+
+
Shares
रिपोर्टः :

शक्तिशाली गगन, गुटविहीन कांग्रेस

जारी महाधिवेशनबाट सभापतिमा लगभग प्रतिस्पर्धाविहीन बन्दै गुटबन्दी अन्त्य भएको घोषणा गर्ने गगन स्वयंले भने नेतृत्वमाथिको दावी तेस्रो खेमा सिर्जना गरेर थालेका थिए ।

सइन्द्र राई सइन्द्र राई
२०८३ असोज २२ गते १८:४९

२२ असोज, काठमाडौं । कांग्रेस सभापति गगन थापाले जारी १५ औं महाधिवेशनको बन्दसत्र समापन गर्दै पार्टीभित्र अब कुनै पनि गुटबन्दी नरहेको घोषणा गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदन अनुमोदनको अनुमति लिन र बन्दसत्र टुंग्याउन बुधबार साँझ मञ्चमा उभिएका थापाले कांग्रेसभित्र गुटबन्दी सकिएको घोषणा गरेका हुन् ।

‘नेपाली कांग्रेसभित्र अब औपचारिक रुपमा लामो समयदेखि भएको ७४, ३६, देउवा समूह, कोइराला समूह, पौडेल समूह, विशेष, न विशेष आजदेखि सबै सकियो, फिनिस्ड,’ सभापति थापाले भने, ‘यो महाधिवेशनको सबैभन्दा ठूलो उपलब्धि यो, हो ।’

सम्पूर्ण कांग्रेस समेटेर लैजाने दायित्व आफ्नो काँधमा आएको बताउँदै थापाले मतदान गर्दा गुटबन्दी नगर्न आग्रह गरे । थापाले यस्तो अपिल गरिरहँदा सभापति पदका आकांक्षी किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिइसकेका थिए ।

पूर्वसहमहामन्त्री राठौर देउवा समूह छाडेर आउने नेता मध्ये एक पदाधिकारी भएकाले उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको थियो । तर राठौरले उम्मेदवारी फिर्ता लिएपछि गगनसँग सभापतिमा प्रतिस्पर्धा गर्ने नेता श्यामकृष्ण खड्गी मात्रै रहे । अर्थात् मतदान अघि नै गगन सभापति लगभग भइसके ।

राठौर सहित नेताहरू डा.मीनेन्द्र रिजाल, मीन विश्वकर्मा, देवराज चालिसे, योगेश गौचन, मीन भामहरूलाई गगनले मञ्चबाटै उम्मेदवारी फिर्ता लिन आग्रह गरे ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई फरक मोर्चाको नेतृत्वमा रहेकाले पदाधिकारीको प्रतिस्पर्धामा नआउन आग्रह गरे ।

गगनले आग्रह गरेकै भरमा आकांक्षीहरूले उम्मेदवारी नदिनु अथवा फिर्ता लिनुले पनि कांग्रेसको यो महाधिवेशन कस्तो सन्दर्भमा भइरहेको छ भन्ने अनुमान लगाउन सकिन्छ ।

यद्यपि विधान संशोधन गरेर पदाधिकारी संख्या २४ पुर्‍याउँदा पनि आकांक्षीहरू विगतका तुलनामा धेरै छन् । विगतका महाधिवेशनहरूमा गुटगत प्रतिस्पर्धा हुने भएकाले उम्मेदवारको संख्या कम हुने तर्क स्वयं सभापति थापाको छ । उनका अनुसार गुटको टिकट नपाउने नेताले स्वतन्त्र उम्मेदवारी दिने हिम्मत गर्थेन ।

तर यसपटक गगनसँग प्रतिस्पर्धा गर्ने गुट नभएको घोषणा नेताहरूले हलबाटै गरे । ‘१५औं महाधिवेशनपछि पनि हुनेवाला सभापतिज्यू,’ बन्दसत्र हललाई सम्बोधनकै क्रममा महामन्त्री गुरुराज घिमिरेले भनेका थिए ।

