२५ असोज, काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कार र जगदम्बा–श्री सम्मान अर्पण गरेको छ । ललितपुरमा आइतबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकका लेखक वीणा जोशी राजभण्डारीलाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जनदम्बा–श्री सम्मान प्रदान गरेका हुन ।
विस. २०१२ सालमा स्थापित मदन पुरस्कार र २०४५ सालमा स्थापित जनदम्बा–श्री सम्मान अर्पण समारोह दशैंको घटस्थापनाको दिन आयोजना गरिन्छ । दुबै पुरस्कारको राशी चार/चार लाख रुपैयाँ छ ।
मदन पुरस्कार विजेता कृतिका सर्जक वीणा जोशीले १४ सय पृष्ठको आफ्नो पुस्तक नेपाली कला र संस्कृतिका अध्यापक, अध्येता, साधक, शोधार्थी लगायतका लागि प्रामाणिक ग्रन्थ बन्ने बताइन् । यो सम्मानले लोपोन्मुख रैथाने परम्परा, अमूल्य नाच, बाजा र तिनका दर्शनलाई नयाँ पुस्ताबीच प्राज्ञिक बहसमा ल्याउने दायित्य आफूलाई सुम्पिएको जोशीले बताइन् ।
जगदम्बा–श्रीबाट सम्मानित गीतकार किरण खरेल विस. २०१४ सालदेखि गीत लेखनमा सक्रिय छन् । ‘मेरो दृष्टिमा गीत हृदयको ढुकढुकी हो। एउटा शिशुलाई जन्म दिएजस्तै गीतकारले एउटा गीत रचना गर्दछ,’ पुरस्कार ग्रहण कार्यक्रममा खरेलले भने, ‘संगीतकारले त्यसको स्याहार(सुसार र शृंगार गर्दछ। अनि, गायिका वा गायकले त्यसलाई वाणी दिन्छ। यसरी एउटा गीत अस्तित्वमा आउँछ।’
कार्यक्रममा विद्वत् प्रवचन राख्दै विपुलेन्द्र चक्रवर्तीले नेपालको मानिसको मति र नेपालको माटोको गतिको कारुणिक कथा राष्ट्रिय जीवनको कटु यथार्थ हुन पुगेको र त्यस विषयमा गुरु–गम्भीर विवेचना अनिवार्य भएको बताए । सुनसरीको कप्तानगञ्ज लगायतका कतिपय घटनाले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको शिर निहुरिएको बताए ।
‘आर्य–अनार्य, शाक्त–शैव, वैष्णव–शैव, बौद्ध–सनातनी जस्ता भेदलाई चिर्दै मानवीय करुणा र कल्याणका लागि समता र समावेशी शैलीलाई नेपाली समाज र संस्कृतिले धेरै पहिलेदेखि अङ्गीकार गरेको छ,’ चक्रवर्तीले कार्यक्रममा भने ।
रातो बंगला स्कूलका शिक्षक सुधा ओझाले सञ्चालन गरेको कार्यक्रम पुरस्कार वितरण समारोह गुठीका उपाध्यक्ष कल्पना पराजुली समापनको धन्यवाद ज्ञापनसँगै समापन भएको थियो ।
२०८२ मा मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएकोमा १० वटा पुस्तक उत्कृष्ट सूचीमा परेका थिए । जसमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद थिए।
प्रतिक्रिया 4