News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको चामर हिमालमा हिउँ जमेर एकैपल्ट झर्दा स्यार खोलाको पहिरो चुम भ्यालीतर्फ बढ्दै बुढीगण्डकीमा लेदो र गेग्र्यानसहितको बाढी आएको देखिएको छ।
- बाढीले गाउँ जाने बाटा बन्द गराएको छ, तल्लो तटमा ठूलो क्षति पुर्याएको छ, र चुमनुब्रीको निर्माणाधीन ३४१ मेगावाटको बुढीगण्डकी आयोजनाको क्याम्पसमेत बगाएको छ।
- लेखमा बस्ती, स्कुल, अस्पताल र पूर्वाधार सुरक्षित ठाउँमा बनाउने, जोखिम नक्साङ्कनपछि मात्र पुनर्निर्माण गर्ने र स्थानीय सरकारलाई सुरक्षित पुनर्वासको योजना बनाउने सुझाव दिइएको छ।
हिजो अनलाइनखबर र हिमालय टिभीको टिमले गोरखा बाढीको प्रारम्भिक निरीक्षण गरेको थियो, आकाशबाट । चामर हिमालमा हिउँ जमेर त्यसको भार एकैपल्ट खस्दा तल्लो भागका जंगल र पहरा एकैपल्ट झरेको हामीले देख्यौं । स्यार खोलामा लेदो र गेग्र्यानसहित खसेको पहिरो चुम भ्यालीतर्फ अघि बढेको देखिन्थ्यो ।
त्यसैका कारण बुढीगन्डकीमा कालो लेदोसहितको बाढी आयो । माथि हेर्दा कालो चामर हिमाल देखिन्थ्यो, तल हेर्दा कालो बगिरहेको कहालीलाग्दो बुढीगण्डकी । गेग्रयान र लेदोसहितको बाढीले तल्लो तटतर्फ अहिले पनि ठूलो असर छाडेको थियो । गाउँ जाने बाटाहरू बन्द भएका थिए । अनि कतै त आधा जसो गाउँ नै बगेजस्ता दृश्य पनि हामीले क्यामरामा कैद गर्थ्यौं ।
हाम्रा सहकर्मी साथीहरु सडकमार्गबाट अहिले पनि ती क्षेत्रमा खटिरहनुभएको छ । हामी यसबारे नियमित रिपोर्टिङ, विश्लेषणहरु प्रकाशित गरिरहेका छौं, गर्दैरहने छौं । जनताको जीवनभन्दा ठूलो सम्पत्ति अरु हुन सक्दैन, तर साथसाथै भौतिक पूर्वाधार र सेवा केन्द्रहरुमा सिर्जित क्षति पनि कम आँक्नु भने हुँदैन ।
नीति निर्माताहरूले त यस्तो शिक्षा लिइराख्नु नै भएको होला, जो स्कुल कलेजका पाठमा थिएन, तर हाम्रो जस्तो भू–संवेदनशील ठाउँमा गर्ने विकासको भिन्नै मोडल हुन सक्छ भनेर । अनि भर्खरैको गोरखा अनि रसुवाको विपद्मा जनधन, पशु चौपायासँगै भौतिक पूर्वाधारमा क्षति भोगेकाहरुले मात्रै होइन, ती र त्यस्तै ठाउँमा अब केही विकास पूर्वाधार बनाउँ, बस्तीमा घर बसाउँ, स्कुल खोलौं वा यस्तै केही गरौं भन्ठान्नेहरूले अझै बढी पाठ सिक्नुपर्छ ।
ठिक डेढ महिनाअघि अर्थात् १० भदौका दिन रसुवामा ल्हेन्दे खोला थुन्नेगरी पहिरो जाँदा भोटेकोशीमा विशाल बाढी गएको थियो । चीनसँग सिमाना जोडिएको नेपाली भूभागमा तीव्र गति र स्केलमा जुन बाढी गयो, त्यसलाई हामीले अनलाइनखबरमा विशेष सम्पादकीय लेखेर ‘हिमाली सुनामी’ भनेका थियौं । यसबीचमा प्रधानमन्त्री बालेन शाह, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतले राष्ट्रसंघ महासभामा हिमाली सुनामीले पारेको असर अनि जलवायु न्यायका बारेमा आफ्ना भनाई राखिसकेका छन् ।

