२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफूले ३५ वर्ष सहयोग गरेका नेताबाट अहिले सहयोगको आशा राख्दा उनीहरू अहिले साथमा नभएको भन्दै दुखेसो गरेका छन् ।
हिमालय टीभीको यक्षप्रश्नमा पत्रकार निमेष बञ्जाडेसँग अन्तर्वार्ता दिँदै राठौरले यस्तो बताएका हुन् ।
‘२०५७ म नेविसंघको अध्यक्ष लडेँ । त्यो बेला विश्वप्रकाश शर्माजी र मेरो चुनाव भएको हो,’ उनले भने । त्यतिबेला धाँधली गरेर विश्वप्रकाशलाई चुनाव जिताइएको उनले दाबी गरे ।
‘मलाई त्यतिबेला पनि मलाई नेविसंघको अध्यक्ष हुन दिनुहुन्न गिरिजाबाबुहरूले भन्ने थाहा थियो । तैपनि तीन कारणले चुनाव लडेको थिएँ,’ उनले सम्झिए । इतिहास बनाउनुपर्छ भनेर चुनाव लडेको उनले बताए ।
पार्टी फुटेपछि आफू प्रजातान्त्रिक कांग्रेसको नेविसंघको अध्यक्ष बनेको उनले सुनाए ।
‘म हिजो नेविसंघको अध्यक्ष लड्दा पनि संकटमै थिएँ, अहिले पार्टी सभापति लड्दा पनि संकटमै छु,’ नेता राठौरले भने ।
आफूले ३५ वर्ष साथ दिएका सिनियर नेता अहिले आफूसँग कोही पनि साथमा नरहेको उनले टिप्पणी गरे । ‘जोसँग ३५ वर्ष लागेँ, उहाँहरूलाई मलाई अगाडि सारेर गगनसँग प्रतिस्पर्धा गराउनुपर्छ भन्ने लागेको थियो । ३५ वर्ष मैले उहाँलाई साथ दिएँ नि त । तर उहाँहरू अझैँ पनि आफ्नै चिन्तामा भएजस्तो भयो मलाई,’
गगन थापासँग फाइट गर्ने ठाउँ महाधिवेशन नै रहेको पनि उनले बताए ।
‘विशेष अधिवेशन मेरा कारणले भएको होइन । त्यहाँ गएको भए यो अवस्था आउँदैनथ्यो,’ उनले भने ।
शेरबहादुर देउवा र पूर्णबहादुर खड्काकै कारण गगन थापा सफल भएको पनि नेता राठौरले टिप्पणी गरे । ‘उहाँहरूले विशेष महाधिवेशन रोक्न पनि सक्नुभएन, हामीलाई जान पनि दिनुभएन,’ उनले भने ।
विशेष महाधिवेशनमा गएको भए पुरानो संस्थापन पक्षको हालत यति खराब नहुने पनि उनले दाबी गरे ।
प्रतिक्रिया 4