+
+
Shares

बैंकहरूले शाखा समायोजन गर्दा कर्मचारी हटाउन नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्र बैंकले शाखा समायोजन वा एकीकरण गर्दा बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कर्मचारीलाई सेवाबाट हटाउन नपाउने व्यवस्था गरेको छ।
  • केन्द्रीय बैंकले कर्मचारीलाई नजिकको वा सहमतिअनुसार अन्य शाखामा सरुवा गर्न र कम्तीमा ९० दिनअघि सूचना प्रकाशन गर्न निर्देशन दिएको छ।
  • शाखा समायोजन हुँदा ग्राहकले कर्जा चुक्ता वा सेवा स्थगित गर्न चाहे कुनै शुल्क नलिई गर्न पाउने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ।

२३ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शाखा समायोजना तथा एकीकरण गर्दा कर्मचारी हटाउन नपाउने भएका छन् ।

राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै शाखा समायोजना गर्दा कर्मचारी कटौती गर्न नपाइने व्यवस्था गरेका हो ।

केन्द्रीय बैंकले शाखा समायोजन/एकीकरण हुने वा भएको कारण सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएको हो ।

शाखा समायोजन/एकीकरण गरेपछि कर्मचारीलाई नजिकको शाखा वा प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्ने समेत निर्देशनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० (नब्बे) दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा प्रकाशन गर्नुपर्नेछ ।

शाखा समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

शाखा समायोजन गर्दा उक्त क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चित हुने व्यवस्था मिलाउनु पर्नेछ ।

शाखा समायोजन गरेको ३ कार्यदिनभित्र केन्द्रीय बैंकको रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ र तोकिए बमोजिम विवरण बैक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?