News Summary
Generated by OK AI. Editorially reviewed.- अनहद मिश्र निर्देशित र नसीरुद्दीन शाह अभिनीत सर्ट फिल्म ‘खिडकी’ ले १५ मिनेटमा वृद्ध अवस्थाको एक्लोपन र स्मृतिको महत्व देखाएको छ।
‘मेरो मनको झ्यालमा त अचेल कसैले चियाउँदै चियाउँदैनन्… त्यसैले यही झ्यालबाट चियाएर नै आफ्नो चित्त बुझाउँछु ।’
यो वाक्योच्चारण पश्चात् ८० वर्षका सेवानिवृत्त सुरेश (नसीरुद्दीन शाह) को ओठमा उजाड हाँसो पोतिन्छ । झ्यालको छेउमै बसेर सुरेशसँग चेस खेलिरहेको सोनु भावविभोर हुन्छ । कोठाका भित्तामा सुरेशका परिवारका अमूल्य यादहरू रूपमा कैद छन् – फ्रेमभित्र । एक्लोपनको चरम भावना न्याकिरहेको वृद्ध जिन्दगीलाई सजीवताले भरिदिने कुरा भन्नु त झ्याल मात्र त छ ।
सुरेशको एउटा छोरा छ, जो उनीभन्दा धेरै टाढा आफ्नै संसारमा व्यस्त छ । उसको बाबुसँग विरलै मात्र भेट हुने गर्छ । सुरेशको दैनिक जीवन एउटा निश्चित र पट्यारलाग्दो दिनचर्यामा बाँधिएको छ । तर, यो पट्यारलाग्दो जीवनलाई एउटा ऊर्जा र सहारा दिने तत्व छ – त्यो हो उनको कोठाको ठूलो झ्याल ।
त्यसैले त उनी हरदम झ्यालको छेउमा उभिएर गल्लीका बालक्रीडा, मानिसहरूको आवतजावत र यावत् चपलताहरू स्थिरतापूर्वक नियालिरहेका हुन्छन् । आफूलाई विधुर तुल्याएर गएकी निलुलाई हरबखत सम्झिरहन्छन् । निलुको बुट्टेदार सललाई आफ्नो समीपमा राखिरहन्छन् – निलुकै उपस्थितिको झिनो आभासका लागि ।
निर्देशक अनहद मिश्रद्वारा निर्देशित र नसीरुद्दीन शाह अभिनीत सर्ट फिल्म ‘खिडकी’ एउटा दृश्य–काव्य सरह छ । जसले आधुनिक समाजको सबैभन्दा मौन महामारी ‘वृद्ध अवस्थाको एक्लोपन’ लाई १५ मिनेटको छोटो क्यानभासमा मार्मिक ढंगले उतारेको छ ।
सानो कोठाभित्र खुम्चँदै आफ्नो स्मृतिलाई अठ्याएर बाँचेको वृद्ध अस्तित्वको कथालाई झ्यालको माध्यमबाट प्रस्तुत गरिएको छ ।
कथामा ट्वीस्ट तब आउँछ, जब घरबेटीले उनलाई त्यो पुरानो फ्ल्याट खाली गर्न र अर्को ठाउँमा सर्न दबाब दिन्छन् । तर सुरेश कसरी छाड्न सक्छन् त्यो फ्ल्याट – जुन उनको दशकौंदेखिको थातथलो हो, जहाँ दिवङ्गत श्रीमतीका स्मृतिहरू सल्बलाइरहेका छन् । सबैभन्दा ठुलो कुरा त उनले झ्याल छाड्नुपर्ने हुन्छ ।
यसपश्चात् सुरेशको मानसिक र भावनात्मक द्वन्द्व नै यस चलचित्रको मूल कथावस्तु हो।
000
‘खिडकी’ ले सतही रूपमा एउटा वृद्धको कथा भने पनि यसको भित्री तहमा सामाजिक प्रश्नहरू लुकेका छन् ।
आधुनिक समाजमा जब मानिस उत्पादनशील रहँदैन, तब समाज र परिवारले उसलाई कसरी किनारा लगाउँदै जान्छ भन्ने कटु सत्यलाई फिल्मले देखाएको छ। सुरेशको एक्लोपनलाई कोठाभित्रको उकुसमुकुस्याउने सन्नाटानै पर्याय जस्तो देखिन्छ । निर्देशकले सुरेशको एक्लोपनलाई उनको मौनता, उनको सुस्त हिँडाइ र उनका कापिरहेका हातहरूमार्फत व्यक्त गरेका छन्।
त्यस्तै एउटा वृद्ध मानिस र युवाका लागि स्मृतिको महत्व कति फरक हुन जान्छ भन्ने कुरालाई पनि फिल्मले देखाएको छ । सुरेशका लागि घर मूलत: स्मृतिहरूको सङ्ग्रहालय हो । सुरेशका लागि त्यो कोठा र विशेष गरी त्यो झ्याल उनको पहिचानको हिस्सा बनिसकेको छ । उनलाई नयाँ, आधुनिक र सायद अझ राम्रो कोठामा सर्न अफर गरिन्छ, तर उनी मान्दैनन् ।

फिल्मको शीर्षक ‘खिडकी’ आफैंमा एउटा सशक्त प्रतीक हो । सुरेशका लागि यो झ्याल जीवनको गतिशीलताको प्रतीक हो । उनी आफैं स्थिर छन् – मानौ केवल आफ्नो मरण पर्खिनलाई मात्र बाचेका छन् । तर झ्याल बाहिरको संसार चलायमान छ । उनी बाहिरी संसारको त्यो गतिशीलतालाई हेरेर आफू पनि अझै जीवित रहेको महसुस गर्छन् । जब उनलाई त्यो झ्यालबाट विमुख गराउने प्रयास गरिन्छ, त्यो उनका लागि आफ्नो जीवनको अन्तिम धोको खोसिएसरह हुन्छ।
यस फिल्मको सबैभन्दा सुदृढ पक्ष भनेकै नसीरुद्दीन शाहको अभिनय हो । भारतीय सिनेमाका यी दिग्गज अभिनेताले सुरेशको भूमिकालाई आत्मसात् नै गरेका छन्। १५ मिनेटको चलचित्रमा शाहका संवादहरू एकदमै कम छन्, तर उनको आँखा, उनको अनुहारका रेखाहरू र उनको शारीरिक लवज शब्दहरूको अघि ‘लोहारको एक चोट’ बनेका छन् ।
फिल्ममा थोरै संवाद भएकाले सिङ्गो कथा भन्नका लागि क्यामेराको फ्रेम, प्रकाश र कम्पोजिसनलाई मुख्य हतियार बनाइएको छ । पात्रको एक्लोपन र स्थिर जीवनलाई देखाउन स्टाटिक सट्स र क्लोज-अप को धेरै प्रयोग गरिएको छ । घरभित्रको वातावरणमा ‘लो-की लाईटिङ’ को प्रयोग गरिएको छ, जसले पात्र सुरेशको जीवनको उदासीलाई झल्काउँछ ।

पोस्ट-प्रोडक्सनको समयमा गरिएको कलर ग्रेडिङले फिल्मको ‘मूड’ तय गरेको छ । फिल्ममा धेरै चम्किला वा उज्यालो रङ्गहरू छैनन् । रङहरूको संतृप्तिलाई कम राखिएको छ । घरभित्रको दृश्यमा नीलो र फुस्रोको बढी प्रभाव छ, जसले एक्लोपन र वृद्धत्वलाई संकेत गर्छ ।
उमेर ढल्केका पात्रको अनुहारका रेखा र चाउरीपनलाई क्यामेराको कन्ट्रास्टले स्पष्ट रूपमा हाइलाइट गरेको छ । जसले गर्दा बिनाकुनै संवाद पनि नसीरुद्दीन शाहको अनुहारको भावले दर्शकको मन छुन्छ । बाहिरी संसार र भित्री कोठाको रङमा भिन्नता ल्याएर दुई फरक संसारको दूरी देखाइएको छ।
प्रतिक्रिया 4