२४ असोज, काठमाडौं । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ लोकार्पण भएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी, समालोचक एवं बैसाखीका सम्पादक सुभाषचन्द्र भण्डारीले पुस्तकको लोकार्पण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा अवस्थीले लेखक जोशीमा सिर्जनात्मक प्रतिभा रहेको बताए । ‘पत्रकारिताबाट आएका लेखकहरूका शब्दमा शक्ति हुन्छ । जोशीमा पनि सिर्जनात्मक प्रतिभा छ,’ उनले भने, ‘उहाँमा इच्छा शक्ति छ । लोकपरिवेशमूलक निपूणता छ । लेखनमा आलंकारिता छ ।’
समीक्षक ज्ञानु अधिकारीले पुस्तकमाथि परिचर्चा गर्दै बैसाखीमा भुइँमान्छेको इतिहास संग्रहित कथा रहेको औंल्याइन् । उनले नारीवादी मनोविज्ञानलाई पनि लेखकले सशक्त रूपमा प्रस्तुत गरेको बताइन् ।
पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले नयाँ पुस्ताको मनोभावलाई गहिरोसँग लेख्न सफल भएको बताए ।
‘जोशीको लेखनीमा आधुनिक कथाशिल्प छ । पछिल्लो पुस्ताको मनोभाव गहिरोगरी आएको छ । बालशखादेखि गाउँपरिवेशका सबै कथा मिहिन रूपमा उहाँ लेख्न सफल हुनुभएको छ । कतिपय कथामा त वास्तविक पात्रको अनुमति लिएर नै उहाँले कथा बुनेर नयाँ प्रयोग गर्नुभएको छ,’ उनले भने ।
यस्तै, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. टीएन जोशीले कृतिकार जोशीले सुदूर भूमिबाट दु:ख–संघर्ष गर्दै अगाडि बढेको र भुइँमान्छेकै रूपमा भुइँमान्छेका कथा लेखेको भन्दै खुसी व्यक्त गरे ।
प्राध्यापक माधव नेपालले बैसाखी लेखनीका क्रममा आफूले थुप्रै सुझाव दिएको र ती सुझावलाई पालना गर्दै जोशीले कृतिका रूपमा बैसाखी ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।
कृतिकार जोशीले परदेशिएका बुबालाई आमाले चिठी लेख्दा देउडा गीत लेखेर पठाएको देखेपछि आफू साहित्यतर्फ आकर्षित भएको बताए । ‘त्यही प्रेरणाले आज यो पुस्तक ल्याउन सम्भव भएको हो,’ उनले भने ।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पैडेलले ऊर्जावान युवा लेखक जोशीको कृति बजारमा ल्याउन पाउँदा खुसी लागेको बताए ।
प्रतिक्रिया 4