+
+
Shares
पौरखी प्रवासी :

मासिक १२ लाखको जागिर छाडेर नेपालीको ‘ब्रान्डिङ’ मा जुटेका मनोज

विदेश पुगेका नेपालीलाई रोजगारी, पैसा वा अवसर मात्र होइन, आफ्नो कुरा बुझ्ने, सही सूचना दिने र आवश्यक पर्दा साथ दिने मानिसको अभाव हुन्छ । मनोज मरहट्टाले सुरु गरेको दुबई नेपालिज इन्फ्लुएन्सिलय ग्रुपले विश्वभर विभिन्न पेसा तथा व्यवसायमा रहेका नेपालीलाई एउटै सञ्जालमा मात्र जोडिरहेको छैन, रोजगारी, व्यवसाय, लगानी, सिप, ज्ञान र अवसरसँग जोड्ने काम गरिरहेको छ ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ कात्तिक ८ गते ७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुबई नेपालिज इन्फ्लुएन्सियल ग्रुपले १० देशमा फैलिएको नेटवर्कमार्फत पाँच हजारभन्दा बढी नेपालीलाई एउटै सञ्जालमा जोडेको छ।
  • संस्थापक मनोज मरहट्टाले समूहलाई राजनीतिक गतिविधिबाट टाढा राखेर रोजगारी, व्यवसाय, लगानी र सिप आदानप्रदानका लागि ‘प्रोफेसनल नेटवर्क’ बनाएको बताए।
  • मरहट्टाले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोडेर पर्यटन, लगानी, हिमाली पानी, शिलाजित र अन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना सुनाए।

विदेश पुगेपछि सबैभन्दा ठूलो अभाव के हुन्छ ? रोजगारी, पैसा वा अवसर ? यीमध्ये कुनै एउटा मात्रै होइन, धेरै नेपालीका लागि विदेश पुगिसकेपछि आफ्नो कुरा बुझ्ने, सही सूचना दिने र आवश्यक पर्दा साथ दिने मानिसको अभाव पनि उत्तिकै ठूलो हुन्छ ।

दुबई पुगेका नेपालीलाई यस्तै एउटा साझा नेटवर्कमा जोड्ने सोचबाट सुरु भएको एउटा अभियान अहिले पाँच हजारभन्दा बढी नेपालीसम्म पुगेको छ । सन् २०२३ को अक्टोबरमा स्थापना भएको दुबई नेपालिज इन्फ्लुएन्सियल ग्रुप (डीएनआईजी) ले विश्वभर विभिन्न पेसा तथा व्यवसायमा रहेका नेपालीहरूलाई एउटै सञ्जालमा जोड्ने उद्देश्यले अघि बढेको छ ।

यसको उद्देश्य भने केवल नेपालीलाई एउटै डिजिटल समूहमा जोड्नु होइन, उनीहरूबीचको सम्बन्धलाई रोजगारी, व्यवसाय, लगानी, सिप, ज्ञान र अवसरसँग जोड्नु हो ।

यस अभियानका संस्थापक मनोज मरहट्टा भन्छन्, ‘विदेशमा नेपालीको ठूलो संख्या भए पनि उनीहरूबीचको व्यावसायिक र व्यावहारिक नेटवर्क कमजोर छ । तीन वर्षअघि केही साथी र आफ्नो अफिसको टिमबाट सुरु गरेको नेटवर्क अहिले १० देशमा फैलिएको छ ।’

हाल दुबईसहित, नेपाल, बेलायत, अमेरिका लगायतका १० देशमा नेटवर्क फैलिएको उनको भनाइ छ । अहिले उक्त नेटवर्कमा पाँच हजारभन्दा बढी नेपाली जोडिएका छन् । विद्यार्थी, कामदारदेखि व्यवस्थापक, व्यवसायी, बैंकका उच्च तहका कर्मचारी, कानुन व्यवसायी, अडिटर, उद्यमी र विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गरेका युवासम्म यसमा जोडिएका छन् ।

मनोजका अनुसार यो कुनै राजनीतिक संगठन होइन । बरु नेपाली जहाँ पुगे पनि उसलाई आवश्यक पर्दा सहयोग गर्नसक्ने एउटा ‘प्रोफेसनल नेटवर्क’ निर्माण गर्ने प्रयास हो ।

