+
+
Shares

यस्तो देखिन्छ बूढीगण्डकी बाढी प्रभावित क्षेत्र (तस्वीरहरू)

प्रभावित क्षेत्रमा काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । नेपाल प्रहरी पनि परिचालन भएको छ । प्रहरीले विभिन्न स्थानमा बस्ती खाली गराउने र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर र बजारमा व्यापक क्षति पुर्‍याएको छ।
  • प्रारम्भिक विवरणअनुसार चुमनुब्री–३ मा एक कच्ची घर बगाएको, सल्लेरीमा निर्माणाधीन पावरहाउस र ७/८ घर बगाएको तथा आरुघाट–९ को पक्की पुलको एक भाग बगाएर बाटो अवरुद्ध भएको छ।
  • बाढीको कारण खुलेको छैन, अध्ययन भइरहेको छ, र प्रभावित क्षेत्रमा सेना तथा प्रहरी परिचालन गरेर बस्ती खाली गराउने काम भइरहेको छ।

२५ असोज, काठमाडौं । गोरखामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ । कालो लेदोसहितको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर बजारहरुमा समेत क्षति पुर्‍याएको छ ।

बाढीले पुर्‍याएको क्षतिको पूर्णविवरण आउन बाँकी छ । यद्यपि प्रारम्भिक विवरणमा चुमनुब्री–३, सिर्दीबास बस्ने राम बहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने एउटा घरमा बाढी पसेको छ ।

धार्चे गाउँपालिका–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ । धार्चे– ५, माछीखोलास्थित तल्लो बस्तीमा बाढी पसेको छ ।

आरुघाट–२ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको छ भने चुमनुब्री–३, सल्लेरी स्थित निर्माणाधीन सहज ऊर्जा पावरहाउस र वरपर रहेका ७/८ वटा घरहरु बगाएको छ ।

आरुघाट–९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तीन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगेर बाटो पूर्णरुपमा अवरुद्ध भएको छ ।

साथै धार्चे–३, सल्लेरीस्थित २०/२२ घरहरु जोखिममा रहेको प्रारम्भिक विवरण छ ।

बाढीको कारण खुलिसकेको छैन । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाका बरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार बूढीगण्डकीको उपल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । त्यसैले सुक्खा पहिरो गएर थुनिएको वा हिमपहिरो गएको आशंका गरिएको छ ।

पराजुलीका अनुसार बाढीको कारणबारे अध्ययन भइरहेको छ । उनले भने, ‘मानववस्तीभन्दा पनि माथि हिमाली क्षेत्रबाट यो बाढी सुरु भएको जस्तो देखिन्छ । पहिरोले थुनिएको हो वा हिमाली क्षेत्रबाट बाढी सिर्जना भएको हो भन्ने समग्र कारणबारे अध्ययन गरिरहेका छौं ।’

प्रभावित क्षेत्रमा काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । नेपाल प्रहरी पनि परिचालन भएको छ । प्रहरीले विभिन्न स्थानमा बस्ती खाली गराउने र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।

यस बाढीको प्रभाव गोर्खा, धादिङ, तनहुँ, मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

तस्वीर सौजन्य : मनास्लु संरक्षण क्षेत्र आयोजना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?