News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवलको गोलपार्कमा शुक्रबार आयोजित प्रचारार्थ सांगीतिक कार्यक्रममा पाँच हजारभन्दा बढी दर्शक सहभागी भएको आयोजकले दाबी गरेको छ।
- पल शाह र मलिका महत अभिनीत ‘अचेल किन कान्छी’ गीत सार्वजनिक भएको ११ दिनमै ६२ लाखभन्दा बढी भ्युज पाएको छ।
काठमाडौं । प्रचार सामग्रीले दर्शकको ध्यान खिचिरहेको छ । कलाकार पुग्दा सडकदेखि खुला मैदानसम्म दर्शकको भीड उर्लिरहेको छ । चन्द्र पन्त निर्देशित नेपाली फिल्म ‘आ बाट आमा २’ अहिले यिनै कारणले चर्चामा छ ।
प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्मको प्रचार डिजिटल प्लेटफर्ममा मात्रै सीमित छैन, निर्माण टिम दर्शकको बीचमै पुगेर फिल्मको माहोल बनाउन सक्रिय देखिएको छ ।
गत वर्ष प्रदर्शनमा आएको सफल फिल्म ‘आ बाट आमा’ को सिक्वेल भएकाले पनि ‘आ बाट आमा २’प्रति सुरुदेखि नै दर्शकको चासो थियो । पहिलो भागले नेपाली बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो ।
असोज ३० गतेदेखि प्रदर्शनमा आउने फिल्मले यतिबेला डिजिटल प्रचार र प्रत्यक्ष दर्शक भेटघाटलाई एकसाथ अघि बढाएको छ । तर, प्रचारका यी गतिविधिले फिल्मप्रति दर्शकको चासो मात्रै बढाएको हो वा हलसम्मै दर्शकको ठूलो जमात ल्याउन सक्छ भन्ने प्रश्नको उत्तर भने प्रदर्शनपछि पाइनेछ ।
दुई साताअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा ५६ लाखभन्दा बढी भ्युज पाइसकेको छ । विशेषगरी आमा–छोराको सम्बन्धमा आधारित कथावस्तु, भावनात्मक दृश्य र कलाकारको प्रस्तुतिले दर्शकलाई आकर्षित गरेको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएका छन् ।
टिजर हेरेपछि केही दर्शकले दसैँको रमझममा यो फिल्मले रुवाउने भन्दै प्रतिक्रिया दिएका छन् । कतिपयले टिजरले आफ्नै आमाबुबाको सम्झना गराएको बताएका छन् ।
टिजरसँगै फिल्ममा समावेश गीतहरूले पनि दर्शकमाझ चर्चा पाइरहेका छन् । पल शाह र मलिका महत अभिनीत ‘अचेल किन कान्छी’ गीत सार्वजनिक भएको ११ दिनमै ६२ लाखभन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै, निर्माण पक्षले गत बिहीबार सार्वजनिक गरेको दसैँ गीत ‘रातो टीका लगाउँदा क्या दामी देखियो’ ले पनि दर्शकमाझ चर्चा पाइरहेको छ ।
नेपाली फिल्मको प्रचारमा युट्युब भ्युजलाई दर्शकको प्रारम्भिक चासो मापन गर्ने एउटा माध्यमका रूपमा हेरिन्छ । तर, धेरै भ्युज प्राप्त गर्नु र दर्शकले टिकट काटेर हलसम्म पुग्नु फरक विषय हुन् । ‘आ बाट आमा २’का लागि पनि अबको चुनौती डिजिटल चर्चालाई हलको उपस्थितिमा बदल्नु हुनेछ ।
निर्माण टिमले प्रत्यक्ष दर्शक भेटघाटलाई पनि प्राथमिकता दिएको छ । यही योजनाअन्तर्गत फिल्मको ‘ग्राउन्ड जिरो प्रचार’ लुम्बिनी प्रदेशको बुटवलबाट सुरु गरिएको हो ।
शुक्रबार साँझ बुटवलको गोलपार्कमा फिल्मको प्रचारार्थ सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पाँच हजारभन्दा बढी दर्शक सहभागी भएको आयोजक पक्षको दाबी छ ।
युट्युबमा टिजर र गीत हेरेका दर्शकलाई प्रत्यक्ष रूपमा कलाकारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस्तो कार्यक्रमले चलचित्रको प्रचारलाई अनलाइनबाट बाहिर निकालेर स्थानीय दर्शकमाझ पुर्याएको छ ।

बुटवलमा आयोजित कार्यक्रमपछि निर्माण टिमले आफ्नो प्रचार अभियानलाई बाँकेको कोहलपुरसम्म विस्तार गरेको छ । शनिबार कोहलपुरमा आयोजित सांगीतिक कार्यक्रममा पनि पल शाहसहित चलचित्रका कलाकारहरू सहभागी भएका थिए ।
प्रदर्शनअघि विभिन्न सहरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने रणनीतिले फिल्मको प्रचारलाई फराकिलो बनाउने अपेक्षा गरिएको छ । विशेषगरी चाडपर्वको समयमा प्रदर्शन हुने चलचित्रका लागि दर्शकसँगको प्रत्यक्ष सम्पर्क, गीत–संगीत र कलाकारको लोकप्रियतालाई प्रचारको महत्त्वपूर्ण आधार मानिन्छ ।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा पल शाह र मलिका महत मुख्य आकर्षणका रूपमा छन् । उनीहरूसँगै विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडा र बेगम नेपाली (भटभटे माइला)लगायत कलाकारको अभिनय रहेको छ । दिवंगत भारतीय कलाकार प्रदीप रावतको यो अन्तिम नेपाली चलचित्र हो ।
फिल्मको निर्देशन चन्द्र पन्तले गरेका हुन् । यसको लेखन पनि निर्देशक पन्त स्वयंले गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको फिल्ममा बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको टिजर र ट्रेलर साहिल खानले तयार पारेका हुन् ।
नेपालभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
प्रतिक्रिया 4