‘नेपालीसँग भेट्न मन लाग्थ्यो, तर सर्कल थिएन’

मनोज दुबई पुगेको १२ वर्ष भइसकेको छ । सुरुका दिनमा उनले विदेशमा रहेका नेपालीबीचको सम्बन्धलाई नजिकबाट नियाले । नेपालीहरूसँग भेटघाट हुन्थ्यो । कुराकानी हुन्थ्यो । तर ती कुराकानीमा करिअर, रोजगारी, व्यवसाय, लगानी वा सिप आदानप्रदानका विषयले पर्याप्त ठाउँ नपाएको उनको अनुभव थियो ।

उनी भन्छन्, ‘विदेशमा रहेका नेपालीबीच भेट हुँदा प्राय: राजनीति, गीत–संगीतलगायतका विषयमा कुराकानी हुने गरे पनि व्यावसायिक विषयमा छलफल गर्ने छुट्टै सर्कलको अभाव महसुस भयो ।’

त्यही अनुभवले उनलाई सोच्न बाध्य बनायो । यदि आफूलाई यस्तो नेटवर्क आवश्यक छ भने अरू नेपालीलाई पनि त आवश्यक होला । त्यसपछि केही साथी र आफ्नो कार्यालयको टिमसँग मिलेर उनले एउटा समूह सुरु गरे । त्यो समूहको सुरुवाती अवधारणामै एउटा महत्वपूर्ण नियम राखियो, राजनीतिक दलको गतिविधिलाई समूहभित्र प्रवेश नगराउने ।

‘मान्छेको व्यक्तिगत राजनीतिक धारणा हुनसक्छ, तर समूहको गतिविधि राजनीतिक हुन पाउँदैन,’ मनोजले भने । तीन वर्षअघि केही व्यक्तिबाट सुरु भएको नेटवर्क अहिले हजारौँ नेपाली जोडिने प्लेटफर्म बनेको उनको दाबी छ ।

‘जुन नेटवर्क पाउन गाह्रो हुन्छ, यहाँ सजिलै भेटिन्छ’

मनोजका अनुसार समूहको मूल अवधारणा सरल छ– एक नेपालीलाई अर्को नेपालीसँग जोड्ने । अमेरिका जान लागेको कुनै नेपालीलाई त्यहाँ रोजगारीका विषयमा जानकारी चाहियो भने अमेरिकामा रहेको सदस्यसँग जोडिन सकियोस् ।

कुनै देशमा व्यवसाय सुरु गर्न खोज्ने व्यक्तिले त्यहाँ व्यवसाय गरिरहेको नेपालीसँग कुरा गर्न सकोस् । विदेशमा पढ्न जाने विद्यार्थीले आफ्नो गन्तव्य मुलुकमा रहेका नेपालीबाट व्यावहारिक जानकारी लिन सकोस् । यही उद्देश्यले यो नेटवर्क निर्माण गरिएको उनको भनाइ छ ।

‘मलाई जब चाहिन्छ, करिअरमा गाइडन्स चाहिन्छ, बिजनेस गर्न चाहन्छु भने आइडिया चाहिन्छ, रुल्स बुझ्न चाहिन्छ भने त्यहाँ भएका नेपालीसँग कनेक्ट हुन सकौं,’ उनी भन्छन्, ‘हामीले नि:शुल्क एक–अर्कासँग कनेक्ट गराउने काम गरिरहेका छौँ ।’

उनका अनुसार विदेशमा गएर नयाँ सम्बन्ध बनाउन समय लाग्छ । कतिपय अवस्थामा सही व्यक्तिसम्म पुग्न पैसा पनि खर्च गर्नुपर्ने हुन्छ । तर यस्तो नेटवर्कमा सदस्यहरूबीचको सम्बन्धले त्यो दूरी घटाउन सक्छ ।

त्यसैले उनी यसलाई नेपालीका लागि ठूलो प्रोफेसनल नेटवर्कका रूपमा विकास गर्न चाहन्छन् । ‘जुन देशमा गए पनि मेरो लागि कोही छ, बिना पैसा, बिना लेनदेन, नेपाल बाहिरको एउटा साथी छ,’ उनी नेटवर्कको अवधारणा सुनाउँछन् ।

