+
एनपीएल २०२६ :

बंगलादेशका अलराउन्डर मोहम्मद सैफुद्दिनले पोखरा एभेन्जर्सबाट खेल्ने

२०८३ कात्तिक  ६ गते ८:३४ २०८३ कात्तिक ६ गते ८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ।
  • सैफुद्दिन पोखराले अनुबन्ध गरेको तेस्रो बंगलादेशी र पाँचौं विदेशी खेलाडी हुन्, जसले टोलीको पेस बलिङ र तल्लो क्रमको ब्याटिङ बलियो हुने अपेक्षा छ।
  • पोखराले श्रीलंकाका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक र भारतीय पूर्वक्रिकेटर इरफान पठानलाई क्रिकेट एम्बेसडर नियुक्त गरेको छ।

६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ।

सैफुद्दिन पोखराले अनुबन्ध गरेको तेस्रो बंगलादेशी खेलाडी हुन्। उनी टोलीका पाँचौं विदेशी खेलाडी पनि हुन्। पोखराले यसअघि बंगलादेशका शाकिब अल हसन र महेदी हसन तथा श्रीलंकाका धनन्जय लक्षण र चमिका करुणारत्नेलाई अनुबन्ध गरिसकेको छ।

पेस बलिङ अलराउन्डर सैफुद्दिनको आगमनसँगै पोखराको तल्लो क्रमको ब्याटिङ र पेस बलिङ विभाग थप बलियो हुने टोलीको अपेक्षा छ। नेपाली तीव्र गतिका बलर आकाश चन्दसँगै सैफुद्दिन र चामिका करुणारत्नले टोलीको पेस बलिङ सम्हाल्नेछन्।

२९ वर्षीय सैफुद्दिनले बंगलादेशका लागि ३० एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले एकदिवसीयमा ४२ र टी–२० अन्तर्राष्ट्रियमा ५७ विकेट लिएका छन्। सबैखाले टी–२० क्रिकेटमा उनले १५२ खेल खेल्दै १९३ विकेट लिएका छन्।

सैफुद्दिनले बंगलादेशको यू–१९ टोली र राष्ट्रिय टोलीबाट खेल्नुका साथै देशका पाँच फरक फ्रेन्चाइज टोलीबाट घरेलु लिग खेलेका छन्।

एनपीएलको तेस्रो संस्करणका लागि पोखराले श्रीलंकाका पूर्वस्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। टोलीले भारतीय पूर्वक्रिकेटर तथा टी–२० विश्वकप विजेता इरफान पठानलाई क्रिकेट एम्बेसडर पनि नियुक्त गरेको छ।

पोखराले यस सिजन श्रीलंकाका धनन्जय लक्षणलाई मात्र विदेशी खेलाडीमध्ये निरन्तरता दिएको छ। बाँकी चार विदेशी खेलाडी पहिलो पटक एनपीएल खेल्ने तयारीमा छन्।

टोलीले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई निरन्तरता दिएको छ। अक्सनबाट अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप अर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा आबद्ध गरेको छ।

स्थानीय प्रतिभा, राष्ट्रिय टोलीका अनुभवी खेलाडी र अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव भएका खेलाडी समेटेर पोखराले तेस्रो संस्करणका लागि टोली तयार पारेको छ। टोलीको लक्ष्य एनपीएलको पहिलो उपाधि जित्नु रहेको छ।

एनपीएल २०२६ पोखरा एभेन्जर्स मोहम्मद सैफुद्दिन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय