+
+
Shares

मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर र त्यसका चालक २४ वर्षीय विमल बाग पुरिएका हुन् । सहचालक विनय मल्ल घाइते छन् ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज २६ गते १०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुको खत्याड गाउँपालिका–११ बिरा खोलामा सुक्खा पहिरो खस्दा एक्स्काभेटरका २४ वर्षीय चालक विमल बाग पुरिएका छन् ।
  • बिरा खोलाको सडक कटिङ गर्ने क्रममा खसेको पहिरोमा सहचालक २२ वर्षीय विनय मल्ल घाइते भएका छन् ।
  • चालकलाई बाहिर निकाल्न १३ जना प्रहरी घटनास्थलमा खटिएर उद्धार कार्य जारी राखेका छन् ।

२६ असोज, सुर्खेत । मुगुको खत्याड गाउँपालिका–११ बिरा खोलामा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् । सहचालक घाइते भएका छन् ।

आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो । पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर र त्यसका चालक २४ वर्षीय विमल बाग पुरिएका हुन् । बागको स्थायी ठेगाना बझाङ रहेको भए पनि पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

एक्स्काभेटरमै रहेका सहचालक मुगुको सोरु गाउँपालिका–१ निवासी २२ वर्षीय विनय मल्ल ढुङ्गाले लागेर घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

चालकको उद्धार जारी

पहिरोमा पुरिएका चालकलाई बाहिर निकाल्न प्रहरी टोलीले उद्धार कार्य जारी रहेको जनाएको छ । इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमान्डमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक आनन्दकुमार प्याकुरेलको कमान्डमा ७ जना गरी १३ जना प्रहरी घटनास्थलमा खटिएका छन् ।

घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिममा पर्छ ।

चालकको उद्धार तथा घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?