News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको उत्तरी भेगमा आइतबार आएको लेदो र गेग्रानसहितको बाढीले बूढीगण्डकी किनारका बस्ती, पुल र जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
- प्राधिकरणको प्रारम्भिक विवरणअनुसार दुई पक्की पुल, दुई झोलुङ्गे पुल, तीन जलविद्युत् आयोजना, ४५ घर र २७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
- चुमनुब्री गाउँपालिका–६ चुमचेतको उङ्गिलुङ क्षेत्रमा दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन छन्, भने नौ विदेशीसहित ८२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
२५ असोज, काठमाडौं । गोरखाको उत्तरी भेगमा आइतबार बिहान आएको लेदो र गेग्रानसहितको आकस्मिक बाढीले बूढीगण्डकी नदी किनारका बस्ती, पुल र जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
बाढी कहाँबाट आयो र कुन बाटो हुँदै बूढीगण्डकीमा मिसियो भन्ने बुझ्न उत्तरी गोरखाको भूगोल पछ्याउनुपर्छ।
गोरखा सदरमुकाम गोरखा बजारबाट करिब ४० किलोमिटर उत्तरपूर्वमा पर्छ आरुघाट बजार। गोरखा बजारबाट फिनाम र बगुवा हुँदै आरुघाट पुग्न जिप वा बसमा करिब तीन घण्टा लाग्छ।
काठमाडौंबाट आरुघाट पुग्न गोरखा बजार नै आउनुपर्दैनथ्यो। धादिङको बाटो हुँदै धादिङबेसी-सल्यानटारबाट पनि त्यहाँ पुग्न सकिन्थ्यो । मलेखुबाट धादिङबेँसी हुँदै जाने बाटो यस क्षेत्रको छोटो र बढी चल्तीको मार्ग हो। तर गत भदौमा आएको भोटेकोशी बाढीले मलेखु नजिक फुर्केखोलामा त्रिशूलीमाथिको पुल बगाएपछि धादिङबेँसी पुग्न अहिले ग्रामीण वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।
अझै, आइतबारको बूढीगण्डकी बाढीले गोरखा-धादिङ जोड्ने आरुघाटको पुल बगाएसँगै यो विकल्प तत्कालका लागि बन्द भएको छ ।
धादिङ र गोरखाको सिमानामा बूढीगण्डकी नदी किनारमा आरुघाट बजार अवस्थित छ। आइतबार आएको बाढीले गोरखा र धादिङ जोड्ने पुलको एक भागसमेत बगाएको छ। यसले नदी किनारका बस्तीबीचको आवागमनमा थप समस्या सिर्जना गरेको छ।

आरुघाटबाट बूढीगण्डकी नदीको किनार पछ्याउँदै करिब ५० किलोमिटर माथि पुगेपछि फिलिम पुगिन्छ। यो उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र हो। बूढीगण्डकीको साँघुरो खोँचमाथिको समथर डाँडामा अवस्थित फिलिम उत्तरी गोरखाको प्रमुख प्रशासनिक केन्द्र पनि हो। यो मनास्लु संरक्षण क्षेत्रभित्र पर्छ।
फिलिमबाट करिब पाँचदेखि सात किलोमिटर माथि पुगेपछि बूढीगण्डकी नदीमा बायाँतर्फबाट स्यारखोला मिसिन्छ। त्यसको अर्को पाँचदेखि सात किलोमिटर माथि स्यारखोलामा उङ्गिलुङ खोला मिसिन्छ। आइतबारको बाढीको बाटो पछ्याउँदा यी खोलाहरू महत्त्वपूर्ण देखिन्छन्।
बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक सुशील थापासहितको टोलीले आइतबार बिहान हवाई अवलोकन गरेको थियो। टोलीले उङ्गिलुङ खोलाबाट आएको बाढी स्यारखोला हुँदै बूढीगण्डकीमा मिसिएको देखेको जनाएको छ।
‘उङ्गिलुङ खोलाबाट आएको बाढी स्यारखोला हुँदै बूढीगण्डकीमा मिसिएको देखियो। त्यसभन्दा माथि बूढीगण्डकी सामान्य रूपमा बगिरहेको छ,’ थापाले भने, ‘चुम उपत्यकाको चुमचेत क्षेत्रबाट बाढी आएको देखिन्छ। यसको कारण भने प्राविधिक तथा वैज्ञानिक अनुसन्धानपछि मात्रै स्पष्ट होला।’

