News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ १० को बाढीले धादिङ, नुवाकोट हुँदै रसुवा जाने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको कोल्पुखोला पुलका नयाँ र पुराना दुवै मोटरेबल पुलमा असर गरेको छ।
- संघीय सरकारको ठेक्काअन्तर्गत जलप नेपाल प्रालिको टिमले यातायात नरोकी ९०० टनको नयाँ पुललाई धकेलेर पुरानै स्थानमा फर्काइरहेको छ।
- मेकानिकल इन्जिनियर अब्दुल खालिदले दसैँअघि नै नयाँ पुलको मर्मत सकिने र बाढीले महेश खोलाको पुल जोगिएको बताएका छन्।
२७ असोज, काठमाडौं । भदौ १० को बाढीले गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत धादिङ, नुवाकोट हुँदै रसुवा जाने मुख्य सडकमा रहेको कोल्पुखोलाका नयाँ र पुराना दुवै मोटरेबल पुलमा असर गर्यो। दुवै नियमित सञ्चालनमा थिए। यस पूलले नुवाकोट बेलकोटगढी नगरपालिका- ५ र धादिङ गल्छी गाउँपालिका- ८ लाई जोड्छ।
कोल्पुखोला त्रिशूलीसँग जोडिएको ठाडो खोला हो। त्रिशूली नदी किनारनजिकै छ यो सडकखण्ड र पुल। दुईमध्ये पुरानो र अलि सानो पुल त्रिशूली नदीतर्फ ढल्केको छ। बाढीको छालले नयाँ पुलको जिप (पुलको पिलरमाथि दुवै किनारमा बनाइएको सुरक्षा पर्खाल, जसले पुलको मुख्य भागलाई दायाँबायाँ चिप्लिन वा खस्न दिँदैन) र ढलान छुट्याइदिएको छ।
नियमित सडक सञ्चालनका लागि कम्तीमा नयाँ र ठूलो पुललाई तत्कालै पूर्वअवस्थामा फर्काउन आवश्यक पर्थ्यो। यो नयाँ पुल ११ मिटर चौडाइ र ४१ मिटर स्पानको ‘प्रिस्ट्रेस्ड कङ्क्रिट गर्डर ब्रिज’ हो। यातायात सञ्चालनमा रोक नलगाइकनै झन्डै ९०० टनको सो पुललाई अहिले धकेलेर पुरानै अवस्थामा फर्काउने काम भइरहेको छ।
संघीय सरकारबाट त्यस पुलको मर्मतको ठेक्का चितवनको भरतपुरस्थित जलप नेपाल प्रालिले पाएको छ । असोज ५ यता कोल्पुको ठाउँ बदलेको सो पुललाई ठेलेर पुरानै ठाउँमा ल्याउने कामको खटिएको छ मेकानिकल इन्जिनियर अब्दुल खालिद नेतृत्वको टिम ।
कपिलवस्तुको तौलिहवाका खालिदले भने,’ त्रिशूलीमा भदौ १० मा उच्च गतिको बाढी आउँदा पानी यो खोलामा चढेपछि केही समय उल्टो बगेर तीन किलोमिटर माथिसम्म गयो। जब पानी/खोला पुरानै दिशामा फर्कन थाल्यो, फर्केको पानीले पुललाई अलिकति माथि उचाल्यो। त्यसो हुँदा ५०० एमएम डाउनस्ट्रिम (तलतर्फ) खोला सर्यो। हरेक पुलको चार कुनामा लेटरल मुभमेन्टलाई लक गर्ने ‘स्टपर’ हुन्छ। त्यो स्टपरले पुललाई त्यसभन्दा अघि सर्न दिएन। अब पूरै पुलको भार स्टपरमाथि गएर अडियो। पुललाई ‘लेभल’मा पनि ल्याइसक्यौँ। अब पुललाई माथितिर उचालिरहेका छौँ।’
खालिदका अनुसार बाढीको क्षणमा कोल्पुखोलाले एक प्रकारले रिजर्भ्वायरको काम पनि गर्यो। यस खोलामा धेरै पानी जम्मा हुँदा पुललाई क्षति त पुर्यायो, तर यसो गरेर यसले अगाडि रहेको महेश खोलाको पुल जोगायो। दसैँअघि नै कोल्पुको नयाँ पुलको मर्मत सकिने खालिद बताउँछन्। अहिलेको कोल्पु टिममा उनीसहित १० जना नेपाली प्राविधिकले काम गर्दै छन्।
प्रतिक्रिया 4