+
+
Shares

इन्स्टाग्राम रिल्सको नयाँ गाइड : राम्रो भिडियो कसरी बनाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ९:५६

इन्स्टाग्रामले प्रभावकारी रिल्स निर्माणका लागि एउटा नयाँ र अपडेटेड गाइड सार्वजनिक गरेको छ। यो गाइड प्लेटफर्मको ‘टिप्स एन्ड ट्रिक्स’ शृङ्खलाको भाग हो। यसको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई विभिन्न फिचरबारे जानकारी दिएर नयाँ सुविधाहरू प्रयोग गर्न प्रोत्साहित गर्नु हो।

यस गाइडले रिल्स कसरी बनाउने र इन्स्टाग्राममा यसको भूमिका कस्तो हुन्छ भन्ने कुरा बुझाएको छ।

इन्स्टाग्रामका अनुसार ३ सेकेन्डदेखि ३ मिनेटसम्मका रिल्स बनाउन सकिन्छ। ३ देखि १५ सेकेन्डका भिडियोहरू ट्रेन्डिङ विषय र द्रुत ट्रान्सिसनका लागि उपयुक्त हुन्छन्। १५ देखि ६० सेकेन्डका भिडियोहरू ट्युटोरियल र दैनिक जीवनका क्लिपहरूका लागि उपयोगी मानिन्छन्।

त्यसैगरी ६० सेकेन्डदेखि ३ मिनेटसम्मका भिडियोहरू लामो कथा भन्न र विस्तृत जानकारी दिनका लागि प्रभावकारी हुन्छन्। प्रयोगकर्ताले धेरै वटा फोटोहरू अपलोड गरेर तिनलाई स्लाइडसोका रूपमा पनि रिल्समा प्रस्तुत गर्न सक्छन्।

भिडियोमा टेक्स्ट ओभरले र क्याप्सनको प्रयोगलाई पनि गाइडले विशेष महत्त्व दिएको छ। टेक्स्ट ओभरलेले भिडियोका मुख्य कुरालाई उजागर गर्छ भने क्याप्सनले भिडियोमा बोलिएका शब्दहरूलाई स्क्रिनमा देखाउँछ। यी दुवै फिचरले अडियो नसुन्ने वा सुन्न समस्या भएका प्रयोगकर्ताका लागि भिडियो बुझ्न सहज बनाउँछन्।

इन्स्टाग्रामले एडिटिंगका लागि केही मुख्य एडिटिङ कन्ट्रोलहरूको बारेमा पनि जानकारी दिएको छ। प्रयोगकर्ताले भिडियोको प्लेब्याक स्पिड मिलाउन, बिना हात भिडियो रेकर्ड गर्न टाइमर प्रयोग गर्न र सहज ट्रान्सिसनका लागि अलाइनमेन्ट टुल प्रयोग गर्न सक्छन्। यदि तपाईंलाई यी एडिटिङ फिचरहरू अन गरेर प्रयोग गर्ने तरिका थाहा छैन भने निम्न प्रक्रिया अपनाउन सक्नुहुन्छ :

  • इन्स्टाग्राम एप खोलेर रिल्स क्यामेरामा जानुहोस्।
  • स्क्रिनको देब्रेपट्टि रहेको मेनुबाट ‘प्लेब्याक स्पिड’ छानेर भिडियोको गति ढिलो वा छिटो बनाउनुहोस्।
  • हातले फोन नछोई भिडियो रेकर्ड गर्न ‘टाइमर’ आइकनमा थिचेर समय सेट गर्नुहोस्।
  • अघिल्लो क्लिपसँग नयाँ क्लिप मिलाएर सहज ट्रान्सिसन दिन ‘अलाइन’ (Align) टुल अन गर्नुहोस्।

यसका साथै गाइडमा रिल्सको डिस्ट्रब्युसन कसरी बढाउने भन्नेबारे पनि उल्लेख छ। राम्रो प्रदर्शन गर्ने रिल्सहरू एक्सप्लोर पेजमा देखिन्छन्, जसले गर्दा नयाँ प्रयोगकर्ताहरूसम्म पुग्न सजिलो हुन्छ। स्टोरीजको तुलनामा रिल्सको पहुँच फराकिलो हुन्छ। नयाँ मानिसहरूसम्म पुग्नका लागि भिडियोको गुणस्तर उच्च हुनुपर्छ र भिडियो सुरुदेखि नै आकर्षक हुनुपर्छ।

यो अपडेटेड गाइडमा पूर्ण रूपमा नयाँ जानकारी नभए पनि यसले पुराना र नयाँ फिचरहरूलाई पुनरावलोकन गर्न मद्दत गर्छ। हाल इन्स्टाग्राममा प्रयोगकर्ताहरूले बिताउने कुल समयमध्ये ५० प्रतिशतभन्दा बढी समय रिल्स हेर्नमै खर्च हुने गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?