News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतकी क्यासान्ड्रा बेकनले १७ वर्षमै हजकिन लिम्फोमाको उपचारअघि डिम्बाशयको तन्तु सुरक्षित राखिन् र दुई दशकपछि प्रत्यारोपण गराइन्।
- सन् २०२४ मा तन्तु प्रत्यारोपणपछि उनको महिनावारी फर्कियो र तीनपटक आईभीएफपछि उनी गर्भवती भइन्।
- बेकनले सन् २०२६ को सेप्टेम्बरमा छोरा ल्यान्डन जन्माइन्, जसलाई यस्तो प्रत्यारोपणपछि जन्मिएको विश्वकै पहिलो शिशु भनिएको छ।
बेलायतकी क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा नामक रगतको क्यान्सर भएको पत्ता लाग्यो । केमोथेरापीको पहिलो चरणपछि क्यान्सर नियन्त्रणमा आयो । तर, एक वर्ष नबित्दै रोग फेरि बल्झियो । यसपटकको क्यान्सर झन् गम्भीर थियो ।
क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेकी किशोरीलाई त्यतिबेला आफ्नो ज्यान बचाउनु नै सबैभन्दा ठूलो चुनौती थियो ।
डाक्टरहरूले तत्काल पहिलेभन्दा कडा केमोथेरापी सुरु गर्नुपर्ने बताए । उपचार ढिला गर्न मिल्ने अवस्था थिएन । त्यसले उनको प्रजनन क्षमतामा पार्न सक्ने असरबारे बेकन सचेत थिइन् ।
त्यतिबेला उनी गाडी चलाउन सिक्ने र विद्यालयको अन्तिम परीक्षाको तयारी गर्ने उमेरमा थिइन् । जीवनका सामान्य सपना देख्ने समयमा उनले क्यान्सरसँग लड्नुपरेको थियो ।
त्यसबीच पनि भविष्यमा आफ्नो सन्तान होस् भन्ने चाहना भने उनले त्यागिनन् । ‘त्यो उमेरमा यस्तो परिस्थितिबाट गुज्रनु निकै कठिन थियो’ उनले बीबीसी वर्ल्ड सर्भिसको कार्यक्रम ‘न्युजआवर’ सँग भनेकी छिन् ।
भविष्यमा आमा बन्ने आशा जोगाउने निर्णय
सामान्यतया महिलाले भविष्यमा गर्भधारण गर्न कठिनाइ हुन सक्ने अवस्थामा आफ्नो डिम्ब निकालेर सुरक्षित राख्न सक्छन् । तर, त्यसका लागि हर्मोनको सुई लगाउँदै केही हप्ता कुर्नुपर्ने हुन्छ ।
बेकनसँग त्यति समय थिएन । क्यान्सरको उपचार तत्काल सुरु गर्नुपर्ने भएकाले डिम्ब निकालेर सुरक्षित राख्ने सामान्य प्रक्रिया उनका लागि सम्भव भएन ।
त्यसपछि उनले अर्को विकल्प रोजिन् । त्यो विकल्प त्यतिबेला प्रयोगात्मक अवस्थामै थियो ।
उनले डिम्बाशयबाट डिम्ब उत्पादन गर्ने तन्तुका केही टुक्रा निकालेर सुरक्षित राख्ने निर्णय गरिन् । पछि आफू आमा बन्न तयार भएपछि ती तन्तु पुनः शरीरमा प्रत्यारोपण गर्न सकिन्थ्यो ।
बेकनको डिम्बाशयबाट चारवटा साना तन्तुका नमुना निकालिए । ती नमुनालाई भविष्यमा प्रयोग गर्न सकिने आशामा अत्यन्त कम तापक्रममा फ्रिज गरेर राखियो ।
तर, यसरी सुरक्षित राखिएका तन्तुबाट भविष्यमा बच्चा जन्माउन सकिन्छ भन्ने कुनै निश्चितता थिएन। तैपनि बेकनले आशा मारिनन् ।
क्यान्सर निको भयो, तर ३३ वर्षमै महिनावारी रोकियो
बेकनको क्यान्सर उपचारका लागि बोन म्यारो प्रत्यारोपण गरियो र केमोथेरापी दिइयो । उपचार सफल भयो । उनी क्यान्सरमुक्त भइन् । तर, क्यान्सर नियन्त्रणमा ल्याउन दिइएको कडा उपचारले उनको डिम्बाशयमा गम्भीर असर पुर्यायो । डाक्टरहरूले आशंका गरेजस्तै उनी ३३ वर्षको उमेरमै रजोनिवृत्तिको अवस्थामा पुगिन् । अर्थात्, उनको महिनावारी बन्द भयो ।
