+

दसैंको समयमा मिर्गौलाका बिरामीले ख्याल गर्नैपर्ने यी कुरा

२०८३ कात्तिक  ३ गते १३:०५ २०८३ कात्तिक ३ गते १३:०५
Shares
दसैंको समयमा मिर्गौलाका बिरामीले ख्याल गर्नैपर्ने यी कुरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिर्गौलाका बिरामीलाई दसैंमा नुन, पानी, प्रोटिन र औषधि चिकित्सकको सल्लाहअनुसार मात्र व्यवस्थापन गर्न सुझाइएको छ।
  • डायलाइसिस गराइरहेका बिरामीले समय तालिका नछोडी नियमित उपचार गर्न र यात्रा गर्दा गन्तव्यमा सेवा छ कि छैन पहिले नै यकीन गर्न भनिएको छ।
  • प्रत्यारोपण गरेका बिरामीलाई भीडभाडबाट टाढा रहन, औषधि नियमित खान र केही फलफूल नखान सुझाव दिइएको छ।

दसैं भनेपछि परिवारसँगको भेटघाट, टीका, जमरा, मीठोमसिनो खानेकुरा र रमाइलो सम्झिन्छौँ । मिर्गौलाको समस्या भएका बिरामीले पनि अरूसँगै बसेर चाडपर्वको आनन्द लिन सक्छन् । तर खानपान, पानीको मात्रा, औषधि र नियमित उपचारमा भने अलि बढी सजग हुनुपर्छ।

मिर्गौलाका सबै बिरामीका लागि एउटै नियम हुँदैन । कसैलाई पानी र पोटासियम सीमित गर्नुपर्छ भने कसैलाई त्यस्तो कडा बन्देज नहुन सक्छ । त्यसैले, अरू कसैले के खाए वा पिए भन्ने कुरामा ध्यान दिनुभन्दा आफ्नो स्वास्थ्यको अवस्था र चिकित्सकको व्यक्तिगत सल्लाहलाई मात्र प्राथमिकता दिनुपर्छ ।

नुन कम खाऔँ

दसैंमा मासुका परिकार, अचार, चिप्स, पापड र अन्य नुनिला खानेकुरा बढी खाने चलन हुन्छ । यस्ता खानेकुराले रक्तचाप बढाउने र शरीरमा पानी जमाउने गर्छ । स्वादका लागि नुन थप्नुको सट्टा कागती, अदुवा, लसुन, जिरा र धनियाँ प्रयोग गर्नुहोस् । बजारमा पाइने कम-सोडियम नुनमा पोटासियम हुन सक्ने भएकाले चिकित्सकको सल्लाहबिना प्रयोग नगर्नुहोस् ।

गुणस्तरीय प्रोटिनको छनोट

दसैंमा मासु धेरै खाने परम्परा छ । मिर्गौलाका बिरामीले खसी, राँगो वा सुँगुरजस्ता जनावरको मासु र बजारमा पाइने प्रशोधित मासु सकेसम्म नखानु नै राम्रो हुन्छ।

तर डायलाइसिसको क्रममा प्रोटिन क्षय हुने हुँदा यस्ता बिरामीलाई सामान्य व्यक्तिको तुलनामा केही बढी प्रोटिन आवश्यक पर्छ । त्यसैले डायलाइसिस गराइरहेका बिरामीले रातो मासुको सट्टा उच्च गुणस्तरका सुरक्षित प्रोटिनहरू जस्तै: छाला नभएको कुखुराको मासु, अण्डाको सेतो भाग वा माछा मात्रै खान सक्छन् ।

डायलाइसिस नगराइरहेका बिरामीले भने प्रोटिनको मात्रा घटाउनुपर्ने हुन सक्छ । यसका लागि चिकित्सक अथवा आहारविद्सँग अनिवार्य सल्लाह लिनुपर्छ ।

फलफूल र तरकारी बुझेर मात्र खाने

केरा, सुन्तला, आलु र हरियो सागसब्जीमा पोटासियम पाइन्छ । रगतमा पोटासियम बढेको छ वा चिकित्सकले सीमित गर्न भनेका छन् भने यी खानेकुरामा सावधानी अपनाउनुपर्छ । सबैले सबै फलफूल छोड्नुपर्छ भन्ने छैन । फस्फोरस बढेका बिरामीले कोल्ड ड्रिंक्स र प्रशोधित खानेकुराबाट टाढै रहनुपर्छ।

मिठाई सीमित मात्रै खाने

सेलरोटी, मिठाई वा खीर चाडपर्वका मिठा परिकार हुन् । तर मधुमेह भएका बिरामीले यी खानेकुरा सीमित मात्रामा, थोरै-थोरै खानुपर्छ । चाडपर्व छ भन्दैमा इन्सुलिन वा मधुमेहको औषधि आफूखुसी घटाउने, बढाउने वा बन्द गर्ने काम पटक्कै गर्नु हुँदैन ।

पानीको मात्रामा सन्तुलन

सबैले पानी कम वा धेरै पिउनुपर्छ भन्ने हुँदैन । पिसाब राम्रोसँग भइरहेको छ र शरीर सुन्निएको छैन भने पानी धेरै घटाउनुपर्दैन । तर पिसाब कम हुने, शरीर सुन्निने, वा डायलाइसिस गराइरहेका बिरामीले पानी सीमित गर्नुपर्छ । पानीको हिसाब गर्दा सादा पानी मात्र होइन, चिया, दूध, जुस, सुप र झोलिलो पदार्थ पनि जोड्नुपर्छ ।

मदिरा र धूम्रपान पूर्ण निषेध

चाडपर्वमा रक्सी, जाँड र बियर पिउने चलन भए पनि मिर्गौलाका बिरामीले जाँड, रक्सी र धूम्रपान गर्नै हुँदैन । यसले रक्तचाप, शरीरको तरल सन्तुलन र औषधिको असरमा गम्भीर असर पार्छ ।

बान्ता वा पखाला लागेमा

खानपान बिग्रिएर बान्ता वा पखाला भएमा शरीरमा पानीको कमी हुन सक्छ । लगातार बान्ता भएमा वा पिसाब घटेमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुहोस् । डायलाइसिस गराइरहेका बिरामीले सोही दिन अस्पताल वा केन्द्रमा सम्पर्क गरिहाल्नुपर्छ। चिकित्सकको सल्लाहबिना रक्तचाप वा मधुमेहका औषधि आफैँ परिवर्तन गर्नुहुँदैन ।

प्रत्यारोपण गरेका बिरामीले ध्यान दिनुपर्ने कुरा

भीडभाडबाट टाढा रहनुहोस्

इम्युनोसप्रेसेन्ट औषधि खाइरहेका बिरामीमा सङ्क्रमणको जोखिम बढी हुने भएकाले चाडपर्वको मेला वा भीडभाडमा जानु हुँदैन।

औषधि नियमित खाने

ट्याक्रोलिमस, माइकोफेनोलेट र कोर्टिकोस्टेरइड जस्ता औषधिहरू खाइरहेकका बिरामीले आफूखुसी औषधि नरोक्ने र औषधि खाने समय आफूखुसी नबदल्ने ।

केही फलफूलहरू नखाने

भोगटे , सुन्तला र अनारजस्ता फलफूलहरू सकेसम्म प्रयोग नगर्नुहोस् । यस्ता फलफूलले रगतमा औषधिको मात्रालाई एक्कासी तलमाथि गराई जटिलता ल्याउन सक्छन्।

सफा र पाकेको खाना मात्र खाने

रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले ताजा, सफा र राम्ररी पाकेको खाना मात्र खानुहोस् । काँचो वा आधा पाकेको मासु र खुला राखिएका खानेकुराबाट जोखिने ।

डायलाइसिस गराइरहेका बिरामीले ध्यान दिनुपर्ने कुराहरू:

डायलाइसिस गराइरहेका बिरामीले समय तालिका अनुसार नै डायलाइसिस गराउनुपर्छ । यात्रा वा चाडपर्वको नाममा समय आफैँ सार्ने वा डायलासिस छुटाउने गर्नुहुँदैन ।

यदि चाडपर्वमा यात्रा गर्दै हुनुहुन्छ भने, तपाईं जाने ठाउँ वा गन्तव्यमा डायलाइसिसको सुविधा छ, छैन पहिले नै यकीन गरी ती केन्द्रमा मिलाउनुहोस् ।

पेरिटोनियल डायलाइसिस गराइरहेका बिरामीले झोला परिवर्तन गर्दा हात राम्ररी धुने र सङ्क्रमणरहित प्रक्रिया अपनाउने कुरामा विशेष ध्यान दिनुहोस्।

तत्काल अस्पताल जानुपर्ने अवस्था

सास फेर्न गाह्रो भएमा, छाती दुखेमा, पिसाब अचानक निकै कम भएमा वा शरीर तीव्र रूपमा सुन्निएमा ढिला नगरी स्वास्थ्य संस्थामा जानुहोस् । प्रत्यारोपण गरेका बिरामीलाई ज्वरो आएमा वा फिस्टुला/क्याथेटर भएको ठाउँमा रातोपन, दुखाइ वा पीप देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ।

चाडपर्वको समयमा चिकित्सक वा अस्पतालसँग सम्पर्कमा रहने कोसिस गर्नुहोस् । आफ्नो स्वास्थ्य अवस्थाबारे परिवारका सदस्यलाई पनि जानकारी दिनुहोस्।

दसैं मिर्गौला
डा. दीपक शर्मा
लेखक
डा. दीपक शर्मा
मिर्गौला रोग विशेषज्ञ

डा. दीपक शर्माले काठमाडौं विश्वविद्यालयबाट नेफ्रोलोजी डीएम गरेका छन् । उनी हाल धुलिखेल अस्पतालमा कन्सल्टेन्ट नेफ्रोलोजिस्टका रूपमा कार्यरत छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय