+
+
Shares

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुन:सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसममा सुधार आएपछि असोजको पहिलो साता स्थगित धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ।
  • सेभेन समिट टे«कका १४ जनालाई हेलिकप्टरबाट पोखरा ल्याएपछि टोली अक्टोबर १ मा आधार शिविरबाट चुचुरोतर्फ अघि बढेको थियो।
  • शरदयाममा धवलागिरि आरोहणका लागि ४ समूहका ३६ जनाले अनुमति लिएका छन् र रु ८२ लाख ४२ हजार ५० दस्तुर सङ्कलन भएको छ।

२४ असोज, म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुन:सुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुन:आधार शिविर पुगेका हुन् ।

विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि पुगेको सेभेन समिट टे«कका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले बताए ।

‘हाम्रो कम्पनीका नेपाली र विदेशी १४ जनालाई प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार गरेर असोज ८ गते पोखरा ल्याएका थियौं’, उनले भने, ‘मौसम सुधार भएपछि अक्टोबर १ मा पोखराबाट हिँडेको टोली आधार शिविरबाट चुचुरोतर्फ अघि बढेको छ ।’

असोज ८ देखि ११ गतेसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो । मौसममा सुधार आएसँगै आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने, शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुन:आरोहण सुरु गरेको टोली प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘हाल हिउँ जमेर कडा र स्थिर अवस्थामा रहेकाले हिँडडुल गर्न अनुकूल छ’, उनले भने, ‘भारी हिमपातपछि अस्थिर हिउँको ठूलो हिस्सा हटेकाले हिमपहिरोको जोखिम पनि अहिले तुलनात्मक रूपमा कम छ ।’

शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि चार समूहका २६ पुरुष र १० महिला गरी ३६ जनाले अनुमति लिएका पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धौलागिरि आरोहण अनुमतिवापत रु ८२ लाख ४२ हजार ५० दस्तुर सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । पर्वतारोहीहरूको समन्वय गर्दै आउनुभएका म्याग्दीको दानाका ब्यवसायी इन्द्रसिंह शेरचनले अन्य कम्पनीका पर्वतारोहीको टोली पनि धौलागिरिको आधार शिविर पुगिसकेको बताए ।

गत वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए भने । छिनछिनमै परिवर्तन भइरहने मौसम धवलागिरि आरोहणको प्रमुख चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहण बढी जोखिमपूर्ण, कठिन र साहसिक मानिन्छ ।

सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्वीस–अस्ट्रियाली संयुक्त आरोहण दलले धौलागिरि हिमालको शिखरमा पहिलोपटक पाइला राखेपछि यहाँ आरोहण सुरु भएको थियो । आरोहण सुरु भएको ६६ वर्षको अवधिमा ७३३ जना पर्वतारोही धौलागिरि शिखरमा पुगिसकेको विवरण छ ।

धवलागिरिमा हिमाल आरोहणका साथै पर्यटकहरू ‘राउन्ड धवलागिरि’ पदयात्राका लागि पनि जाने गर्छन् । बगर, सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धवलागिरि आधार शिविर, हिटिनी भ्याली आधार शिविर र याकखर्क हुँदै मुस्ताङको मार्फामा पुगेर नौ दिनमा टुङ्गिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?