+
+
Shares

कृषिमा बर्सेनि प्राकृतिक विपत्तिको धक्का

हरेक वर्षजसो यस्तो विपत्ति दोहोरिँदा पनि सरकारले पूर्वतयारी, कृषि बीमाको प्रभावकारी कार्यान्वयन र समयमै राहत वितरणमा चासो नदिएको भन्दै किसानले आक्रोश पोख्दै आएका छन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ असोज २४ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशभरको लगातार वर्षा र हावाहुरीले धान, उखु, तरकारी लगायत बालीमा ठूलो क्षति पुर्‍याउँदा किसानको वर्षभरिको मिहिनेत खेर गएको छ।
  • दाङ, सल्यान र बाँकेमा पाक्न ठिक्क परेको र काटेर सुकाउन राखेको धान डुबान, ढलान र बिउ धानको क्षतिले किसान थप समस्यामा परेका छन्।
  • महोत्तरी, सर्लाही र सिरहामा हावाहुरीले उखु लडाउँदा किसानलाई दोहोरो खर्च र लगानी उठ्ने चिन्ता बढेको छ।

२४ असोज, काठमाडौं । मनसुन बाहिरिने बेला देशभरि भएको लगातारको वर्षा र हावाहुरीले पाकेर भित्र्याउन ठिक्क धान, उखु, तरकारी लगायत कृषिबालीमा ठूलो क्षति पुर्‍याएको छ ।

मौसम खुल्दै गएको भन्दै ढुक्क किसान काटेर सुकाउन राखिएको र काट्न ठिक्क परेको बाली खेतमै डुबेपछि गहिरो समस्यामा परेका छन् ।

सिँचाइ र मल अभाव झेल्दै जसोतसो उब्जाएको अन्न घर भित्र्याउने बेला प्रकृतिले धोका दिएपछि किसानको वर्षभरिको मिहिनेत र लगानी खेर गएको छ भने उत्पादन घट्दा देशले खाद्यान्न आयातमा थप अर्बौं खर्च गर्नुपर्ने अवस्था देखिएको छ ।

बाँकेमा बिउ धानमै क्षति, दाङ र सल्यानमा खेतमै कुहिने डर

दाङका गढवा, राजपुर र राप्ती गाउँपालिका लगायत क्षेत्रमा किसानले काटेर खेतमै सुकाउन राखेको धान पूर्णरूपमा भिजेको छ । भिजेको धान सुकाउन नपाउँदा कुहिने र चिस्यान बढेर गुणस्तर बिग्रने चिन्तामा किसान छन् ।

सल्यान कुमाख गाउँपालिका–३ स्थित इख्रे खोलामा आएको बाढीले करिब ५० रोपनी खेतमा लगाइएको पाक्न लागेको धानबाली पूर्णरूपमा नष्ट गरेको पालिकाले बताएको छ ।

शारदा नगरपालिका–१ का किसान हिमाल योगीका अनुसार अविरल वर्षाले धान ढलेर बिग्रिएको छ ।

समयमा मल नपाएको र अहिले पानीले समेत असर गरेकाले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घट्ने उनको अनुमान छ ।

‘धान चाहिँ ढलेर बिग्रिसकेको छ, पानीले धेरै असर गर्‍यो,’ किसान योगीले भने, ‘गत वर्षको तुलनामा धान उत्पादन पनि वृद्धि हुँदैन होला, यो वर्ष मल पनि पाइएन, बल्लबल्ल रोपाइँ गरेको, त्यही पनि पानी आएर डुबायो ।’

उनका अनुसार सल्यानमा अहिले फाट्टफुट्ट धान काट्न सुरु भइसकेको छ । अलि अगाडि पाक्ने बिउ लगाएर काटिसकेको धान भने पानीले भिजेको छ । अबको एक साताभित्र सदरमुकाम आसपास अधिकांश ठाउँमा धान काट्ने काम सुरु भइसक्ने उनले जानकारी दिए ।

खेतमा पानी नसुके पनि काटेर प्लास्टिक ओछ्याएर भए पनि धान सुकाउने र भित्र्याउने किसानहरूको योजना छ ।

यस्तै बुधबारको वर्षाले बाँकेमा बिउ धानमै क्षति पुर्‍याएको छ । राप्ती सोनारीस्थित साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीका अनुसार किसानले रोपेको करिब १ सय ५० बिघाको बिउ धानमा हुरीबतास र वर्षाले क्षति पुर्‍याउँदा आगामी वर्ष बिउकै अभाव हुने जोखिम बढेको छ ।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले थन्क्याउने बेलाको वर्षाले धानबालीमा ठूलो क्षति पुर्‍याएको बताइन् ।  उनका अनुसार बाँकेमा यस वर्ष ३३ हजार ५ सय ३ हेक्टरमा धान रोपाइँ भएको थियो, तर सबैतिरबाट क्षतिको विवरण आइरहेकाले यकिन तथ्यांक संकलन भइरहेको छ ।