रोजगारीदेखि व्यवसायसम्म नेटवर्कको प्रयोग केवल चिनजानमा सीमित छैन भन्ने उनको दाबी छ । समूहमा जोडिएका युवालाई रोजगारी खोज्न, करिअरका विषयमा सल्लाह लिन, व्यवसाय सुरु गर्न र लगानीको अवसर पहिचान गर्न सहयोग पुगिरहेको उनी बताउँछन् ।

समूहकै सदस्यबीच सहकार्य गरेर केही व्यवसाय सुरु भएको उदाहरण पनि उनी दिन्छन् । पाँच हजार बढी सदस्य एउटै नेटवर्कमा भएपछि उनीहरूको सिप र सेवासमेत एकअर्काका लागि बजार बन्न सक्ने उनको बुझाइ छ ।

उदाहरणका लागि समूहमा कुनै सदस्यले सेवा वा उत्पादनको व्यवसाय गरिरहेको छ भने त्यही सेवा आफ्नै नेटवर्कका अन्य सदस्यले प्रयोग गर्न सक्छन् । यसले नयाँ व्यवसायलाई सुरुवाती ग्राहक र प्रचार दुवै उपलब्ध गराउन सक्छ ।

मनोजका अनुसार समूहकै नेटवर्कबाट तीन–चार वटा व्यवसाय सुरु भइसकेका छन् । विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न छलफल र सेसनसमेत सञ्चालन गरिएको उनी बताउँछन् ।

नेपालबाट विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरूलाई बोलाएर दुबईमा कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । सरकारका उच्च तहमा रहेका व्यक्तिदेखि व्यवसाय, उद्यमशिलता र ‘सार्क ट्यांक’ जस्ता कार्यक्रमसँग जोडिएका वक्ताहरूलाई समेत कार्यक्रममा ल्याइएको उनले बताए ।

विद्यार्थीदेखि बैंकका उच्च अधिकारीसम्म सदस्य

यो नेटवर्क कुनै निश्चित पेसा वा आर्थिक वर्गका मानिसका लागि मात्र नभएको मनोजको दाबी छ । विद्यार्थी, काम गर्ने युवा, उद्यमी, व्यवस्थापक र विभिन्न पेसामा संलग्न व्यक्तिहरू यसमा जोडिएका छन् । ‘जो जसले एक–अर्काबाट केही सिक्न सक्छ र दिन सक्छ, उसका लागि यो खुला छ,’ उनी भन्छन् ।

समूहमा हजारौँ नेपाली जोडिँदा करिब एक हजार जना व्यवस्थापन तहमा काम गर्ने व्यक्ति रहेको उनको अनुमान छ । बैंकका भाइस प्रेसिडेन्ट, अडिटर, लयर, म्यानेजर र व्यवसायीसमेत समूहमा रहेको उनी बताउँछन् । यसबाहेक विश्वका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेका नेपाली युवासमेत नेटवर्कसँग जोडिएको उनको दाबी छ । यही विविधतालाई उनी नेटवर्कको सबैभन्दा ठूलो शक्ति मान्छन् ।

विदेशमा रहेका नेपालीको राजनीतिक प्रभावका विषयमा बहस चलिरहन्छ । विशेषगरी निर्वाचनका बेला विदेशमा रहेका नेपालीले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट नेपालका राजनीतिक दल तथा उम्मेदवारका पक्षमा प्रचार गर्ने गरेका छन् । तर मनोजले स्थापना गरेको नेटवर्कले भने आफूलाई त्यस्तो राजनीतिक भूमिकाबाट टाढा राख्ने बताउँछ ।

समूहमा व्यक्तिगत रूपमा विभिन्न राजनीतिक दलसँग आबद्ध सदस्य हुन सक्छन् । तर समूहको कार्यक्रम, सदस्यता वा गतिविधि कुनै राजनीतिक दलका आधारमा विभाजित नहुने उनको भनाइ छ ।

‘कोही सदस्य कुनै पार्टीको हुनसक्छ, तर समूहभित्र ऊ यो पार्टीको वा त्यो पार्टीको भनेर आउँदैन,’ उनी भन्छन् ।

व्यक्तिगत राजनीतिक विचार समूहबाहिर राख्न पाइने तर समूहको साझा प्लेटफर्मलाई राजनीतिक गतिविधिका लागि प्रयोग गर्न नदिने उनको स्पष्टता छ ।