डेढ महिनापछि उत्तरी गोरखाबाट झरेको पहिरो, अनि उत्पन्न बाढीले दिएको क्षति तुलना गर्दा भोटेकोशी र त्रिशुलीको विपद्सँग दाँज्न त मिल्दैन । जनधनको क्षति अनुपात बुढीगण्डकीमा कम देखिन्छ, तर बाढीको शैली र पूर्वाधारमा दिएको असर हेर्दा हामीले सिक्ने विषय भने धेरै छन् ।
यसरी हेर्दा पछिल्ला दुई विपद्– भदौ १० को रसुवाली हिमाली सुनामी, अनि हिजो २५ असोजको गोरखा पहिरो र बाढी – यी दुई केस स्टडी हुन सक्छन् । त्यसबाहेक थामेमा २०८१ साउनमा माथिल्लो हिमतालमा चट्टान खस्दा पानीको बहाव बढेर अर्को हिमतालको बाँध भत्किएको अनुसन्धानले देखाएको थियो । त्यसपछि आएको आकस्मिक बाढीबारे हामीले यसअघि राम्रोसँग रिपोर्ट गरिसकेका छौं । खोटाङका सुङ्देल र दिप्सुङमा ०५९ असारमा गएको विशाल पहिरो अर्को केस स्टडी हो । ०७२ को भुइँचालो त्यस्तै अर्को केस स्टडी हो ।
रसुवा, गोरखाको हिमाली आँधी तथा पहिरोको संकट, अझ त्यसअघि मेलम्चीको पहिरो थुनिएर ताल बनेको र जोखिम सिर्जना भएको लगायत घटनालाई सहकर्मी साथीहरूसँगै आफूले पनि देखेर आएको, रिपोर्टिङ गरेको आधारमा म यो एस्प्रेसो तयार पार्दैछु ।
अब यी घटनाबाट के पाठ सिक्ने ?
नम्बर एक– अब हामीले बस्ती बसाल्ने र त्यसप्रतिको भावनात्मकतालाई गम्भीर पुनर्विचार गर्नुपर्यो । हामी आदिवासी संस्कृतिका मानिसहरु, अनि गैरआदिवासीहरूसमेतलाई आफ्नो घरजग्गा, जमिन, चौपाया, रुखबिरुवा, पानीपँधेरो सबैथोकको माया लाग्छ । तर के गर्नु ! यो देशको भूबनोटले हामीलाई जहाँतहीँ घर बनाउँदा काल निम्तिन सक्छ, कुनै पनि बेला भन्ने सिकाउँछ । आउनुस्, यो पाठ राम्रोसँग पढौं र सिकौं ।
किनभने प्रकृतिले शिक्षा त दिन्छ, तर हामीले सिक्ने बेला ढिलो भइसकेको हुन सक्छ । हामीसँग जेजति जायजेथा सम्पत्ति छ, त्यसकै गच्छे अनुसारका घर बनाउँ । वा जे गरौं, तर आफू र शाखा सन्तानको सुरक्षा पहिलो हो, यो नबिर्सौं । अब अप्ठेरो ठाउँमा घर छन् भने सरिहालौं ।
नम्बर दुई– स्कुल, अस्पताल कस्ता ठाउँमा छन् हेरौं । गोरखाको बाढीका क्रममा कति क्षति भएको छ स्कुलहरुमा, अझै पूरा विवरण आउन बाँकी छ, तर रसुवा बाढीमा बगेका स्कुलबारे त अनलाइनखबरले नै गम्भीर रिपोर्टहरु छापिसकेको छ । धेरैवटा स्कुल बगेका छन्, धन्न केही शिक्षकहरुको खबरदारीले गर्दा कति विद्यार्थी बाँच्न सके । तर कति त अझै हराइरहेका छन् । रसुवा बाढीको क्षति त ओहो, कति, कति । समय बित्दैजाँदा सरकारमात्रै होइन, जनताले समेत पाठ बिर्सन सक्छन् । अब बच्चा पढ्ने स्कुल कतिको सुरक्षित ठाउँमा छ, बाढीको जोखिममा छ ? भुकम्प प्रतिरोधी भवन छन् ? पहिरो आउन सक्छ ? कि पुरा सुरक्षित छ ? यो त अब हामीले हेर्नै पर्यो ।