अब प्राकृतिक रूपमा गर्भधारण गर्ने सम्भावना निकै कम भएको थियो । तर, १९ वर्षको उमेरमा सुरक्षित राखिएका डिम्बाशयका तन्तु अझै भविष्यको आशा बनेर बसेका थिए । बेकनले ती तन्तु पुनः शरीरमा प्रत्यारोपण गर्न सक्ने चिकित्सकको खोजीमा करिब १० वर्ष बिताइन् ।
त्यसमा अर्को समस्या पनि थियो । तन्तु निकालेर सुरक्षित राखिएको समयमा बेलायतमा यस प्रक्रियासम्बन्धी कानुनी व्यवस्था अहिलेको जस्तो थिएन । त्यसैले दुई दशकपछि तन्तु पुनः प्रत्यारोपण गर्न आवश्यक कागजात जुटाउनु चुनौतीपूर्ण बन्यो ।
उनको पहिलो शल्यक्रिया गरेकी डा. सारा म्याथ्युजले यस यात्रामा साथ दिइरहिन् । अन्ततः उनले इजरायलको रमत गानस्थित शेबा मेडिकल सेन्टरमा यो प्रक्रिया गर्न सकिने व्यवस्था मिलाउन सहयोग गरिन् ।
युद्धका कारण रोकियो प्रत्यारोपण
बेकनका लागि दुई दशकभन्दा लामो प्रतीक्षापछि तन्तु पुनः प्रत्यारोपण गर्ने अवसर आएको थियो । तर, उनको आशा फेरि अनिश्चिततामा धकेलियो । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण उनको उपचार प्रक्रिया प्रभावित भयो । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही तीव्र बनायो ।
बेकनलाई आफ्नो जीवनभर जोगाएर राखेको आशा पनि गुम्ने हो कि भन्ने डर लाग्यो । ‘मैले सोचेँ, कतै मेरो एक मात्र आशा पनि समाप्त हुने त होइन ?’ उनले बीबीसीसँग भनेकी छिन् ।
सन् २०२४ मेमा केही समयका लागि युद्धविराम भएपछि उनी इजरायल गइन् । त्यहाँ उनको सुरक्षित राखिएको डिम्बाशयको तन्तु पुनः शरीरमा प्रत्यारोपण गरियो।
उपचारपछि बेलायत फर्किन विमानमा बसेको केही घण्टामै युद्धविराम समाप्त भएको थियो । ‘यस्तो कथा त लेख्न पनि सकिँदैन’ उनले आफ्नो अनुभव सुनाउँदै भनेकी छिन् ।
कसरी काम गर्छ डिम्बाशयको तन्तु प्रत्यारोपणले ?
डिम्बाशयको तन्तु सुरक्षित राख्ने प्रक्रिया भविष्यमा प्रजनन क्षमता जोगाउने एउटा विकल्प हो । विशेषगरी क्यान्सरको उपचारका कारण डिम्बाशयमा असर पर्न सक्ने बालिका, किशोरी तथा महिलाका लागि यो उपयोगी हुन सक्छ ।
यस प्रक्रियामा डिम्बाशयबाट डिम्ब उत्पादन गर्ने तन्तुका साना टुक्रा निकालिन्छन् । ती तन्तुलाई प्रयोगशालामा फ्रिजिङ गरी सुरक्षित राखिन्छ । पछि आवश्यक परेको अवस्थामा तिनलाई पगालेर डिम्बाशयको बाँकी भागमा वा त्यसको नजिक पुनः प्रत्यारोपण गरिन्छ ।
प्रत्यारोपित तन्तु शरीरका रक्तनलीसँग जोडिन सफल भएमा त्यसले पुनः काम गर्न थाल्न सक्छ । त्यसपछि डिम्बाशयको हर्मोन उत्पादन र डिम्ब बन्ने प्रक्रिया फर्किन सक्ने सम्भावना हुन्छ ।
सन् २०२४ मा प्रकाशित एक अध्ययनअनुसार, यस्तो प्रत्यारोपणपछि ९४ प्रतिशतसम्म महिलामा महिनावारी तथा डिम्ब उत्पादनको चक्र पुनः सुरु हुन सक्छ । त्यस्तै, सन् २०२२ को अर्को अध्ययनले डिम्बाशयको तन्तु प्रत्यारोपण गरिएका करिब २८ प्रतिशत अवस्थामा जीवित शिशुको जन्म भएको देखाएको थियो ।