त्यसको सट्टा समूहले लगानी, व्यवसाय, उत्पादन र विकासका विषयमा सरकारसँग छलफल गर्ने गरेको उनी बताउँछन् ।

दुबईबाट नेपालमा कसरी लगानी ल्याउन सकिन्छ ? अस्ट्रेलियामा रहेका नेपालीले नेपालका लागि के गर्न सक्छन् ? नेपालका उत्पादनलाई विदेशमा कसरी पुर्‍याउन सकिन्छ ? मनोजका अनुसार अहिले उनीहरूको ध्यान यस्तै विषयमा केन्द्रित छ ।

नेपालमा पर्यटक र लगानीकर्ता भित्र्याउने लक्ष्य

अब नेटवर्कको प्राथमिकता केवल विदेशमा रहेका नेपालीलाई जोड्नेमा सीमित नरहेको मनोज बताउँछन् । विदेशी नागरिकलाई नेपालमा पर्यटकका रूपमा आकर्षित गर्ने र लगानीकर्ताका रूपमा नेपाल भित्र्याउने विषयमा पनि काम गर्ने योजना रहेको उनको भनाइ छ । ‘नेपालमा कसरी बाहिरको नन–नेपालीलाई पर्यटक र लगानीकर्ताका रूपमा आकर्षित गर्न सकिन्छ भन्नेमा पनि फोकस गरिरहेका छौँ,’ उनी भन्छन् ।

यसका लागि विदेशमा रहेका नेपालीलाई पुलका रूपमा प्रयोग गर्न सकिने उनको बुझाइ छ । नेपालमा जन्मिएका वा नेपालसँग जोडिएका नेपाली विश्वका विभिन्न देशमा पुगेका छन् । उनीहरूले आफ्नो गन्तव्य मुलुकमा नेपालबारे सकारात्मक जानकारी फैलाउन र सम्भावित पर्यटक तथा लगानीकर्तालाई नेपालसँग जोड्न सक्ने उनको तर्क छ ।

हिमालको पानीदेखि शिलाजितसम्म

मनोज मरहट्टाले पछिल्लो समय नेपालका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने विषयमा विशेष चासो देखाएका छन् । नेपालमा राम्रो सम्भावना भएका तर अन्तर्राष्ट्रिय ब्रान्ड बन्न नसकेका उत्पादनलाई विश्व बजारमा लैजान सकिने उनको विश्वास छ । उनको प्राथमिकतामा शिलाजित, वाइल्ड हनी, हिमालयन स्प्रिङ वाटर, टिमुरलगायतका उत्पादन छन् । विशेषगरी नेपालको हिमाली पानीलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने सम्भावनामा अनुसन्धान गरिरहेको उनी बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा प्रिमियम मूल्यमा बिक्री भइरहेका पानीका ब्रान्डहरूको उदाहरण दिँदै उनी प्रश्न गर्छन्, ‘यदि अरू देशको पानी ब्रान्ड बन्न सक्छ भने नेपालको हिमाली पानी किन सक्दैन ?’

नेपालका हिमाल, प्राकृतिक स्रोत र जैविक उत्पादनको कथा नै अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङको आधार बन्न सक्ने उनको बुझाइ छ । त्यसैले नेटवर्कलाई नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारसँग जोड्ने योजना उनको छ ।

नेटवर्कभित्रै विभिन्न समूह

नेटवर्कलाई एउटै ठूलो समूहमा सीमित नराखी रुचि र आवश्यकताअनुसार विभिन्न समूहमा विभाजन गरिएको छ । क्रिकेट क्लब, फुटबल क्लब, वेलनेस, मेडिटेसन, महिला समूह र सामाजिक सेवासँग सम्बन्धित समूहसमेत बनाइएको उनी बताउँछन् ।

विशेषगरी महिलाका लागि छुट्टै समूह बनाइएको छ, जहाँ महिलाले आफ्ना विषयमा सहज रूपमा छलफल गर्नसक्ने वातावरण बनाउने प्रयास गरिएको उनको भनाइ छ । त्यस्तै, सामाजिक तथा परोपकारी कामका लागि छुट्टै समूह रहेको छ ।

नेटवर्कबाट कति व्यवसाय सुरु भए ? कति लगानी जुट्यो ? कति रोजगारी सिर्जना भयो ? कति मानिसले करिअरमा लाभ पाए ? उनीसँग यसको विस्तृत तथ्यांक भने छैन ।

यसरी एउटै नेटवर्कभित्र पेसा, रुचि र आवश्यकताअनुसार विभिन्न समुदाय निर्माण गरिएको छ ।

समय कसरी व्यवस्थापन हुन्छ ?