महोत्तरी र सर्लाहीमा उखुमा दोहोरो मार

अन्न भण्डार मानिने मधेस प्रदेशका अधिकांश क्षेत्रमा पाकेर पहेँलपुर भएको धान खेतमै ढलेर जलमग्न भएको छ । महोत्तरी उत्तरी क्षेत्रमा धानसँगै उखु किसानले दोहोरो मार खेप्नुपरेको छ । गत साउनको हावाहुरीले ढलेको उखु किसानले ऋणधन गरेर मजदुर लगाइ उठाएर बाँधेका थिए ।

तर, पछिल्लो वर्षाले पुन: उखु ढालिदिएपछि एउटै बालीमा दोहोरो खर्च लागेको छ । उत्पादन लागत बढेको र नाफा कमाउने आस निराशामा परिणत भएको स्थानीय किसानहरूको गुनासो छ ।

८ असोजदेखि लगातार ३–४ दिन परेको अविरल वर्षासँगै आएको हावाहुरीले सिरहा विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको उखु खेतीमा भारी क्षति पुर्‍याएको छ ।

अरूको करिब तीन बिघा जग्गा भाडामा लिएर उनले उखु लगाएका थिए । ऋणधन गरी झन्डै ४ लाख रुपैयाँ लगानी गरेको उखुबारी हुरीले ढालेपछि यादव चिन्तित छन् ।

राम्रो फसल लाग्दा करिब १० लाख रुपैयाँसम्म आम्दानी हुने उनको अपेक्षा थियो । तर, प्राकृतिक विपत्तिको चपेटामा परेर उखुका बोट  लडेपछि अब लगानी समेत नउठ्ने हो कि भन्ने पीरले उनलाई सताएको छ ।

उखु उत्पादक किसान संघ केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीका अनुसार यसपालिको वर्षा र हुरीले सर्लाही र महोत्तरीमा करिब ७० देखि ७५ प्रतिशत उखु लडाएको छ । पानी चाहिएको बेला राम्रो पानी परेर सप्रेको उखु नै हावाहुरीले ढालेको उनले बताए ।

‘हावाहुरीले त उखु सखापै बनायो नि ! राम्रोसँग सप्रेको उखु जति सबै लड्यो, ढलेपछि अब त्यो मुसाले खाने, कुहिने, सड्ने र सुक्ने हुन्छ,’ अध्यक्ष उप्रेतीले भने, ‘अब त्यसलाई उठाउन नि मिल्दैन, उठाउँदा भाँचिन्छ, झन् मर्छ, यो किसानका लागि ठूलो नोक्सानी हो ।’

किसानको यति ठूलो क्षति हुँदा पनि स्थानीय सरकार, कृषि ज्ञान केन्द्र वा प्रशासनले अहिलेसम्म क्षतिको अवस्था बुझ्न कुनै चासो नदेखाएको उनले गुनासो गरे ।

‘अहिलेसम्म सरकार, नगरपालिका, गाउँपालिका, प्रशासन वा कृषि ज्ञान केन्द्र कोही पनि क्षतिपूर्ति हेर्न, नोक्सान बुझ्न र सोधखोज गर्न कतैबाट आएका छैनन्,’ उनले भने ।

पछिल्लो केही दिनयता परेको वर्षाका कारण महोत्तरीका किसानको खेतमा धान काट्ने समय भएका बेला पानी जमेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत अविरलकुमार महतो कुशवाहाले पानी परेर खेतहरू डुबान परेको बताए । क्षतिको तथ्यांक अहिलेसम्म आइनसकेको उनको भनाइ छ ।

‘जुन धानमा भर्खर बाला लाग्ने बेला छ, त्यसमा त्यति धेरै क्षति छैन, तर, जुन धान काटेर भित्र्याउने बेला भएको थियो, पानीका कारण किसानले काट्न नपाएर समस्या भएको छ,’ उनले भने, ‘पाकेको धान पानीले डुबेपछि किसानहरू चिन्तित छन् ।’

बालीनालीमा परेको असरबारे ज्ञान केन्द्रले जिल्लाका सबै स्थानीय तह (पालिका) हरूसँग समन्वय गरिरहेको छ । पालिकाहरूबाट प्राप्त जानकारी अनुसार आत्तिहाल्नुपर्ने अवस्था नरहेको कुशवाहाले बताए ।

मौसम उघ्रिन थालेकाले डुबानमा परेको बाली बिग्रिनबाट जोगिने विश्वास केन्द्रको छ । ‘मौसम अब उघ्रिरहेको छ, मौसम उघ्रिएपछि पानी घट्छ र बाली रिकभर हुन्छ,’ उनले भने ।

