News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक भएको छ र यो मङ्सिर ४ गतेबाट प्रदर्शनमा आउँदै छ।
काठमाडौं । नेपाली फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म आगामी मङ्सिर ४ गतेबाट प्रदर्शनमा आउँदै छ।
दिग्गज अभिनेता सुनिल थापाको अभिनय रहेको यो अन्तिम फिल्म हो । नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस ‘सर्भाइभल’ कथामा आधारित छ ।
फिल्ममा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य अभिनय रहेको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक धिराज राजवंशीले फिल्मलाई निकै फरक हिसाबले निर्माण गरिएको बताए । ‘यसमा गीत छैन, तर यसको ब्याकग्राउन्ड म्युजिक एकदमै राम्रो छ, जसले दर्शकलाई फिल्ममा तान्छ’ उनले भने ।
फिल्म भारत, जापान र अस्ट्रेलिया लगायतका देशमा नेपाली भाषामै त्यहाँको सबटाइटलसहित प्रदर्शन हुनेछ । राजवंशीका अनुसार भारतको प्रतिष्ठित वितरक ‘एए फिल्म्स’ ले डबिङको विकल्प दिए पनि मौलिकता मर्न नदिन त्यसलाई अस्वीकार गरिएको हो ।
फिल्मकी मुख्य अभिनेत्री परीक्षा लिम्बुले यो प्रोजेक्ट आफ्ना अघिल्ला फिल्मभन्दा नितान्त फरक रहेको बताइन् । ‘मेरा पहिलेका फिल्महरू सोसल ड्रामा, फेमिली ड्रामा र लभ स्टोरी थिए’ उनले भनिन् ‘यसमा चाहिँ एउटा मानिसको जीवनबाट सबै कुरा खोसिँदा के बाँकी रहन्छ भन्ने ‘सर्भाइभल स्टोरी’ छ ।’
अभिनेता कर्मा शाक्यले नयाँ निर्देशक र नयाँ आइडियामा काम गर्न आफू सधैँ उत्साहित हुने बताए । ‘यो फिल्मको स्क्रिप्ट नियमित बन्ने नेपाली फिल्मभन्दा धेरै फरक छ’ शाक्यले भने, ‘अब महिलालाई मुख्य पात्र बनाइएका फिल्मको पनि बजार छ भनेर बुझ्नुभएकोमा निर्देशकलाई धन्यवाद दिन चाहन्छु।’
‘हिमालयन गोल्ड’ सम्पूर्ण भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने पहिलो नेपाली फिल्म बनेको छ । मुम्बईमा भारतका शीर्ष वितरक तथा ‘एए फिल्म्स’का संस्थापक अनिल थडानीसँग यसको औपचारिक सम्झौता भइसकेको छ । ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफ: च्याप्टर २’, र ‘पुष्पा’ जस्ता ब्लकबस्टर फिल्म वितरण गरेको यो कम्पनीले नेपाली फिल्मलाई भारतभर पुर्याउन लागेको हो ।
प्रतिक्रिया 4