अर्थात् विगत भन्दा भिन्न शक्ति–संघर्ष र परिस्थितिमा कांग्रेसको महाधिवेशन सकिँदैछ । गगन थापा शक्तिशाली सभापति बन्दैछन् ।

राजनीतिक विश्लेषक जेनैन्द्र जीवन, गुटबन्दी अन्त्य भएको आफ्नै घोषणा पुष्टि गर्ने दायित्व पनि स्वयं गगन थापाकै भएको बताउँछन् । ‘कांग्रेस गुटको रोगबाट लामो समयदेखि ग्रस्त छ । यसको पहिचान गरेरै गगन थापाले यसो भनेका हुन्,’ उनी भन्छन्, ‘मूल नेतृत्वले सबैलाई समेट्न सक्यो भने गुट बन्दैन । गुट बनाउन क्षमता र योग्यता भएका नेताहरूलाई व्यवस्थापन गर्न सक्नुभयो भने गगन थापालाई रेकर्ड बनाउने अवसर छ ।’

जन्मँदै गुट लिएर आएको कांग्रेसलाई एकताबद्ध राखेको उदाहरण बीपी कोइरालाको नेतृत्वलाई मान्छन्, उनी । ‘बीपी कोइराला टावरिङ पर्सनालिटी हुनुहुन्थ्यो । तर उहाँ भन्दा विद्धान सुवर्ण शमशेर र सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो । शक्तिशाली आधार भएको गणेशमान सिंह हुनुहुन्थ्यो । रामनारायण मिश्र, महेन्द्र नारायण निधि जस्ता व्यक्ति मधेशबाट हुनुहुन्थ्यो,’ विश्लेषक जैनेन्द्र जीवन भन्छन्, ‘गुट बनाउन सक्ने व्यक्तिहरू कति हो, कति । तर बीपीले सबैलाई मिलाएर राख्नुभयो ।’

विद्रोहको बाटो भएर कांग्रेसको नेतृत्वमा पुगेका गगन थापाले कांग्रेसलाई एकताबद्ध राख्न नेताहरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

थापाले पनि नेताहरूको व्यवस्थापनलाई १५औं महाधिवेशनपछि पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेका छन् । ‘मिलाउनुपर्छ भन्ने सन्दर्भमा जे गर्न सकिन्छ, जे गर्ने हो सभापतिको रुपमा मेरो जिम्मा हुन्छ, मैले गर्छु त्यो काम,’ थापाले भनेका छन् ।

विशेष महाधिवेशनपछि गगनले अपनाएको शैली भने नेताहरूलाई अप्ठ्यारोमा पारेर अथवा एक्लो बनाएर समेट्ने देखिन्छ । लामो विरासत बोकेका तत्कालीन सभापति शेरबहादुर देउवा, छुट्टै शक्ति अभ्यास गरिरहेका शेखर कोइराला, कृष्णप्रसाद सिटौला र शशांक कोइरालाहरूलाई समूहगत निष्कर्षमा नपुगेर नेताहरू फुटाउने र व्यक्तिगत प्रवेश गराउने नीति लिएका छन् ।

देउवालाई छोडेर यो महाधिवेशनमा भाग लिएका एक शीर्ष नेताका अनुसार, धेरै नेताले बाध्यतामा परेर गगनलाई साथ दिएका छन् ।

‘रुख र चार तारे झण्डा छोडेर कांग्रेसको राजनीति गर्न सकिन्नँ भन्ने बुझाइ धेरै नेतामा छ,’ उनी भन्छन्, ‘तर गगनले समूहगत एकता नगरिदिएपछि हामीसँग बाँकी विकल्प रहेन ।’

गगनले सम्झाएर अथवा परिबन्द सिर्जना गरेर विगतका कुनैपनि गुटलाई छुट्टै अस्तित्वमा रहन दिएका छैनन् ।