कृषि र पशुपन्छीमा चौतर्फी असर

धान र उखुमात्र नभई कोदो, भटमास, मासजस्ता दलहन र तरकारी बालीमा पनि नराम्रो असर परेको छ । यसअघि रसुवा र भोटेकोशी क्षेत्र लगायतमा आएको विनाशकारी बाढीले ठूलो क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत मूल्यांकन प्रतिवेदनले देखाएको छ ।

बाढीपहिरोमा परी १ हजार ६ सय ६९ हेक्टरको ५ हजार ८ सय ४३ टन धान र १ सय ३७ हेक्टरको १ हजार ८ सय ४३ टन तरकारी नष्ट भएको अनुमान छ । यसका साथै देशभरि २ लाख ५२ हजारभन्दा बढी पशुपन्छी मरेका छन् भने कैयौँ माछा पोखरी बगेका छन् ।

बाढी र पहिरोले कतिपय खेतीयोग्य जमिनमा लेदो र बालुवा थुपारेर बगरमा परिणत गरिदिएको छ, जसले गर्दा आगामी सिजनमा समेत खेती गर्न नसकिने अवस्था छ ।

असोजमा बेमौसमी वर्षा र हावाहुरीले पाकेको बालीमा क्षति पुर्‍याएको यो पहिलो घटना भने होइन । गत वर्ष पनि ठिक यस्तै बेला (असोज र कात्तिकमा) आएको बेमौसमी झरीका कारण देशभरि हजारौं हेक्टर क्षेत्रफलमा लगाइएको धान, मकै, कोदो, सुन्तला र तरकारी बाली डुबानमा पर्दा अर्बौं रुपैयाँ बराबर नोक्सानी भएको थियो ।

विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका किसानले काटेर खेतमा सुकाएको र पाकेर काट्न ठिक्क परेको धान खेतमै कुहिएपछि ठूलो मार खेप्नुपरेको थियो । विगत केही वर्षयता मनसुन बाहिरिने समयमा हुने यस्तो अनपेक्षित वर्षा किसानका लागि नियमित नियति जस्तै बन्न थालेको छ ।

तर, हरेक वर्षजसो यस्तो विपत्ति दोहोरिँदा पनि सरकारले पूर्वतयारी, कृषि बीमाको प्रभावकारी कार्यान्वयन र समयमै राहत वितरणमा चासो नदिएको भन्दै किसानले आक्रोश पोख्दै आएका छन् ।

प्राविधिक समस्या र सरकारी तयारी

पानीले खेतमै धानबाली लामो समय डुब्दा जराले अक्सिजन नपाएर डाँठ कुहिने, पाकेको धानको बालामै टुसा पलाउने (उम्रिने), चामलको गुणस्तर बिग्रिएर कालो हुने तथा ढुसी र ब्याक्टेरियाजन्य (जस्तै ब्याक्टेरियल लिफ ब्लाइट, सिथ ब्लाइट) रोगहरूको संक्रमण तीव्र रूपमा फैलिने गम्भीर समस्या आउँछ ।

कृषि प्राविधिकहरूले सबैभन्दा पहिले खेतमा जमेको पानीलाई कुलो बनाएर तत्काल बाहिर फाल्न, हिलोमा ढलेको वा काटेको धानलाई निकालेर त्रिपाल वा अग्लो सुक्खा ठाउँमा फिँजाएर हावा लगाउन र भित्र्याइसकेपछि पनि राम्ररी सुकाएर (चिस्यान घटाएर) मात्र भण्डारण गर्न सल्लाह दिँदै आएका छन् ।

साथै, नपाकेको उभिएको बालीमा रोगको लक्षण देखिए मौसम उघ्रिए लगत्तै विज्ञको सिफारिसमा आवश्यक ढुसीनाशक विषादी छर्न सुझाव दिने गरेका छन् ।

यसैबीच सरकारले देशभरि कृषि र पशुपन्छीमा पुगेको क्षतिको विवरण संकलन सुरु गरिसकेको बताएको छ । कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले प्रदेश तथा स्थानीय सरकारले तथ्यांक संकलनको  काम गरिरहेको बताएका छन् ।

‘प्रदेशहरूबाट क्षतिको विवरण माग्ने काम भएको छ, त्यहाँबाट संकलन भइरहेको छ, केन्द्रमा पूर्ण विवरण आइसकेको छैन,’ उनले भने ।

सम्बन्धित पालिका र कृषि ज्ञान केन्द्रहरूले तथ्यांक संकलन गरिरहँदा, प्रभावित किसानहरूले भने तत्काल राहत उपलब्ध गराउनुका साथै कृषि बीमामार्फत क्षतिपूर्तिको सुनिश्चितताको माग गरेका छन् ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?