News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा वाइल्ड पोलियोभाइरसको अन्तिम घटना सन् २०१० अगस्टमा रौतहटमा भेटिएको थियो र सन् २०१४ मार्च २७ मा देश पोलियोमुक्त प्रमाणित भएको थियो।
नेपालमा लामो समयदेखि पोलियोका बिरामी नदेखिँदा यो रोग अब विगतको विषयजस्तो लाग्न सक्छ । तर अफगानिस्तान वा पाकिस्तानमा कुनै बच्चालाई पोलियो हुँदा त्यसको सरोकार हामीसँग पनि रहन्छ । मानिसको आवतजावतसँगै अर्को देश पुग्न सक्ने भाइरसलाई सीमाले रोक्दैन ।
भर्खरै अक्टोबर २४ मा विश्व पोलियो दिवस मनाइयो । यस अवसरमा रोटरीको योगदान सम्झँदा अन्तर्राष्ट्रिय अनुदानसँगै समय निकालेर खोप केन्द्र पुग्ने स्वयंसेवकको श्रम पनि सम्झनुपर्छ । दशकौँदेखि चलेको अभियानलाई निरन्तरता दिने आधार यिनै सेवाभावी मनहरू हुन् ।
पोलियोविरुद्ध रोटरीको संगठित अभियान सन् १९७९ सेप्टेम्बर २९ मा फिलिपिन्सबाट सुरु भएको थियो । तत्कालीन रोटरी इन्टरनेसनल अध्यक्ष जेम्स एल बोमार जुनियरले बालबालिकालाई खोप खुवाएर अभियान शुभारम्भ गरेका थिए । फिलिपिन्स सरकारसँगको सहकार्यमा करिब ६० लाख बालबालिकालाई खोप दिने बहुवर्षीय योजना अघि बढ्यो । त्यसको सफलताले सन् १९८५ मा पोलियोप्लस कार्यक्रम सुरु गर्ने प्रेरणा दियो ।
सन् १९८८ मा ग्लोबल पोलियो इराडिकेसन इनिसिएटिभ अर्थात् जीपीईआई स्थापना हुँदा रोटरी संस्थापक साझेदार बन्यो । अभियान सञ्चालन भएका देशमा त्यहाँका सरकारले खोप कार्यक्रमको नेतृत्व गरे । रोटरी, विश्व स्वास्थ्य संगठन, युनिसेफ र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आ-आफ्नो भूमिकाअनुसार सहयोग गरे । पछि गेट्स फाउन्डेसन र गाभी पनि जोडिए । त्यतिबेला १२५ भन्दा बढी देशमा वर्षमा अनुमानित साढे तीन लाखभन्दा बढी पोलियोका बिरामी हुन्थे ।
आज वाइल्ड पोलियोभाइरसको एन्डेमिक ट्रान्समिसन बाँकी रहेका देश अफगानिस्तान र पाकिस्तान मात्र हुन् । यसको अर्थ ती दुई देशबाहेक संसारभर सबै प्रकारको पोलियो उन्मूलन भइसकेको भन्ने होइन । अन्य देशमा पनि बाहिरबाट भाइरस भित्रिने जोखिम छ । पर्याप्त खोप नपुगेका समुदायमा परिवर्तित पोलियोभाइरसका प्रकोप पनि देखिइरहेका छन् ।
रोटरी, विभिन्न देशका सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको संयुक्त प्रयासबाट सन् १९८८ यता पोलियोका बिरामीको सङ्ख्यामा ९९.९ प्रतिशत कमी आएको छ । प्राकृतिक रूपमा फैलिने वाइल्ड पोलियोभाइरसका तीन प्रकारमध्ये एउटा सन् २०१५ सेप्टेम्बरमा र अर्को सन् २०१९ अक्टोबरमा विश्वबाट उन्मूलन भएको प्रमाणित भयो । बाँकी एक प्रकारको एन्डेमिक ट्रान्समिसन रोक्ने काम जारी छ ।