तर बाढीको वास्तविक उद्गम र बहाव थुनिएको स्थानबारे अझै यकिन भइसकेको छैन। नेपाली सेनाको प्रारम्भिक रेकी टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम क्षेत्रमा सुक्खा पहिरो गएर बूढीगण्डकीको बहाव थुनिएको र पछि खुलेपछि बाढी आएको जनाएको छ।
त्यसैले बाढीको वास्तविक स्रोत र पहिरोले नदीको बहाव थुनेको घटनाक्रम स्पष्ट पार्न थप अध्ययन आवश्यक देखिएपछि सरकारी टोलीले काम सुरु गरेको छ ।
पुल, बस्ती र जलविद्युत् आयोजनामा क्षति
बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको शिविर तथा संरचनामा क्षति पुर्याएको छ।
आयोजनाको पावर हाउस र आसपासका घरहरू बगाएको प्रारम्भिक विवरण छ। त्यस्तै, १४.१५ मेगावाटको दोभानखोला जलविद्युत् आयोजनाले बनाएको बेलिब्रिज पनि बाढीले बगाएको छ।
फिलिम र आरुघाटबीचको आवागमनमा प्रयोग हुने सोतीखोलाको पुल पनि बगेको छ। आरुघाट गाउँपालिकाको सोती र मान्बु जोड्ने पुल बगाएपछि वडा नम्बर २ र ३ को आवागमन प्रभावित भएको छ। बाढीले अन्य स्थानका झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ।
नदी किनारमा पर्ने जगत बजारमा समेत बाढीले क्षति पुर्याएको छ। मनास्लु क्षेत्रमा पदयात्रा गर्ने पर्यटकका लागि यो प्रमुख बिसौनी हो। शनिबार मात्रै सयभन्दा बढी पर्यटक जगतबाट मनास्लु क्षेत्रतर्फ प्रवेश गरेको तथ्यांक रहेको स्थानीय प्रशासनले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझ सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट दुई पक्की पुल, दुई झोलुङ्गे पुल र तीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
४५ घर पूर्ण र २७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, ३४ गोठ, १२ बंगुरका खोर वा गोठ तथा तीन सवारीसाधनमा क्षति पुगेको विवरणमा उल्लेख छ।

प्राधिकरणको सोही विवरणमा चुमनुब्री गाउँपालिका–६, चुमचेतको उङ्गिलुङ क्षेत्रमा दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन रहेको उल्लेख छ। प्रभावित क्षेत्रबाट नौ विदेशी नागरिकसहित ८२ जनालाई नेपाली सेनाका चार हेलिकप्टर परिचालन गरी उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन
बाढीको वास्तविक कारण र भौगोलिक अवस्थाको अध्ययन गर्न मानवरहित विमान (ड्रोन) र भूगर्भविद्सहितको तीन सदस्यीय टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
त्यस्तै, भत्किएका पुल तथा सडकको विकल्पमा बेलिब्रिज जडान गर्न सकिने सम्भाव्यता अध्ययनका लागि सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सम्मिलित प्राविधिक टोली पनि खटाइएको छ।

बाढीले क्षति पुर्याएका क्षेत्रमा राहत सामग्री पठाउने, उद्धार तथा प्रतिकार्य टोली परिचालन गर्ने र जोखिममा रहेका बस्तीलाई सतर्क गराउने काम जारी छ। प्राधिकरणले नदीको बहाव र बाढीको जोखिमबारे थप अध्ययन गरिरहेको जनाएको छ।
बाढीको निशानले उङ्गिलुङ खोला, स्यारखोला र बूढीगण्डकी नदी जोडिएको भौगोलिक क्षेत्र देखाए पनि विनाशकारी बाढीको वास्तविक कारणबारे अन्तिम निष्कर्षमा पुग्न प्राविधिक तथा वैज्ञानिक अध्ययनको नतिजा पर्खनुपर्नेछ।
प्रतिक्रिया 4