यति ठूलो नेटवर्क सञ्चालन गर्न समय कसरी व्यवस्थापन हुन्छ भन्ने प्रश्नमा मनोज यसलाई सामाजिक कामका रूपमा लिएको बताउँछन् । कोर समूहको महिनामा एक पटक बैठक हुन्छ । एक महिना भौतिक र अर्को महिना अनलाइन बैठक गरिन्छ ।

समूहमा अनुभवी तथा वरिष्ठ व्यक्तिलाई सल्लाहकारका रूपमा समेत जोडिएको छ । सरकारका विभिन्न तहमा काम गरेका व्यक्तिहरूले आवश्यकताअनुसार सल्लाह दिने गरेको तर यसबाट आफूले कुनै आर्थिक लाभ नलिने उनको भनाइ छ । बरु समूह सञ्चालनमा आफ्नै समय र स्रोत खर्च हुने गरेको उनी बताउँछन् । सबैभन्दा महत्वपूर्ण कुरा सदस्यता शुल्कसमेत नरहेको उनको दाबी छ । ‘मेम्बरसिप फी नै छैन, जिरो मेम्बरसिप हो,’ उनी भन्छन् ।

यो नेटवर्कबाट कति व्यवसाय सुरु भए ? कति लगानी जुट्यो ? कति रोजगारी सिर्जना भयो ? कति मानिसले करिअरमा लाभ पाए ? उनीसँग यसको विस्तृत तथ्यांक भने छैन । तर सदस्यहरूबीचको सम्बन्धले धेरै प्रकारका परिणाम दिएको उनको अनुभव छ । कसैले समूहमा भेटेको व्यक्तिसँग व्यावसायिक साझेदारी गरेको छ । कसैले लगानी जुटाएको छ । कसैको व्यक्तिगत सम्बन्धसमेत विकास भएको छ ।

यस्ता परिणामको व्यवस्थित अभिलेख नराखिए पनि नेटवर्कले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै मानिसलाई प्रभाव पारेको उनको दाबी छ । अब भने यस्ता प्रभावलाई तथ्यांकमा अभिलेख गर्ने आवश्यकता महसुस भएको उनी बताउँछन् ।

‘नेपाली पनि म्यानेजर र उद्यमी बन्न सक्छन्’

मनोजको अभियानको एउटा महत्वपूर्ण सन्देश नेपालीको विदेश बसाइसँग पनि जोडिएको छ । विदेशमा नेपाली भन्नासाथ केवल श्रमिकको परिचयले सीमित हुनु हुँदैन भन्ने उनको धारणा छ । दुबईमा नेपाली श्रमिकको ठूलो उपस्थिति छ । तर त्यही दुबईमा नेपाली व्यवस्थापक, व्यवसायी र उद्यमीका रूपमा पनि स्थापित हुन सक्छन् भन्ने सन्देश दिन नेटवर्कले भूमिका खेलिरहेको उनको भनाइ छ ।

‘नेपाली दुबईमा गएर खाली लेबर मात्रै होइन, म्यानेजर पनि हुनसक्छ, ठूलो अन्टरप्रेनर पनि हुनसक्छ,’ उनी भन्छन् । उनका लागि नेटवर्क त्यही सोचलाई संस्थागत गर्ने एउटा माध्यम हो ।

अब दुबईबाट विश्वतर्फ

मनोजको योजना अब दुबईमा मात्रै सीमित छैन । उनी विश्वभरका नेपालीलाई जोड्ने नेटवर्क निर्माण गर्न चाहन्छन् । यसै क्रममा उनले अन्तर्राष्ट्रिय व्यावसायिक नेटवर्किङ संस्थासँग जोडिएर नेपालमा पनि त्यस्तो नेटवर्क विस्तार गर्ने योजना बनाएको बताए ।