किशोरसिंह राठौरको उम्मेदवारी फिर्ताले अझ गगनको स्वीकारोक्ति फराकिलो बनाइदियो । ‘देउवा दाई छोडेका हामीहरुले छुट्टै समूह निर्माण गरेर महाधिवेशनमा भाग लिन सक्ने स्थिति पनि भएन । अन्तिमसम्म अदालतको आश गर्दा पनि यस्तो भयो,’ ती नेता भन्छन् ।

विद्रोही विगत, तेस्रो खेमा सिर्जना

जारी महाधिवेशनबाट सभापतिमा लगभग प्रतिस्पर्धाहीन बन्दै गुटबन्दी अन्त्य भएको घोषणा गर्ने गगन स्वयले भने नेतृत्वमाथिको दावी तेस्रो खेमा सिर्जना गरेर थालेका थिए । ०६२/०६३ सालको राजतन्त्रविरोधी आन्दोलनबाट उदाएका गगन १२औं महाधिवेशनमा ३४ वर्षको उमेरमै केन्द्रीय सदस्य बनेका थिए ।

त्यसबेला केन्द्रीय सदस्य जित्न थापाले कुनै बलियो गुट अथवा नेताको छहारी खोज्नु पर्ने स्थिति थिएन । कांग्रेसलाई नै गणतन्त्रको बाटोमा ल्याउने आन्दोलनको अग्रपंक्तिमा उभिएका थापाले सर्वाधिक लोकप्रिय मत पाउने स्थिति थियो ।

तर पदाधिकारी हुँदै सभापति बन्नलाई भने कांग्रेसभित्रको परम्परागत गुटहरूले गगनलाई विश्वास गर्थेन । सिनियर नेताहरूको जाम रहेको कांग्रेसमा कुनैपनि गुटले थापालाई पदाधिकारीको उम्मेदवार बनाएनन् ।

पार्टीभित्रको शक्ति संघर्ष बुझेका थापाले १३औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समाते । सिटौला नेतृत्वको प्यानलबाटै गगन महामन्त्री पदका उम्मेदवार भए ।

शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच निकटतम प्रतिस्पर्धा भएको उक्त महाधिवेशनमा सिटौला र गगन दुवैले तेस्रो मत पाए ।

देउवालाई साथ दिएर सिटौला त्यही महाधिवेशनबाट तत्कालीन संस्थापनमा समाहित गरे । तर गगनले शक्ति विस्तारलाई नयाँ ढंगले अगाडि बढाए । १४औं महाधिवेशनमा देउवा इतर समूहबाट रामचन्द्र पौडेलले सभापतिको उम्मेदवार बन्न पाएनन् । डा.शेखर कोइरालाको नेतृत्वमा प्यानल बन्यो, यही प्यानलमा गगन महामन्त्री पदको उम्मेदवार बने ।

शेखरले चुनाव हारे, तर गगनले सहजै महामन्त्री जिते । गगनकै शैलीमा विश्वप्रकाश शर्माले १४औं महाधिवेशनमा प्रकाशमान सिंहलाई अगाडि सारे ।

प्रकाशमानले नगण्य मत पाउदा विश्वले लोकप्रिय मत पाएर महामन्त्री जिते । अब महामन्त्रीमा गगन–विश्वको युवा जोडी तयार भयो ।

यो जोडीले कांग्रेसलाई विशेष महाधिवेशनको कोर्समा लग्यो । जबकि १४औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिमा देउवा पक्षधर ८० प्रतिशत बढी र पदाधिकारीमा एकछत्र थियो । बदलिएको राजनीतिक परिस्थितिमा गगन–विश्वले एकपछि अर्को नेतालाई फकाउदै आफ्नो टीममा ताने ।

र, विशेष महाधिवशेनबाट नेतृत्वमा पुगेको ९ महिनाभित्रै १५औं महाधिवेशन गरेर गगनले गुटरहित कांग्रेस बनेको घोषणा गरे ।