त्यस्तै अस्पताल पनि । अस्पतालमा कोही पनि सन्चो भएर जाँदैन । बिरामी अशक्त भएका बेला अचानक भाग्नुपर्यो भने कसरी भाग्ने ? सकिँदैन । त्यसैले अस्पताल बनाउँदादेखि चलाउँदासम्मको सुरक्षालाई निर्माताहरूले त हेर्नैपर्यो, हामी जागरुक नागरिकले पनि याद गरौं ।

नम्बर तीन– हाइड्रोपावरदेखि सबै विकास पूर्वाधारको सुरक्षा जोखिम आकलन गरौं । हिजो गोरखा बाढीमा पनि, अनि डेढ महिनाअघि रसुवा बाढीमा पनि – सबैभन्दा बढ्ता क्षति भोग्नेमध्ये जलविद्युत परियोजनाहरू पनि छन् । हिजै पनि चुम भ्याली हुँदै तल झर्दा गोरखाको चुमनुब्री गाउँपालिका सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प पनि बाढीले बगाएको देख्न सकिन्थ्यो । हरियो छाना भएको आयोजनाको शिविर बाढीले बगाएको दृश्य हेर्दा बुढीगण्डकीको क्षति अनुमान गर्न सकिन्थ्यो । त्यस्तै १४।१५ मेगावाटको दोभानखोला जलविद्युत आयोजनाले बनाएको बेलिब्रिज पनि बाढीले बगायो ।
उसो त पूर्वसूचनाका लागि बिहानीको समय अनि बाढीको प्रकृतिका कारण पनि सहज भएको स्थानीय जनप्रतिनिधिहरूले त बताए । अनि बाढी आउने क्रममा केही समय खोलामै थुनिएको मौका छोपेर धेरैजनालाई जोगाउन सकिएको उनीहरूको भनाई थियो । तर त्यो त संयोगको कुरा हो । राति बाढी आएको भए के हुन्थ्यो ? त्यसैले हाइड्रो पनि बनाउँ । अरु पूर्वाधार पनि बनाउँ । तर जोखिम कम भन्दा कम हुनेगरी पूर्वाधार नबनाए हामीलाई नै गाहो हुन्छ । लगानीकर्ताहरू पनि विस्तारै यहाँ आउनै डराउन सक्छन् ।
नम्बर चार– पुनर्निर्माणमा हतारो नगरौं । हामी त विपद् गइराख्ने देशका मान्छे । हामीलाई कसरी ढलियो भन्दा पनि कति चाँडो धुलो टक्टक्याउँदै उठ्न सकियो भन्ने साहस र उत्प्रेरणाका कथाले छिटो छुन्छ । यो सही पनि हो । नेपालीहरूलाई संसारकै प्रतिरोधी क्षमता उच्च भएमध्येका जाति भन्ने गरिँदो रहेछ, मैले बाहिरतिर सुनेको । सायद यो सही पनि हो । यसमा हामीले गर्व गरे पनि हुन्छ ।
तर पुननिर्माण गर्ने हतारोमा पर्दा फेरि पनि हामी चाहे रसुवागढीतिरको जस्तो, चाहे चुम भ्यालीतिर वा जगत गाउँतिरको जस्तो सिकाईमा पर्न सक्छौं । त्यो भनेको के हो त ? त्यो के हो भने, जहाँ सर्वाधिक बिगार भएको छ, त्यहाँ त्यसैगरी पुनर्निर्माण गरिहाल्नुपर्छ भन्ने होइन । पुननिर्माणका लागि हामी केही समय लिन सक्छौं । हतार नगरौं । सरकार र तीन तहका सरकारले पनि हतारो नगरुन् । पहिले पनि सही अध्ययन गरौं र निर्णयमा पुगौं ।
पुरानै ठाउँमा जस्ताको तस्तै संरचना बनाउनुलाई अब पुननिर्माण मान्न सकिँदैन । अस्थिर खालका नदी किनार, पहिरोको उच्च जोखिम भएका जमिन र गेग्रान थुप्रिने क्षेत्रमा पुरानै ढंगबाट भौतिक पूर्वाधार पुनर्निर्माण गर्दा फेरि कुनै बेला अर्को विपद् आएर फेरि अझै भयानक क्षति गराइदिन सक्छ । अब त्यसअघि जोखिम नक्साङ्कन गराउँ । वैज्ञानिक भूगर्भीय अध्ययन सबै हेरेर मात्र पुनर्निर्माण गर्नुपर्ने हुन्छ । नत्र अर्को कुनै नदी वा खोलामा फेरि पहिरो खस्छ । नदी थुनिन्छ । बाढी आउँछ र फेरि हामी गोरखा वा रसुवाको नियति भोग्न बाध्य हुनेछौं । पाठ सिकौं ।

