१२ असोज, जनकपुरधाम । मुलुक आर्थिक दबाब र रसुवाको विनाशकारी बाढीपछि अस्तव्यस्त रहेका बेला मधेश सरकारले भने करौडौं पर्ने विलासी गाडी खरिद गर्ने खरिद प्रक्रिया अघि बढाएको छ ।
श्रम तथा यातायात मन्त्रालयले ४ करोड मूल्य पर्ने विलासी गाडी खरिद गर्न भदौ २५ मा बोलपत्र आह्वान गरिसकेको खुलेको छ ।
चार पांग्रे गाडी खरिदका लागि श्रम तथा यातायात मन्त्रालयको शीर्षकमा चालु आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमा अर्थ मन्त्रालयसँग ५० लाख रुपैयाँ थपिदिन श्रम मन्त्रालयले पत्र पठाएको छ ।
टेन्डर आह्वान प्रक्रियाको लागि अर्थ मन्त्रालयसँग स्वीकृति मागिएको मन्त्रालयका उपसचिव जयकुमार राउतले बताए ।
तर, अर्थ मन्त्रालयले विनियोजित बजेटमध्ये ७ अर्ब रुपैयाँ घट्ने अनुमान गरिएको भन्दै केही शीर्षकमा २० देखि शतप्रतिशतससम्म कटौती गर्त मातहतका निकायलाई पत्राचार गरेको छ ।
यस्तै, केही शीर्षकमा बजेटसमेत पीएलआईएमबीसमा रोक्का गरेको छ । जसमा सवारीसाधन खरिदको बजेट पनि परेको छ ।
यता श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले भने चालु आर्थिक वर्षको बजेटमै अतिविशिष्ट अतिथिका लागि सवारीसाधन खरिद गर्न रकम विनियोजन भएकाले प्रक्रिया अघि बढाइएको बताए । गाडी खरिद प्रक्रिया अघि बढाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयबाट पत्राचार भएको उनले बताए ।
यता, अन्य गाडी खरिदका लागि बजेट रोक्का गरिएपनि अति विशिष्ट व्यक्तित्वको लागि गाडी खरिद गर्न भने बजेट नरोकिएको अर्थ मन्त्रालयले दाबी गरेको छ ।
नयाँ खरिद गरिने गाडी कहिलेकाहीँ राष्ट्रपति तथा प्रधानमन्त्री मधेशमा आउँदा प्रयोग गर्नका लागि खरिद गर्न लागेको दाबी गरिएको छ ।
प्रतिक्रिया 4