिबन्ध उल्ट्यायो ।

अन्ततः प्रिमियर लिगले सन् २०२३ मा ११५ आर्थिक आरोप दर्ता गरेको थियो ।

इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय