+
+
Shares
अन्तर्वार्ता :

‘विशेष महाधिवेशन फोर्स ल्यान्डिङ थियो, अब कांग्रेसले सेफ ल्यान्डिङ गर्छ’

'महाधिवेशनमा प्यानल बन्दैन, दस्तावेजमा खुलस्त बोल्न पाइन्छ'

यो अधिवेशनमा सहभागी हुँदै गर्दा विगतमा भन्दा धेरै फरक चित्रहरू छन् । कोही कांग्रेस सदस्य भएवापत गाउँमा द्वन्द्वबाट प्रभावित भएर बसे । कसैले आफ्नो आँखा अघिल्लोतिर बाबा गिँडिएको देखे । कोही परिवारमा जवान छोरा या छोरीको मृत्यु भयो । त्यस्ता द्वन्द्व प्रभावितलाई पनि अहिलेको विधानले चिनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १५:४९

गत पुसमा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले कांग्रेसको १५ औं महाधिवेशन गर्दैछ । यो महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रुपान्तरण गर्ने चर्चा भइरहेको छ । काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनलाई विगतका कांग्रेस महाधिवेशन भन्दा फरक बनाउने नेताहरूले दाबी गर्दै आएका छन् । करिब ७ हजार भन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

यसै सन्दर्भमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासँग अनलाइनखबरका दुर्गा खनाल र लिलु डुम्रेले महाधिवेशनस्थलमा खुलामञ्चमा गरेको कुराकानी :

नेपाली कांग्रेसले १५ औं महाधिवेशनको स्थान खुलामञ्च तय गरेको छ । खुलामञ्चलाई सम्झेर कांग्रेसको इतिहास तिर फर्किँदा के देख्नुहुन्छ ?

खुलामञ्चबाट विगतको स्मृतिमा जाँदै गर्दा म बीपी कोइरालाले त्यो कालखण्डमा बोल्दै गरेको सम्झन्छु । हामी बालककालमा थियौं । स्कुले जीवनमा थियौं । र, सम्भवतः बीपी कोइरालाले खुलामञ्चमा २०३६ साल जेठमा सम्बोधन गर्नुभएको थियो ।

क्यान्सरले घाँटीको अप्रेसन गर्दा उहाँको स्वर पनि मधुरो थियो । त्यो मधुरो स्वरमा खुलामञ्चबाट बोलेका शक्तिशाली सन्देशहरूको म सम्झिन्छु ।

पछिल्लो कालखण्डमा खुलामञ्चमा आफैंले नै बोलेको २०५१–५२ सालतिर हो । नेकपा एमालेको सरकार भएको बेलामा सरकारको व्यवहारका विरुद्ध कार्यक्रम गरेका थियौं । हाम्रो पार्टी १२ औं महाधिवेशन उद्घाटन यहीँ भएको छ ।

अहिले खुलामञ्चबाट सिंगो देशलाई नवीन जागृत गराउन यहीँ आएका छौं । कांग्रेसका लागि होइन, सिंगो देशमा नवीन आशा जागृत हुनुपर्छ । त्यो आशा र विश्वासको जगमा देश अगाडि जानुपर्छ ।

तपाईंले बीपीको प्रसङ्ग ल्याउनु भयो । क्यान्सर लागेको बेलामा पनि उहाँको सशक्त आवाज यहाँबाट बुलन्द गर्नुभएको थियो भनेर भन्नुभयो । आजको दिनमा कांग्रेसलाई पनि कता कता क्यान्सर लागेको हो कि जस्तो बेलामा १५ औं महाधिवेशन गर्दै हुनुहुन्छ । होइन ?

मानिसको जीवनमा सानोतिनो रोगले कोही न कोही जीवनको कुनै न कुनै कालखण्डमा हुन्छ । राजनीतिक दलमा पनि त्यस्तै हुन्छ । राजनीतिक दलमा त भिन्न–भिन्न उमेर समूह, भूगोल, भिन्न–भिन्न धर्म सम्प्रदाय, जाति र स्वभावका प्रवृत्तिका मानिस हुन्छन् । त्यसले गर्दा स्वभाविक रुपमा फरक-फरक विचारहरू हुन्छन् ।

त्यसैले एउटा लोकतान्त्रिक दलका रुपमा नेपाली कांग्रेस पार्टी भित्र पनि विगतमा केही बेला समस्या आयो होला । अहिले पनि केही समस्या भयो होला । यो क्रमशः निदान होला । निदान हुनुको अर्थ भोलि फेरि समस्या नहुने भन्ने पनि हुँदैन ।
जसरी एउटा मान्छे बिरामी भए पछाडि औषधि उपचार गरेर ठिक हुन्छ । त्यसको अर्थ भविष्यमा बिरामी नहुने भन्ने ग्यारेन्टी हुँदैन । राजनीतिक दलमा पनि त्यस्तो भइरहन्छ । त्यसैले यसलाई अनौठो रुपमा मान्नु हुँदैन । तत्कालको सन्दर्भ विषयवस्तु बमोजिम पार्टी आफ्नो विचार, निर्णय, दृष्टिकोणमा स्पष्ट ढंगले उभिनु पर्छ । नेतृत्वकासाथ अगाडी चाही जानु पर्छ ।

कांग्रेस विभिन्न कालखण्डमा रुपान्तरण हुँदै पनि आएको छ । कतिपय अवस्थामा आफैं अलमलिएको जस्तो पनि छ । अहिले १५ औं महाधिवेशन गर्दै हुनुहुन्छ । यसले कांग्रेसमा कस्तो रुपान्तरण गर्छ ?

विशेष महाधिवेशनबाट विगतको चल्ने ढंग र शैलीलाई बदलेर अगाडि बढेको छ । जेन्जी मुभमेन्ट पछाडि नेपाली समाजको सर्वत्र क्षेत्रमा रुपान्तरण युवाहरूको अपेक्षा थियो । ती अपेक्षामा युवाहरू मात्रै होइन, पाका र बौद्धिक क्षेत्र पनि सम्मिलित हुनुहुन्थ्यो ।

हामी परिवर्तनको सुरुवात आफूबाट हुनपर्छ भन्ने गर्दछौं । तर, परिवर्तन अरुले गरिदिउन् भनेर अपेक्षा गर्छौं । विधानको प्रक्रियाभित्रबाट विशेष महाधिवेशन भएर रुपान्तरणको सुरुवात भयो ।

त्यसलाई संस्थागत गर्ने काम १५ महाधिवेशनले गर्छ । स्वभाविक छ कि, नर्मल डेलिभरी हुँदै गर्दा खेरि एक खालको अवस्था हुन्छ । अप्रेसन गर्नु परेपछि अलिकति घाउ चोटको अनुभूति हुन्छ ।

तर समय क्रममा सही ढंगले सिजरिङ भयो भने त्यसले सार्थक परिणाममा लिएर जान्छ । विशेष महाधिवेशनबाट एक खालको सिजरिङको अवस्था भयो । एक खालको फोर्स ल्यान्डिङको अवस्था भयो । १५ औं महाधिवेशनबाट एउटा सेफ ल्यान्डिङमा कांग्रेसलाई पुर्‍याउँछ ।

वैचारिक र संगठनात्मक दुई हिसाबले महाधिवेशन महत्त्वपूर्ण मानिन्छ । यो महाधिवेशनबाट वैचारिक र संगठनात्मक के रुपान्तरण र कस्ता मानिस चयन भएर आउँछन् ?

कांग्रेस विगतमा बोकेर आएको विचार, सिद्धान्त जे छ त्यसको जगमा नेपालको आजको राज्यप्रणाली उभिएको छ । त्यसमा कहिँ हामी चुक्यौं । जहाँ चुक्यौ होला त्यसमा गहिरो आत्मालोचना गर्ने हो । हामीले विगतमा देशका लागि गरेका राम्रा कुरालाई नागरिक समक्ष स्पष्ट ढंगले बुझाउने हो । कमजोरीमा आत्मालोचनाबाट गर्ने हो ।

विगतमा बोकेको विचार, सिद्धान्त अहिलेको सन्दर्भमा कुन ढंगले परिमार्जित गर्नुपर्छ भन्ने कुरालाई पनि महाधिवेशनले केही छलफलहरु गर्छ ।

वैचारिक प्रतिवेदनहरू कसरी आउँछन् ?

सभापति गगन कुमार थापाले पेश गर्ने डकुमेन्टमा केही वैचारिक केही सैद्धान्तिक कुराहरू हुनेछन् । अबको दशकमा देशलाई कसरी अगाडि लिएर जाने र कांग्रेस कसरी सोच्छ भन्ने कुरा पनि त्यसमा हुन्छ ।

मैले पेश गरिरहेको डकुमेन्टमा लोकतान्त्रिक संस्कृतिमा के कस्ता क्षय भए र युगानुकूल रुपान्तरणको अभिभारा के हो भन्ने आउँछ । हामी कहाँ–कहाँ चुक्यौ होला ? दल, सरकार, संस्थाहरू चुके होला । विगतको विश्लेषण गरेर अब कसरी त्यसलाई रुपान्तरण गरेर जाने मेरो प्रतिवेदनमा हुनेछ ।

महामन्त्रीको प्रतिवेदन पेश हुनेछ । उपसभापति पुष्पा भुसालको इलेक्सन ब्युरो सम्बन्धित डकुमेन्टहरू आउँछन् ।

यो अधिवेशनमा सहभागी हुँदै गर्दा विगतमा भन्दा धेरै फरक चित्रहरू छन् । कोही कांग्रेस सदस्य भएवापत गाउँमा द्वन्द्वबाट प्रभावित भएर बसे । कसैले आफ्नो आँखा अघिल्लोतिर बाबा गिँडिएको देखे । कोही परिवारमा जवान छोरा या छोरीको मृत्यु भयो । त्यस्ता द्वन्द्व प्रभावितलाई पनि अहिलेको विधानले चिनेको छ ।

हिजो विधानले उनीहरूलाई चिनेन । उहाँहरू प्रतिनिधि बन्ने गरी विधान बनेको छ । सहिद परिवार, पेशागत, वौद्धिक, श्रमिक, प्रजातन्त्र सेनानी, ३५ वर्ष मुनि अलग क्लस्टर छुट्याएको छ ।

कांग्रेसको महाधिवेशनमा धेरै पाकाहरु पनि आउँदै हुनुहुन्छ ।

तर, ३५ वर्ष मुनिको अलगै क्लष्टर बनाएर जेनजी उमेर समूहका हरेक निर्वाचन क्षेत्रबाट प्रतिनिधि आएका छन् । त्यो उमेर समूहका प्रतिनिधि झन्डै ६ सय छ । विधानले गरेको व्यवस्था बमोजिम ३५ वर्ष मुनिका ३५ हजार भन्दा बढी साथीहरु वडाका तह देखि केन्द्रसम्मको समितिमा आइपुग्नुभएको छ ।

कांग्रेसले अहिले नयाँ युवालाई समेट्नुपर्छ भन्ने विन्दुमा कसरी आइपुग्यो ?

