२४ असोज विराटनगर । कोशी प्रदेशसभाको नवौं अधिवेशन अन्त्यअघि प्रदेशसभाको बैठकले ‘प्रदेशसभा सञ्चालन नियमावली’ पारित गरेको छ । प्रदेशसभाको चालु अधिवेशन शनिबार रातिबाट अन्त्य हुँदैछ ।
प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको चार वर्षपछि शनिबारको बैठकले प्रदेशसभा सञ्चालन गर्ने ‘प्रदेशसभा सञ्चालन नियमावली’ पारित गरेको हो । यसअघि पहिलो प्रदेसशभा सञ्चालन नियमावलीको आधारमा प्रदेशसभाको कामकारवाही सञ्चालन भइरहेको थियो ।
शनिबार नियमावली मस्यौदा समितिका सभापति रेवतीरमण भण्डारीले पेस गरेको ‘प्रदेशसभा नियमावली मस्यौदा समिति, २०८३ को प्रतिवेदन’ सभाबाट सर्वसम्मतिले पारित भएको हो ।
यसअघि २०७९ माघ २३ गते सांसद लीलाबल्लभ अधिकारीको संयोजकत्वमा ११ सदस्यीय समिति बनेको थियो । तर, समितिको मस्यौदामा सहमति जुटेन ।
रेवतीरमण भण्डारी नेतृत्वमा ५ सदस्यीय कार्यदल बनेपछि सो समितिले सहमति जुटाउँदै परिमार्जित मस्यौदा तयार पारेको थियो । शनिबार प्रदेश अधिवेशन अन्त्य गर्नुअघि नियमावली पारित गरेको हो ।
नयाँ नियमावलीमा विगतका अस्पष्टता हटाउँदै सभा सञ्चालनलाई थप प्रभावकारी बनाउने व्यवस्था गरिएको मस्यौदा समिति सभापति भण्डारीले बताए । नियमावलीले पूर्वसांसदहरूको अनुभवलाई प्रदेशसभासँग जोड्न ‘लूज फोरम’ पनि निर्माण गर्ने प्रावधान राखेको छ ।
महिला सांसदहरूका विशेष मुद्दा र क्षमता विकासका लागि छुट्टै फोरमको व्यवस्था गर्ने नियमावलीमा छ ।
प्रदेशसभाको बैठकमा सामाजिक विकास मन्त्री गीता तिम्सिनाले चार वर्षको मेहनतपछि प्रदेशसभाको नियमावली पास भएको बताइन् ।
नियमावलीमा एक तिहाइ सांसदले निवेदन दिए प्रदेशको नाम संशोधनको प्रस्ताव गर्न सकिने प्रावधान पनि राखिएको छ ।
प्रतिक्रिया 4