+
+
Shares

दशैंका लागि गुल्मीमा भेडा–च्याङ्ग्रा भित्रिए, प्रतिकिलो १ हजार २ सयसम्म

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ७:०६

२३ असोज, गुल्मी । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि भेडा खरिद गर्ने चलन रहेकाले हरेक वर्ष यस समयमा भेडा–च्याङग्राको माग बढ्ने गरेको छ ।

बागलुङको ढोरपाटनबाट व्यवसायीले भेडा तथा च्याङग्रा गुल्मीको सदरमुकाम तम्घासमा ल्याएर बिक्री सुरु गरेका हुन् । दशैंलाई लक्षित गरी यस वर्ष करिब एक सय वटा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको व्यवसायी चुडामणि भट्टराईले बताए ।

भट्टराईका अनुसार असोज ४ गतेदेखि भेडा–च्याङग्रा बिक्रीका लागि ढोरपाटनबाट यात्रा सुरु गरिएको हो । उनी विगत १५ वर्षदेखि भेडा तथा च्याङग्रा खरिद–बिक्रीको व्यवसाय गर्दै आएका छन् ।

आफ्नै घरमा पालेका भेडा–च्याङग्रा बिक्री गर्नुका साथै अन्य किसान तथा व्यवसायीबाट खरिद गरेर पनि बजारमा ल्याउने गरेको उनले बताए । दशैंलाई लक्षित गरेर हरेक वर्ष भेडा–च्याङग्रा बिक्रीका अरूबाट खरिद गरेर पनि बिक्री गर्ने गरेका छन् ।

 यस वर्ष ल्याइएका भेडा तथा च्याङग्रा साना–ठूला हेरेर बिक्री भइरहेको छ । हाल च्याङग्राको जिउँदो तौल प्रतिकिलो १ हजार २ सय रुपैयाँ र भेडाको प्रतिकिलो १ हजार रुपैयाँका दरले बिक्री भइरहेको व्यवसायीले बताएका छन् ।

तौलका आधारमा मूल्य निर्धारण हुने भएकाले एउटा भेडा वा च्याङग्राको मूल्य त्यसको आकार तथा तौलअनुसार फरक पर्ने गरेको छ । ढोरपाटनबाट गुल्मीसम्म भेडा–च्याङग्रा ल्याउँदा भने व्यवसायीले विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको भट्टराईले बताए ।

विशेषगरी लामो दूरीसम्म पैदल वा अन्य माध्यमबाट पशु ल्याउँदा बाटोमा बास बस्ने तथा पशु राख्ने उपयुक्त स्थानको समस्या हुने गरेको उनको भनाइ छ । यात्रा लामो हुने भएकाले पशुलाई सुरक्षित रूपमा राख्न र आवश्यक व्यवस्थापन गर्न कठिनाइ हुने गरेको व्यवसायी बताउँछन् ।

गत वर्षहरूमा दशैंका समयमा गुल्मीमा भेडा–च्याङग्रा बिक्री गर्न अन्य स्थानबाट समेत व्यवसायी आउने गरेका थिए । गुल्मीमा दशैंका बेला भेडा–च्याङग्रा खरिद गर्ने उपभोक्ताको संख्या बढ्ने भएकाले बाहिरी जिल्लाबाट समेत व्यवसायी आउने गरेका हुन् ।

तर यस वर्ष भने बागलुङको ढोरपाटनबाट आएका व्यवसायीले मात्रै भेडा–च्याङग्रा बिक्रीका लागि ल्याएका छन् । गुल्मीमा केही मात्रामा भेडापालन हुने गरे पनि च्याङग्रा पालन भने खासै हुने गरेको छैन ।

स्थानीयस्तरमा उत्पादन सीमित भएकाले दशैंको समयमा जिल्लामा बाहिरी क्षेत्रबाट भेडा–च्याङग्रा ल्याउनुपर्ने अवस्था रहेको छ । विशेषगरी उच्च पहाडी क्षेत्रमा पालिएका भेडा तथा च्याङग्रा दशैंको समयमा बजारमा आउने गरेका छन् ।

दशैंमा भाकल पूरा गर्न तथा धार्मिक परम्पराअनुसार पूजाआजाका लागि भेडा खरिद गर्ने चलन भएकाले यस समयमा माग उच्च हुने गरेको व्यवसायीको अनुभव छ । लामो समयदेखि व्यवसाय गर्दै आएका भट्टराईले दशैंको समयमा भेडा–च्याङग्रा बिक्रीको माग अन्य समयको तुलनामा धेरै हुने बताए ।

दशैं नजिकिँदै जाँदा बजारमा भेडा–च्याङग्रा खरिद गर्ने ग्राहकको चहलपहल पनि बढ्दै गएको छ । दशैंमा घरमा मासुका लागि मात्र नभई भाकल तथा धार्मिक प्रयोजनका लागि समेत भेडा खरिद गर्ने भएकाले गुल्मीमा हरेक वर्ष दशैंको समयमा भेडा–च्याङग्राको छुट्टै बजार देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?