+
+
Shares

महाधिवेशनमा सहभागी नभएकालाई पनि समेटेर अघि बढ्नुपर्छ : भुसाल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले १५ औं महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा दिएको र पार्टी जनसरोकारका विषयमा केन्द्रित हुने बताइन् ।
  • भुसालले विगतको निर्वाचनमा संगठन परिचालनको अभाव, समयको कमी र आन्तरिक गुटबन्दी मुख्य कारण रहेको स्वीकार गर्दै अब त्यस्तो कमजोरी दोहोरिन नदिने भनिन् ।
  • उनले आगामी निर्वाचनमा संगठनलाई केन्द्रदेखि गाउँसम्म सक्रिय बनाउँदै सुशासन, लोकतान्त्रिक मूल्य र राष्ट्रिय आर्थिक मुद्दामा पार्टीले स्पष्ट नीति ल्याउने बताइन् ।

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औं महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको बताउँदै अबका दिनमा कांग्रेस आन्तरिक विवाद र गुटबन्दीबाट मुक्त भएर जनसरोकारका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनाका क्रममा उनले पार्टीलाई चुनावी मोडमा लैजान र जनताको विश्वास जित्न संगठनलाई थप सुदृढ बनाउनु अपरिहार्य रहेको बताएकी हुन् ।

उपसभापति भुसालले कांग्रेसको गौरवपूर्ण इतिहास र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाउँदै मुलुकका आर्थिक, सामाजिक र राष्ट्रिय मुद्दाहरूमा पार्टीले सशक्त भुमिका खेल्ने स्पष्ट पारिन् ।

‘नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ । अब संगठनलाई एकताबद्ध, बलियो र ऊर्जावान बनाउँदै जनसरोकारका मुद्दामा केन्द्रित हुनुपर्छ । सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता र जनताका समस्यामा पार्टीले आफ्नो दृष्टिकोण भाषणमा मात्र होइन, कामबाट देखाउन आवश्यक छ ।  मलाई पूर्ण विश्वास छ,’ उनले भनिन् ।

विगतको निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसक्नुमा संगठन परिचालनको अभाव, समयको कमी र आन्तरिक गुटबन्दी मुख्य कारण रहेको स्वीकार गर्दै उनले अब त्यस्तो कमजोरी दोहोरिन नदिने पनि बताइन् ।

पार्टीका वरिष्ठ र बौद्धिक नेताहरूको व्यवस्थापनका सम्बन्धमा सोधिएको प्रश्नमा उपसभापति भुसालले सबै नेताहरूको भूमिका र योगदानको उच्च सम्मान गरिने बताइन् ।

‘विशेष महाधिवेशनका बेला समय अभाव, संगठनात्मक कमजोरी र पार्टीभित्रको गुट–उपगुटका कारण अपेक्षाअनुसार परिणाम आउन सकेन । अब ती कमजोरी सुधार्दै संगठनलाई केन्द्रदेखि गाउँसम्म सक्रिय बनाउनुपर्छ,’ भुसालले भनिन्, ‘आगामी निर्वाचनमा उम्मेदवार मात्र होइन, सिंगो संगठन चुनावमा होमिएको अनुभूति जनतालाई गराउनुपर्छ । विशेष महाधिवेशनपछि देखिएको कानूनी विवाद अब समाप्त भएको छ । असहमति राख्ने र महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत समेटेर अघि बढ्नुपर्छ ।’

भुसालका अनुसार अबको कांग्रेसको ध्यान आगामी निर्वाचनमा जनप्रिय नेतृत्व छनोट गर्ने, संविधानवादको रक्षा गर्ने र राष्ट्रिय आर्थिक मुद्दाहरूमा स्पष्ट नीति तय गर्दै जनताको केन्द्रबिन्दुमा रहने कुरामा केन्द्रित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?