राजनीति उमेरले होइनन एजेन्डाले गर्नुपर्छ । मैले विगतदेखि भन्दै आएको छु । त्यो भन्नुको अर्थ कोही पाको बन्नुभयो, त्यसकारण उहाँ असान्दर्भिक भन्ने हुँदैन । तर उहाँले कतिपटकसम्म नेतृत्व गरिसक्नुभयो ? उहाँको क्रिएटिभिटी रह्यो कि रहेन ? यस्ता कुराले उहाँ क्रियाशील रहने वा नरहने भन्ने हुन्छ ।

दोस्रो कुरा, कोही मान्छे युवा उमेरको छ । तर उसले उसले नेतृत्व गर्ने बेला भएको छैन भन्न पनि मिल्दैन । किनभने, उसको एजेन्डा पर्फेक्ट छ भने युवाले नेतृत्व गर्नसक्छ । नेतृत्वमा आउनसक्छ । पाकाहरूको मात्रै भनिएको र चिनिएको पार्टीलाई पाका र युवाहरूको फ्युजन गरिराखेर एउटा मोडल राजनीतिक दलको रुपमा नवीन कांग्रेस नागरिक समक्ष प्रस्तुत गरिरहेका छौं ।

महाधिवेशन नयाँ तरिकाले गर्ने भन्नुभएको छ । डिजिटल्ली पनि नयाँ हुने भन्नुभएको छ । व्यवस्थापनमा के-के गर्नुभएको छ । जसले गर्दा महाधिवेशनमा फरकपन देखिनेछ ?

पार्टीहरूको अधिवेशन गर्नलाई एक खालको अप्ठ्यारो, प्रतिस्पर्धा, द्वन्द्व, जटिलताहरू हुन्छन् । त्यसमा पनि कांग्रेस ट्रान्जिसनल पिरियडमा छ । पुरानो नेतृत्वबाट नयाँ नेतृत्वमा जाँदै गर्दा समस्याहरू आउँछन् ।

त्यसलाई बडो संयमतापूर्वक सम्हालेर ७ हजार भन्दा बढी प्रतिनिधि एकठाउँ राखेर महाधिवेशन गर्छौं ।

खुलामञ्चमा पूर्वतिर फर्केने गरी स्टेज बनेको छ । ताकि अस्पतालतर्फ रहेका बिरामीहरूलाई ध्वनीले कुनै असर नपरोस् भन्ने हो । उद्घाटन समारोह हुने स्थलमा हल ए, हल बी र हल सी बनाएका छौं । एउटा हलमा २ हजार ५ सय प्लस प्रतिनिधि हुन्छन् । डकुमेन्टहरू पेश एउटा हलबाट भएपनि सबैतिर प्रसारण हुन्छ । दिनमा डेढ सय जति साथीहरूले बोल्न सक्ने अवस्था कसरी बनाउने ? भनेर तीन हलको व्यवस्था गरेका हौं ।

दलका महाधिवेशनहरू सभापतिले वा कुनै नेताले डकुमेन्ट पेश गर्ने त्यसलाई औपचारिकता दिने र ताली पड्काउने हुन थाले । यसपटक हलमा प्रतिवेदन माथि कांग्रेसले कति लोकतान्त्रिक तरिकाले बहस गर्छ ?

प्रतिवेदनहरू वितरण गर्छौं । हामी डिजिटल्ली उपलब्ध गराउँछौं । बोलिरहेको कुराको अडियो रेकर्डिङ हुन्छ, भिडियो रेकर्डिङ हुन्छ । त्यसपछि टिपोट गर्ने टिम पनि हुन्छ । आएका सुझावलाई पनि त्यसमा समाहित गरिसकेपछि त्यो डकुमेन्ट फाइनल हुन्छ ।

सामान्यतया राजनीतिक दलहरूको अधिवेशनहरूमा कमजोरी हुन्छ । हामी सामान्यतया जहिले पनि के भएको देख्छौं भने डकुमेन्टतिरभन्दा पनि को लिडर बन्ने, कसलाई समर्थन गर्ने, कसको उम्मेदवार बन्ने भन्ने कुरामा ध्यान गइरहेको अवस्था हुन्छन् । त्योबाट एकदमै अछुतो रहला, एकदमै फरक भइहाल्ला म भन्दिनँ । हाम्रो सम्पूर्ण प्रयास राम्रो बनाउने भन्ने प्रयासको लागि हो ।

विगतका महाधिवेशनमा पार्टीहरूले प्रचारका लागि तोरण, झण्डाहरू टाँग्ने, ठूल्ठूला जनसभा गर्ने प्रचलन थियो । यसपाली कांग्रेसको महाधिवेशन त्यो परिपाटी हुँदैन ?

