प्रा.डा. नरेन्द्रराज खनाल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगोल विभागका पूर्वप्रमुख तथा वरिष्ठ भूगोलविद् हुन्। अवकाशप्राप्त प्राध्यापक खनाल विशेषगरी जलवायु परिवर्तन, हिमनदी, बाढी-पहिरोजस्ता प्राकृतिक विपद् जोखिम व्यवस्थापन, भू–आकृति विज्ञान र सीमा मामिलाका आधिकारिक विशेषज्ञ मानिन्छन्।
पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर असर र अकल्पनीय प्राकृतिक विपत्तिहरूको सामना गरिरहेको छ। भोटेकोशी र त्रिशूली नदी बेसिनमा बारम्बार आइरहेका विनाशकारी बाढीहरूले भौगोलिक संरचनामै उथलपुथल ल्याइदिएका छन्।
यसै सन्दर्भमा, प्रा.डा. खनालले गत भदौ १० गते लाङटाङ लिरुङ हिमशृङ्खला क्षेत्रमा गएको हिमचट्टानी पहिरोपछि आएको बाढीले नदी प्रणाली र पूर्वाधारमा पारेको असरबारे प्राज्ञिक तथा भौगर्भिक विश्लेषण गरेका छन्।
बाढीले बगाएर ल्याएका अजंगका ढुंगाहरू र रुखका मुढाहरूको अध्ययनबाट नदीको विध्वंसकारी शक्ति र विपद्को समय-अन्तराल कसरी मापन गर्न सकिन्छ भन्ने उनको वैज्ञानिक दृष्टिकोणले भावी जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण दिशाबोध गराउँछ।

विपद् विशेषज्ञ प्रा.डा. खनालको विचार जस्ताको तस्तै :
गत १० भदौको हिमचट्टानी पहिरोका कारणबाट हिमनदी भत्कँदा लाङटाङ लिरुङ हिमशृङ्खलाको उत्तरी ढालबाट पानी, ढुङ्गा, माटो मिसिएर ल्हेन्दे/केरूङ/भोटेकोशी/त्रिशुली नदीमा आएको बाढीले धेरै मानिस, घर–पुल जस्ता संरचनाहरू बगायो ।
यसअघि आएका बाढीहरूले बगाएर खोलामा थुपारेका अजंगका ढुंगाहरू के भए ?
गत वर्ष रसुवाको बाढीको अध्ययनको क्रममा अजंगका ढुंगाहरूका तस्वीर लिइएको थियो । त्यसमध्ये सिमले, मैलुङ दोभान, त्रिशुली २१६ को बाँध, स्याफ्रुवेसी, रुङ्गा दोभान र रसुवागढी विद्युत परियोजनाको नजिकबाट खिचिएका हुन ।
नेपाल र चीन/तिब्बतबीच सन्धि हुँदा बसेको भनिएको बेत्रावतीको अजंगको ढुंगा २२ किलोमिटर टाढा महादेवफाँटमा पुर्याएको स्थानीयले बताएका छन् ।
माथि देखाइएका अन्य ढुंगाहरूको बारेमा भने सूचना प्राप्त भएको छैन । यस्ता ढुंगा स्थानान्तरणको अध्ययनले बाढीको शक्ति र कार्यको आकलन गर्न सकिन्छ । तस्वीरमा देखिएको रुख २०२५ को बाढीले बगाएर ल्याएर माथिल्लो त्रिशूली ३ ‘ए’ को बाँधमा अड्किएर बसेको छ । यसरी बाढीले बगाई ल्याएका रुखको चक्रहरू गणना गर्दा रुखको उमेरको आधारमा पनि अप्रत्यक्ष रूपमा नदीको शक्ति, कार्य र त्यसकिसिमको बाढी आउने समयको अन्तराल बारेमा जानकारी लिन सकिन्छ ।
बाढीको शक्ति र कार्यको आकलन प्रत्यक्ष र अप्रत्यक्ष गरी विश्लेषण गरिनु पर्दछ । बाढीको कारणले खोलाको पिँध, किनार र बहावको बाटोमा आएका परिवर्तनहरूले पानीको प्रयोग–जलविद्युत, सिचाईं, घरबस्ती क्षेत्रमा प्रभाव पर्न गई जीविको पार्जनमा असर गर्ने हुँदा विस्तृत अध्ययन हुन जरुरी छ । यस्तो अध्ययनको नतिजा र निचोडले भविष्यमा बाढी विपद् जोखिम काम गर्ने उपायहरूको पहिचान गर्न मद्दत गर्दछ ।
प्रतिक्रिया 4