रोटरीको विवरणअनुसार पोलियोप्लस अनुदानमार्फत २.९ अर्ब अमेरिकी डलरभन्दा बढी योगदान भइसकेको छ । रोटरी र साझेदारहरूको सहकार्यले १२२ देशका तीन अर्बभन्दा बढी बालबालिकालाई पोलियोबाट जोगाउन सहयोग गरेको छ ।
यो ठूलो सहयोगमा व्यक्तिगत सदस्यका सानासाना दान पनि जोडिएका छन् । द रोटरी फाउन्डेसनअन्तर्गतको पोलियोप्लस कोषमा सदस्य, क्लब र अन्य दाताले पोलियो उन्मूलनका लागि सहयोग गर्छन् । फाउन्डेसनका विभिन्न कोषमध्ये पोलियोका लागि छुट्ट्याइएको सहयोग यही कोषमार्फत परिचालित हुन्छ । आफ्नो योगदान कहाँ र कसरी खर्च हुन्छ भन्ने स्पष्टताले दाताको विश्वास र अभियानप्रतिको जिम्मेवारी दुवै बढाउँछ ।
अन्तर्राष्ट्रिय पोलियोप्लस समितिको समीक्षापछि फाउन्डेसनका ट्रस्टीहरूले अनुदानको अन्तिम निर्णय गर्छन् । विश्व स्वास्थ्य संगठन र युनिसेफमार्फत खोप खरिद, समुदाय परिचालन, अभियान सञ्चालन, प्रकोप प्रतिकार्य तथा भाइरसको निगरानीमा रकम खर्च हुन्छ । दाताको सहयोग आवश्यक ठाउँसम्म पुर्याउन यस्तो संस्थागत व्यवस्थापनको भूमिका हुन्छ ।
सन् २०२५ जुन २२ मा रोटरी र गेट्स फाउन्डेसनबीच नवीकरण भएको साझेदारीअनुसार रोटरीले वार्षिक ५० मिलियन अमेरिकी डलर जुटाउने लक्ष्य लिएको छ । रोटरीले जुटाएको प्रत्येक एक डलरमा गेट्स फाउन्डेसनले थप दुई डलर दिने व्यवस्थाबाट वार्षिक १५० मिलियन र तीन वर्षमा ४५० मिलियन अमेरिकी डलरसम्म जुट्न सक्छ । यो रकम जुट्ने कुरा निर्धारित लक्ष्य र सर्त पूरा हुनुमा निर्भर छ । त्यसका लागि सदस्यहरूको दान र क्लबका सामूहिक अभियान महत्त्वपूर्ण हुन्छन्।
डिस्ट्रिक्टहरूले क्लबका प्रयासलाई साझा लक्ष्यसँग जोड्छन् । आफ्नो डिस्ट्रिक्ट डेजिग्नेटेड फन्डबाट पनि पोलियोप्लसलाई सहयोग गर्छन् । अमेरिकाको डिस्ट्रिक्ट ७३९० ले यही कोषबाट २९ हजार २५ अमेरिकी डलर हस्तान्तरण गरेको उदाहरण छ । क्लबहरूले सार्वजनिक कार्यक्रम, सहयोग सङ्कलन र सञ्चार अभियान चलाउँछन् । यसरी पोलियो नदेखिएको देशका नागरिकको सहयोग अर्को देशका बालबालिकाको सुरक्षासँग जोडिन्छ ।
स्वयंसेवाको मूल्य भने आर्थिक तथ्याङ्कमा पूरै समेटिँदैन । सदस्यहरूले खोप अभियानमा समय दिन्छन्, अभिभावकलाई जानकारी दिन्छन् र स्वास्थ्यकर्मीलाई समुदायसँग जोड्छन् । पाकिस्तानमा रोटरीले धार्मिक अगुवा र महिला स्वास्थ्यकर्मीसँग मिलेर खोपप्रतिको विश्वास बढाउन सहयोग गरेको छ । खोप केन्द्र र खोप ढुवानीका सामग्रीमा पनि सहयोग पुगेको छ । समुदायले विश्वास गर्ने व्यक्तिको संवादले खोपबाट छुटिरहेका बालबालिकासम्म पुग्न मद्दत गर्छ ।