उनको अर्को महत्वाकांक्षी योजना ‘सुपर एप’ निर्माण गर्ने हो । एउटै प्लेटफर्मबाट विदेशमा रहेका नेपालीलाई रोजगारी, व्यवसाय, लगानी, सम्पत्ति, सामाजिक सम्बन्ध र नेपालसँग जोड्न सकिने डिजिटल प्लेटफर्म बनाउने उनको योजना छ ।

उदाहरणका रूपमा उनले नाइजेरियामा रहेको नेपाली समुदायमा कुनै नेपालीलाई स्थानीय रूपमा आवश्यक व्यक्ति खोज्नेदेखि नेपालमा लगानी गर्नेसम्मका सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने अवधारणा सुनाए ।

नेपालको सेयर बजारमा लगानी गर्न चाहने विदेशमा रहेका नेपालीका लागिसमेत डिजिटल प्लेटफर्ममार्फत सहज पहुँच बनाउने उनको योजना छ । नेपालमा जग्गा किन्न वा लगानी गर्न चाहने विदेशमा रहेका नेपालीलाई डिजिटल प्रविधिमार्फत जग्गाको विवरण, भिडियो, नक्सा तथा आवश्यक कागजात हेर्न सक्ने व्यवस्था बनाउने उनको सोच छ ।

बैंक तथा सरकारी निकायसँग सहकार्य गरेर लगानीको प्रक्रिया पनि एउटै प्लेटफर्मबाट सहज बनाउन सकिने उनी बताउँछन् ।

जलविद्युत्, पर्यटन, कृषि तथा अन्य क्षेत्रमा लगानी गर्न चाहने प्रवासी नेपालीलाई नेपालसँग जोड्नु पनि उनको लक्ष्य हो ।

१२ लाखको जागिर छाडेर व्यवसायमा

मनोज मरहट्टाको आफ्नै जीवन पनि पछिल्लो समय परिवर्तनको चरणमा छ । दुबईमा १२ वर्ष बिताएका उनले केही समयअघिसम्म मासिक १२ लाख रुपैयाँ बराबरको तलब आउने जागिर गरिरहेका थिए । तर करिब ८ महिनाअघि उनले उक्त जागिर छाडेर पूर्णकालीन रूपमा व्यवसायमा लाग्ने निर्णय गरे ।

उनका अनुसार जागिरभन्दा व्यवसायले आफूलाई बढी लचकता दिन्छ । अहिले उनको मुख्य व्यवसाय एआई र प्रविधिसँग सम्बन्धित छ । उनले अघि सारेको सुपर एपको अवधारणा पनि एआई प्रविधिसँग जोडिएको छ । त्यसबाहेक रेस्टुरेन्ट, ट्राभललगायतका व्यवसायमा पनि उनको संलग्नता छ । तर अब उनको व्यावसायिक रुचि नेपालका उत्पादनतर्फ बढी केन्द्रित हुँदै गएको छ ।

शिलाजित, वाइल्ड हनी, स्प्रिङ वाटर र टिमुरलगायत करिब १० वटा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना उनले बनाएका छन् ।

विदेशमा नेपालीको संख्या ठूलो छ । तर त्यो जनसंख्या केवल श्रमशक्तिका रूपमा नभई ज्ञान, सिप, पूँजी र अन्तर्राष्ट्रिय नेटवर्कका रूपमा पनि हेर्नुपर्ने उनको धारणा छ । त्यसैले उनको अभियानको अन्तिम लक्ष्य विदेशमा रहेका नेपालीलाई केवल जोड्ने होइन, उनीहरूको क्षमता र स्रोतलाई नेपालसँग जोड्नु हो ।

दुबईबाट सुरु भएको एउटा सानो नेटवर्क अहिले पाँच हजारभन्दा बढी नेपालीसम्म पुगेको दाबी गरिएको छ । अब त्यसलाई विश्वव्यापी नेपाली नेटवर्क बनाउने सपना मनोजले देखेका छन् ।

उनको शब्दमा, उनी ‘दुबईमा नेपालीको नेटवर्क बनाएको मान्छे’ भएर मात्र चिनिन चाहँदैनन् । नेपालीका लागि विश्वव्यापी नेटवर्क निर्माण गर्ने व्यक्तिका रूपमा चिनिन चाहन्छन् ।

पौरखी प्रवासी
लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?