जेनजी आन्दोलनको अवसर

गगन–विश्वलाई नेतृत्वमा पुग्ने आधार जेनजी विद्रोहले सिर्जना गरिदियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको योजना बमोजिम देउवाले एकपछि अर्को गलत निर्णय लिइरहदा गगन–विश्वको विशेष महाधिवेशन आह्वानको मागलाई कांग्रेस पंक्तिले समर्थन गरिदियो ।

४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने पार्टी विधानको व्यवस्था भएपनि ५६ प्रतिशत बढी जुटाएको यो पक्षले दावी गर्‍यो । उनीहरूको दाबी बमोजिम निर्वाचन आयोग र सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता गगन सभापति रहेर बनेको कांग्रेसलाई दियो ।

जबकि विशेष महाधिवेशनको पक्षमा गगन–विश्वका अलवा दुई पदाधिकारी तत्कालीन दुई पदाधिकारी (सहमहामन्त्रीहरु फरमुल्ला मन्सुर र डिला संग्रौला) ले मात्र साथ दिएका थिए । तत्कालीन पदाधिकारीहरूको त्यसबेला साथ नपाएकै कारण केन्द्रीय सदस्यहरूबाट टिम बनाइएको थियो ।

गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवशेनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीहरूमा फरमुल्ला मन्सुर, डिला संग्रौला, बहादुर सिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदय शमशेर राणा, प्रकाश रसाइली र मुक्ता कुमारी यादव निर्विरोध भए ।

यी नेताहरू मध्ये लगभग सबैजना देउवा नजिक थिए । फरमुल्ला र डिला दुवैले देउवाकै प्यानलबाटै १४औं महाधिवेशनमा सहमहामन्त्री जितेका थिए । प्रदीप पौडेल देउवा प्यानलकै महामन्त्री उम्मेदवार थिए । १३औं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि देउवाले विश्वप्रकाशलाई प्रवक्ता नै बनाएका थिए । गुरुराज, मुक्ताकुमारी र प्रकाश स्नेही शेखर नजिकका नेता थिए ।

तर गगन–विश्वले अनेक पृष्ठभूमिका नेताहरू तानेर बनाएकै कांग्रेसको टीमले आधिकारिकता पाएपछि देउवा र कोइरालाको समूहमा पहिरो जान थाल्यो । अझ देउवा समूह पटकपटक अदालत धाइरहने, तर आदेश गगनकै पक्षमा आइरहने स्थितिले आजको संस्थापनलाई थप बल मिल्दै गयो । १५औं महाधिवेशनसम्म पुग्दा देउवा र कोइराला पक्ष लगभग निरीह भए ।

शक्तिशाली गगन, नजिकको चुनौती

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि नै देउवा कमजोर हुन पुगेको थियो । २१ फागुनको निर्वाचनमा देउवा, पूर्णबहादुर खड्का, रमेश लेखक लगायत सानो संख्याका नेताहरू मात्र उम्मेदवार बनेनन् । अर्थात गगनकै हस्ताक्षरमा सबै समूहका नेताहरू कांग्रेसका उम्मेदवार बने ।

यद्यपि अदालतको आशमा देउवा र कोइराला समूहको गतिविधि हुँदै आएको थियो । गत ४ वैशाखमा सर्वोच्चले पनि गगनलाई नै आधिकारिकता दिएपछि कांग्रेसभित्रको शक्ति–संघर्षमा ठूलो परिवर्तन आयो ।

२७ वैशाखमा देउवा र कोइराला नजिक रहेका १९ जना नेतालाई गगनले केन्द्रीय सदस्य मनोनीत गरे । देउवा नजिक रहेका महेन्द्र यादव, उमेश श्रेष्ठ, रमेश रिजाल, अजयकुमार चौरसिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीब ढुंगाना, नागिना यादव, जीवन राना र सीता थपलिया केन्द्रीय सदस्य भए ।