यद्यपि, सफलता व्यक्तिको उमेर, सुरक्षित राखिएको तन्तुको अवस्था, उपचारको प्रकृति तथा अन्य स्वास्थ्यसम्बन्धी पक्षमा निर्भर गर्छ । सबैमा यसले गर्भधारण सम्भव बनाउँछ भन्ने हुँदैन ।
तीन पटकको आईभीएफपछि गर्भवती
सन् २०२४ मा डिम्बाशयको तन्तु प्रत्यारोपण गरेको केही महिनापछि बेकनको महिनावारी फर्कियो । यसले उनको शरीरमा डिम्बाशयले पुनः काम गर्न थालेको संकेत दियो ।
उनले प्राकृतिक रूपमा गर्भधारण गर्ने प्रयास गरिन् । तर, सफलता मिलेन । त्यसपछि चिकित्सकले उनलाई र उनका साथीलाई इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) विधि अपनाउन सुझाव दिए ।
उनीहरूले तीनपटक आईभीएफ गराए । अन्ततः गत वर्ष क्रिसमसका दिन बेकनले गर्भवती भएको पुष्टि गर्ने परीक्षण प्राप्त गर्न सफल भइन् । त्यो क्षण उनका लागि वर्षौंदेखिको प्रतीक्षा, संघर्ष र आशाले सार्थकता पाएको क्षण थियो ।
‘१९ वर्षको उमेरमा मेरो शरीरमा रहेको आमा बन्ने क्षमताले ४३ वर्षको उमेरमा मलाई नयाँ जीवन दियो’ उनले भनेकी छिन् ।
बेकनले २०२६ को सेप्टेम्बरमा आफ्नो पहिलो सन्तान छोरालाई जन्म दिइन् । २० वर्षभन्दा लामो समयसम्म सुरक्षित राखिएको डिम्बाशयको तन्तु पुनः प्रत्यारोपण गरेपछि जन्मिएको यो बच्चा विश्वकै पहिलो हुन सक्ने बताइएको छ ।
बेकनले पछिल्लो २५ वर्षदेखि क्यान्सरमुक्त जीवन बिताइरहेकी छिन् ।
‘त्यतिबेलाको निर्णयका लागि आफूलाई धन्यवाद दिन्छु’
बेकनको कथा सार्वजनिक भएपछि धेरै महिलाले उनलाई सन्देश पठाएका छन् । उनीहरूले उनको संघर्ष र दृढताबाट आफूहरूले पनि हिम्मत पाएको बताएका छन् । उनको उपचारमा संलग्न डा. म्याथ्युजका अनुसार अहिले क्यान्सरको उपचार गर्नुअघि नै बिरामीसँग भविष्यमा सन्तान जन्माउने सम्भावना सुरक्षित राख्ने विकल्पबारे छलफल गर्न थालिएको छ ।
बालबालिका तथा किशोरकिशोरीमा हुने क्यान्सरको उपचार सफल हुने सम्भावना बढ्दै गएकाले उपचारपछि उनीहरूले सामान्य जीवन बिताउन र आफ्नो परिवार बनाउन सक्ने सम्भावनालाई पनि महत्त्व दिन थालिएको उनको भनाइ छ ।
‘हामी चाहन्छौँ, यी बालबालिका हुर्किऊन् र सामान्य जीवन बाँचून् । आफ्नो परिवार बनाउन सक्ने सम्भावना पनि त्यस्तो जीवनको महत्त्वपूर्ण हिस्सा हो’ डा. म्याथ्युज भन्छिन् ।
आफ्नो किशोरावस्थालाई सम्झँदा बेकनलाई अहिले पनि अचम्म लाग्छ, त्यति सानो उमेरमा उनले भविष्यका लागि यति ठूलो निर्णय कसरी लिन सकिन् ? कठिन परिस्थितिमा पनि आफ्नो निर्णयमा कसरी अडिग रहिन् ?
तर, आज उनको काखमा छोरा ल्यान्डन छन् । कुनै समय भविष्यमा आमा बन्ने सम्भावना नै अनिश्चित बनेको थियो । त्यही सम्भावना जोगाउन किशोरावस्थामा लिएको निर्णयले दुई दशकभन्दा लामो समयपछि उनलाई मातृत्वको सुख दिएको छ ।
‘मलाई लाग्छ, विगतमा फर्केर हेर्दा आफूले गरेको त्यो निर्णयका लागि आफैँलाई धन्यवाद दिनुपर्छ’ उनी भन्छिन् ।
बीबीसीबाट
प्रतिक्रिया 4