खुलामञ्चभित्र झण्डा, गेट, श्रृंगार जे-जे गर्ने यही गर्ने हो । पहिला जस्तो महाराजगञ्ज, लगनखेल, जोरपाटी, कोटेश्वर, नागढुंगा, भक्तपुरमा गेट बन्दैन । एउटा ठूलो विपत पछाडिमा महाधिवेशन हुँदैछ । हाम्रा कैयौँ आफन्तहरूले जीवन गुमाएका छन् ।

५ हजार भन्दा बढी बेपत्ता अवस्थामा छन् । यस्तो पुरै सहरलाई रंगीचंगी बनाइरहन जरुरी छैन । त्यसैले डिजिटल्ली प्रचारलाई प्राथमिकता दिएका छौं ।

उम्मेदवारलाई प्रचार गर्द धेरै रंगीचंगी नगर्न भनेका छौं । महाधिवेशन स्थललाई सिंगार्ने कार्य स्वभाविक हुन्छ । तर सहरभरि झण्डा, गेट, होडिङ बोर्डहरू राख्ने कार्य यसपटक हामी गर्दैनौं ।

महाधिवेशन पछि कांग्रेस कसरी अघि बढ्छ ? अहिलेको महाधिवेशन कति प्रतिस्पर्धात्मक हुन्छ वा उठ्न चाहनेले कति लोकतान्त्रिक तरिकाले भाग लिन पाउँछन् ?

कसैलाई कुनै पदमा उम्मेदवारी दिन हामी निरुत्साहित गर्दैनौं । यसपाली फरक यति मात्रै हुन्छ कि अघिल्लो पटकहरू जस्तो ‘यो बडे ग्रुप अरे, त्यो बडे ग्रुप अरे’ भन्ने अवस्था हुँदैन । ग्रुपको टिकट प्राप्त गरेर उम्मेदवार बन्ने भन्ने खालको कुनै नियन्त्रण अहिले छैन ।

प्यानल केही पनि हुँदैन । कसले प्यानल बनाउने ? कसलाई नदिनु मत भन्ने ? कसैलाई दिनैपर्छ भन्ने ? हाम्रा लागि सबै साथी आदरणीय हुनुहुन्छ । सबै बराबर हुनुहुन्छ । सबै लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर आउनु भएको छ । सबै हामी जस्तै साथी त आउनुभएको छ । हामी सबै बराबर छौं । साथीहरुलाई स्वतन्त्र र स्वविवेकीय ढंगले मतदान गरेर जानलाई सजिलो हुनेछ ।

मतदान विद्युतीय प्रणालीबाट गर्दै हुनुहुन्छ ?

इलेक्ट्रिक भोटिङ मेसिन मार्फत गर्नेबारे पनि छलफल भइरहेको छ । विद्युतीय प्रणालीबाट गर्दा दुई दिन लाग्नसक्छ भन्ने कुरा पनि आएको छ । विद्युतीय मेसिनबाट भोटिङ एकैदिनमा सम्भव हुने अवस्था बन्यो भने विद्युतीय प्रणालीबाट हुन्छ । ७ हजार भोटलाई भोट गराउने नसक्ने भयो भने मेनुअल्ली गर्नुभन्दा हाम्रो अर्को विकल्प हुँदैन ।

विद्युतीय मेसिनबाट मतदान नहुँदा मतगणना ढिलो होला नि ?

गणना महिना दिन लाग्दैन । चाडबाड मनाउने कुरालाई कांग्रेसको मतगणनाले छेक्दैन ।

तस्वीर/भिडियो : कमल प्रसाईं/अनलाइनखबर

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?