कोइरालालाई साथ दिँदै आएका जीवन परियार, सुजता कोइराला, दिलेन्द्रप्रसाद बडु, चन्द्र भण्डारी, राजीव कोइराला, गोविन्द पोखरेल र दिनेश कोइराला पनि त्यसैबेला केन्द्रीय सदस्य भए । उमेश श्रेष्ठलाई गगनले कोषाध्यक्षकै जिम्मेवारी दिए । उनी देउवा नेतृत्वको कांग्रेसमा पनि कोषाध्यक्ष नै थिए ।

यो मनोनीत पछि पनि देउवा र कोइरालालाई साथ दिने ठूलै समूह थिए । सुरूमा पूर्णबहादुर खड्का र पछि डा.शशांक कोइरालालाई संयोजक मानेर देशभर गतिविधि भएका थिए ।

तर १५ औं महाधिवेशनको सम्मुखमा आफ्ना मागहरु पूरा भएको भन्दै ठूलो संख्यामा नेताहरू गगनलाई सभापति मानेर महाधिवेशनमा भाग लिए ।

पूर्णबहादुरको नेतृत्वमा रहेका ३१ जना केन्द्रीय सदस्यले २७ भदौमा महाधिवेशनमा भाग लिने निर्णय सार्वजनिक गरे ।

१११ जना निवर्तमान केन्द्रीय सदस्यलाई समेटेर लैजाने सहितका ८ बुँदे माग सम्बोधन गर्न गगन तयार भएकाले महाधिवेशनमा भाग लिन तयार भएको उनीहरुले बताएका थिए ।

महाधिवेशनसम्म आइपुग्दा त १४औं महाधिवेशनबाट निर्वाचित १३ मध्ये ४ जना पदाधिकारी (देउवा, पूर्णबहादुर खड्का, बद्रीप्रसाद पाण्डे र उमाकान्त चौधरी) मात्रै सहभागी भएनन् । १४औं महाधिवेशनबाट देउवा उपसभापति, खड्का उपसभापति, पाण्डे र चौधरी सहमहामन्त्री निर्वाचित भएका थिए ।

यसरी विद्रोहलाई शक्तिशाली संस्थापनमा बदलेका गगनका चुनौतीबारे भने उनी स्वयं धेरै जानकार देखिन्छन् । उनका अनुसार मञ्चमा बस्ने अधिकांश गगनका दाइदिदी छन्, पाँच पुस्ताले महाधिवेशनमा भाग लिएका छन् । अर्थात उमेरका हिसाबले आफू भन्दा सिनियर नेताहरूको व्यवस्थापन टड्कारो चुनौती हो ।

विश्लेषक जैनेन्द्र जीवन भने निर्णय प्रक्रियाका आधारमा पार्टीलाई एकताबद्ध राख्न सकिने बताउँछन् । ‘सबैको कुरा सुन्ने, सबैलाई समेटेर हिड्ने, सही समयमा सही निर्णय गर्ने, कसैसँग लागेर पक्षपात नगर्ने, अवसर नपाउनेले पनि मलाई भन्दा राम्रोलाई दिएको छ भन्ने लाग्ने हुनुपर्छ,’ उनको विश्लेषण छ, ‘गगन थापाले यस्तो क्षमता देखाउनु हुन्छ वा हुन्न त्यो हेर्न बाँकी छ ।’

समकालीन राजनीतिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमा पार्टीलाई एकताबद्ध राख्ने क्षमता देखिएको उदाहरण दिन्छन्, उनी । ‘बिजेपीको नेतृत्व गरेका राजनाथ सिंह, नितिन गडकरी, नायडू जस्ता कयौंलाई आफू मातहतमा राखेर नेतृत्व गरिरहेका छन् नरेन्द्र मोदी,’ उनी भन्छन्, ‘त्यस्तो क्षमता नेतृत्वमा भयो भने गुट बन्दैन ।’

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?