२७ असोज, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
गोलबजार नगरपालिका–२ को आयोजनामा तथा नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालित शिविरबाट १९० जनाले स्वास्थ्य सेवा लिएका छन्।
जनताको पैसा जनताकै हकहित र सेवामा खर्च गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, फिजियोथेरापी र जनरल मेडिसिनलगायतका सेवा प्रदान गरिएको थियो। शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श दिनुका साथै बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
आर्थिक अभावका कारण लामो समयदेखि उपचार गराउन नसकेका स्थानीय नागरिकले शिविरबाट राहत मिलेको बताएका छन्। उनीहरूले निजी अस्पतालमा उपचार गराउन आर्थिक समस्या हुने गरेको उल्लेख गर्दै यस्ता शिविरलाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
स्थानीय पवन सदायले आर्थिक अभावका कारण करिब तीन–चार वर्षदेखि ढाड, कम्मर, घाँटी र खुट्टा दुख्ने समस्याको उपचार गराउन नसकेको बताइन्।
निजी अस्पतालमा उपचार गराउन धेरै पैसा लाग्ने भएकाले आफूले स्वास्थ्य समस्या सहेरै बस्नुपरेको उनको भनाइ छ। ‘गरिबीका कारण तीन-चार वर्षदेखि स्वास्थ्य समस्याको उपचार गराउन सकेकी थिइनँ। निजी अस्पतालमा जाँदा धेरै पैसा माग्छन्। आफूसँग पैसा छैन, कसरी उपचार गराउनु? सामान्य स्वास्थ्य शिविरले मात्रै पुग्दैन, ठूला शिविर ल्याएर जनतालाई सेवा दिनुपर्छ’, उनले भनिन्।
त्यस्तै, कर्जन्हा नगरपालिकाकी फूलकुमारी सदायले पनि आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेको अवस्थामा निःशुल्क स्वास्थ्य शिविरबाट राहत मिलेको बताइन्। शिविरमा स्वास्थ्य परीक्षण गराउनुका साथै औषधिसमेत पाउँदा आफूलाई सहज भएको उनले सुनाइन्। ‘पैसा नभएर उपचार गराउन सकिरहेकी थिइनँ। अब औषधि खाएर भए पनि केही राहत मिल्ने आशा छ। यस्ता शिविर समय–समयमा सञ्चालन भए हामीजस्ता गरिब परिवारलाई ठूलो राहत मिल्नेछ’, उनले भनिन्।
अर्की स्थानीय जितनी पासमानले पनि आर्थिक अभावका कारण तीन वर्षदेखि छाती र खुट्टा दुख्ने समस्याको उपचार गराउन नसकेको बताइन्। शिविरमा निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा केही राहत महसुस गरेको उनले सुनाइन्। ‘आफ्नो कोही छैन, कसले पैसा दिन्छ? कसरी उपचार गराउनु? खानसमेत मागेर खानुपर्छ’, उनले दुःखेसो पोखिन्।
स्वास्थ्यकर्मी ध्रुव पासवानका अनुसार शिविरमा ढाड दुख्ने, कम्मर दुख्ने तथा अन्य स्वास्थ्य समस्या भएका बिरामीको परीक्षण र उपचार गरिएको थियो। बालबालिकासहित विभिन्न उमेर समूहका नागरिकलाई आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको उनले जानकारी दिए।
गोलबजार नगरपालिका–२ का वडाध्यक्ष सुकदेव सिंहले गरिब, अति विपन्न तथा दलित समुदायका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। ‘हाम्रो मुख्य उद्देश्य गरिब, अति विपन्न तथा दलित परिवारलाई स्वास्थ्य सेवामार्फत राहत पुर्याउनु हो। वडा कार्यालयले प्रत्येक वर्ष जनताका लागि केही न केही स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। जनताको पैसा जनताकै सेवामा खर्च गर्ने उद्देश्यले यो शिविर आयोजना गरिएको हो’, वडाध्यक्ष सिंहले भने।
शिविरमा हाडजोर्नी विशेषज्ञ डा. विनोद सिंह, डा. आनन्द साहलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए।
आर्थिक अभावका कारण सामान्य स्वास्थ्य परीक्षणसमेत गराउन नसक्ने नागरिकका लागि स्थानीयस्तरमै सञ्चालन गरिने यस्ता निःशुल्क स्वास्थ्य शिविर उपयोगी हुने देखिन्छ। स्वास्थ्य सेवामा पहुँच कमजोर भएका समुदायलाई लक्षित गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके विपन्न तथा दलित परिवारलाई उपचारमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4