नम्बर पाँच : राज्यको केही प्राथमिक दायित्व छ । सुरक्षित पुनर्वास, जीविकोपार्जनको विकल्प र समुदायको सहमति कसरी लिने त ? विकल्प सुझाउन सजिलो छ, तर साँच्चै विकल्प बन्न चाहिँ कठिन । यसका लागि सबैभन्दा ठूलो भूमिका छ स्थानीय सरकारको । केन्द्र सरकारले सबै लिड गर्नुपर्छ भन्ने भ्रम नपालौं ।
हामीले बेलिब्रिज होस् या झोलुंगे पुल, कसरी बनाउने भन्नेबारे नेपालको आफ्नै भूबनोटका आधारमा मोडल तयार पारौं । जुनसुकै प्रकृतिको जोखिम र विपदका लागि पनि एकीकृत सूचना प्रणाली तयार पारौं, जो अझै ढिलो भइरहेको छ । बर्खाका कारण मात्रै होइन, सुक्खा पहिरोका कारण जुन सुकै बेला बाढी आउन सक्ने भएकाले हामीसँग के छ त पूर्वतयारी, अब ढिलो नगरौं । यी काम गर्न राज्य चलाउनेको दिमाग चाहिन्छ, सिलिन्डर बोकेर कुदेरमात्रै हुँदैन ।
गृहमन्त्री सुदन गुरुङ रसुवा बाढीका बेला त्रिशुली थ्री ए हाइड्रो प्रोजेक्टमा सिलिन्डर बोकेर कुदेको, उनका पछिपछि सैनिक जवानले हात हल्लाउँदै हिँडेको घटना हाम्रो मनमा अझै होला । संयोगवश त्यस दिन म त्यही ठाउँको अवलोकन र रिपोर्टिङमा थिएँ । हिजो चाहिँ उनी आफ्नै निर्वाचन क्षेत्र भएका ठाउँतिर आफू नगएर बरु दुई बोरा चामल भए पनि पठाइदिन्छु भन्दै थिए । शिक्षा भनेको जसरी लिँदा पनि हुन्छ । राज्यको सीमित उर्जा र शक्ति केमा लगाउने, केमा चाहिँ विज्ञ टोली र स्थानीयलाई छाडिदिने भन्ने प्राथमिकता छुट्याउनु निकै महत्वपूर्ण काम हो । यतिबेला त्यस्तै विकल्प चाहिएको छ राज्यबाट ।
त्यसैले अब राज्यले नागरिकको सुरक्षित पुनर्वास, जीविकोपार्जनको विकल्प र समुदायको सहमति कसरी लिन्छ– परीक्षामा छ सरकार पनि । जनतालाई घर सार मात्रै भनेर हुँदैन, कहाँ सार्ने, त्यहाँ गरिखाने स्थिति के छ, त्यो गर्नका लागि समुदायलाई मनाउनै पर्छ, तर कसरी, करबलले कि दोहोरो संवादले ? यो सबै काम सरकारले गर्नुपर्छ । यत्रो कर्मचारीतन्त्र छ, त्यसको विश्वास लिएर, स्थानीय प्रतिनिधि , कुन पार्टीमा छन्, वास्ता गरेर होइन । उनीहरुसँग राज्यका साझा दायित्व मिलेर पुरा गर्नुपर्छ । सानोतिनो कुरा वा आउने चुनावको गणित मनमा राखेर यस्ता कार्यभार पूरा गर्न सकिँदैन ।
आइन्स्टाइनले भनेका छन्, पढेको बिर्सेपछि जे बाँकी छ, त्यो शिक्षा हो । उसोभए सरकार, विकास साझेदारहरु, पूर्वाधार निर्माता कम्पनीहरु, जनप्रतिनिधिहरु, राजनीतिक पार्टीहरु, हामी पत्रकारहरु, वा जोकोही नागरिक तप्काहरु– एउटै आग्रह छ । यो विपदले हामीलाई ठूलै शिक्षा दिलाएको छ । यो शिक्षा लिन ढिलो नगरौं ।
प्रतिक्रिया 4