नेपालको उपलब्धि पनि यस्तै सामूहिक प्रयासबाट सम्भव भएको हो । यहाँ वाइल्ड पोलियोभाइरसबाट भएको पोलियोको अन्तिम घटना सन् २०१० अगस्टमा रौतहटमा भेटिएको थियो । सन् २०१४ मार्च २७ मा नेपालसहित विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्र पोलियोमुक्त प्रमाणित भयो । सरकार, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, अभिभावक र साझेदारहरूको योगदानले यो सफलता सम्भव बनायो ।
नेपाल पोलियोमुक्त भएको खुसीमा सन् २०१४ मार्चमा पोलियोप्लस कमिटीले तनहुँको बन्दीपुरमा र्याली आयोजना गरेर उत्सव मनाएको थियो । बन्दीपुरको त्यो उत्सव लामो प्रयासको सफलतामा व्यक्त भएको सामूहिक खुसी थियो । उपलब्धि मनाउँदा त्यसलाई सम्भव बनाउनेहरूको श्रम सम्झनुपर्छ । त्यसपछि जन्मिने बालबालिकालाई पनि सुरक्षित राख्ने जिम्मेवारी बिर्सन हुँदैन ।
नेपाल–भुटान समेट्ने रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका क्लबहरू आर्थिक सहयोगसँगै स्वयंसेवामा पनि सक्रिय छन् । सदस्यहरूले खोप केन्द्रको भ्रमण गरी आवश्यक समन्वय गर्छन् । ब्यानर, पर्चा र र्यालीमार्फत खोप तथा पोलियो रोकथामको सन्देश फैलाउँछन् । व्यक्तिगत सदस्यको समय र स्थानीय सम्बन्ध खोप अभियानमा यसरी उपयोग हुन्छ ।
संस्थागत सहकार्य पनि जारी छ ।
सन् २०२३ मा नेपालको पोलियो ट्रान्जिसन प्लान र पोलियो आउटब्रेक रेस्पोन्स प्लानलाई अन्तिम रूप दिन आयोजित सरकारी नेतृत्वको परामर्शमा रोटरीअन्तर्गतको नेपाल नेसनल पोलियोप्लस कमिटी सहभागी थियो । सन् २०२५ अक्टोबर १८ मा डिस्ट्रिक्ट ३२९२ ले काठमाडौंमा आयोजना गरेको छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ, चिकित्सक र स्वयंसेवकसहित करिब २०० सहभागी थिए । कार्यक्रममा खोप, निगरानी र प्रकोपको तयारीमा जोड दिइएको थियो ।
जीपीईआईको सन् २०२६ अक्टोबर २१ को अद्यावधिकअनुसार अफगानिस्तानमा यस वर्ष वाइल्ड पोलियोभाइरसबाट हुने पोलियोका ४२ घटना पुष्टि भएका छन् । पाकिस्तानमा पनि एन्डेमिक ट्रान्समिसन कायम छ । त्यसैले अहिलेको प्रगतिलाई अन्तिम विजय ठान्नु हतार हुन्छ । अभियान सुस्ताउँदा त्यसको मूल्य खोपबाट छुटेका बालबालिकाले चुकाउनुपर्ने अवस्था आउन सक्छ ।
नेपालका लागि अबको जिम्मेवारी नियमित खोपमा छुटेका बालबालिकासम्म पुग्नु, रोगको निगरानी कमजोर हुन नदिनु र सम्भावित प्रकोपको तयारी कायम राख्नु हो । रोटरी सदस्यहरूको पोलियोप्लसमा दान, क्लबको जनचेतना र डिस्ट्रिक्टको समन्वय यही आवश्यकतासँग जोडिनुपर्छ । स्थानीय स्वास्थ्य निकायसँगको सहकार्य र विश्वव्यापी सहयोग निरन्तर रहनुपर्छ ।
पोलियोमुक्त नेपालमा हुर्किने बालबालिकाले पाएको सुरक्षा संसारका सबै बालबालिकाले पाउने दिनमा मात्र यो यात्राले पूर्णता पाउनेछ ।
प्रतिक्रिया 4