+
+
Shares

गगनलाई बधाई दिँदै श्यामकृष्णले भने- मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन

नेतृत्वको वास्तविक सफलता निर्वाचन जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले फरक मत राख्ने नेताकार्यकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले १५औं महाधिवेशनबाट सभापति निर्वाचित गगनकुमार थापालाई बधाई दिँदै पार्टी एकता कायम गर्न आग्रह गरे।
  • खड्गीले निर्वाचन परिणामलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै मत फरक भएकाहरूलाई पनि समेटेर अघि बढ्न थापालाई सुझाव दिए।
  • उनले विशेष र नियमित महाधिवेशनका क्रममा उत्पन्न असमझदारी र विभाजनको भावनालाई अन्त्य गर्न संवाद, सहमति र सम्मान आवश्यक रहेको बताए।

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

सभापतिमा प्रतिस्पर्धा गरेका खड्गीले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन परिणामलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता, आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । ‘नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा मेरो प्रिय मित्र गगनकुमार थापाज्यू र मबीच भएको मित्रवत् प्रतिस्पर्धामा विजयी हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

निर्वाचनमा सहभागी भएर मतदान गर्ने महाधिवेशन प्रतिनिधि तथा आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति नेता खड्गीले आभार व्यक्त गरेका छन् ।

निर्वाचनको परिणाम जस्तो भए पनि आफूलाई प्राप्त माया, विश्वास र सद्भावलाई अमूल्य राजनीतिक सम्पत्तिका रूपमा लिएको उनको भनाइ छ ।

खड्गीले विशेष महाधिवेशन र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न असमझदारी तथा विभाजनका भावनालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

छुट्टै महाधिवेशनको बाटोमा रहेका नेताहरूलाई समेत संवाद, सहमति र सम्मानका माध्यमबाट पार्टी एकताको मूलधारमा समेट्नु आजको प्रमुख आवश्यकता रहेको खड्गीले बताएका छन् । ‘गगनजी, अब तपाईं सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । तपाईंलाई मत दिने र नदिने, फरक विचार र धारमा रहनुभएका सबै साथीहरूलाई समेटेर अघि बढ्नुहोस्,’ उनले लेखेका छन्, ‘कसैले आफूलाई पराइ महसुस गर्नु नपरोस्, सबैले पार्टीभित्र आफ्नो सम्मान र अपनत्व पाएको अनुभूति गर्न सकून् ।’

नेतृत्वको वास्तविक सफलता निर्वाचन जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले फरक मत राख्ने नेताकार्यकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । ‘नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र होइन, फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुन्छ,’ खड्गीले भनेका छन्, ‘मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन । प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन ।’

कांग्रेसलाई सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन गुटगत स्वार्थभन्दा माथि उठ्नुपर्ने उनको धारणा छ । ‘गुटभन्दा माथि पार्टी, व्यक्तिभन्दा माथि विचार र प्रतिस्पर्धाभन्दा माथि एकतालाई राख्न सक्यौं भने नेपाली कांग्रेसलाई अझ सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन सकिनेछ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?