+

हातमा लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’

२०८३ कात्तिक  १० गते १४:३६ २०८३ कात्तिक १० गते १४:३६
हातमा लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कार्पल टनेल सिन्ड्रोम नाडीको स्नायुमा दबाब पर्दा हुने समस्या हो, जसमा हात सुन्निने, झमझमाउने, दुख्ने र वस्तु समात्न गाह्रो हुन सक्छ।
  • गर्भावस्था, मोटोपन, मधुमेह, बाथरोग, नाडी बारम्बार मोड्ने काम र नाडीमा चोट लागेका व्यक्तिमा यो समस्या देखिन सक्छ ।

बेलाबेला हात लाटो भएको महसुस हुने, झमझमाउने, दुख्ने, कहिलेकाहीँ राति यस्ता समस्या धेरै वल्झिने पनि हुन सक्छ । तर, यो के भएको हो भन्ने कुरा हामीले मेसो पाइरहेका हुँदैनौ । विभिन्न अड्कलहरू गरिरहेका हुन्छौं । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गरिरहेका हुन्छौँ ।

यो ‘कार्पल टनेल सिन्ड्रोम’ को लक्षण हुन सक्छ । यस्ता समस्या धेरैमा हुने भए पनि यो के हो भन्नेबारे कमैले सुनेका होलान् ।

के हो कार्पल टनेल सिन्ड्रोम ?

कार्पल टनेल सिन्ड्रोम हातको नाडीमा रहेको स्नायुमा दबाब पर्दा हुने समस्या हो । यसका कारण हातमा झमझमाउने, हात सुन्निने वा दुख्ने समस्या हुन सक्छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अनुसार, कार्पल टनेल सिन्ड्रोम हुँदा हात, औँला वा पाखुरामा दुखाइ महसुस हुन सक्छ।

यस समस्यामा हात सुन्निने, हातमा सियोले घोचेझैँ हुने, बूढीऔँला कमजोर हुँदै जाने वा कुनै वस्तु समात्न गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन् । यी लक्षण बिस्तारै सुरु हुन सक्छन् वा बीचबीचमा देखिने–हराउन हुन सक्छन् । विशेषगरी रातिको समयमा लक्षणहरू बढी देखिन्छन् ।

किन हुन्छ ?

कार्पल टनेल सिन्ड्रोमको मुख्य कारण नाडीमा रहेको स्नायुमा दबाब पर्नु हो ।

निम्न अवस्थाले यस्तो समस्या हुने जोखिम बढाउन सक्छन्:

– शरीरको तौल बढी हुनु ।

– गर्भावस्था ।

– नाडी बारम्बार मोड्नुपर्ने काम वा गतिविधि ।

– कम्पन उत्पन्न गर्ने औजारको प्रयोग ।

– बाथरोग वा मधुमेहजस्ता स्वास्थ्य समस्या भएमा ।

– आमाबुबा, दाजुभाइ वा दिदीबहिनीमध्ये कसैलाई कार्पल टनेल सिन्ड्रोम देखिएको छ भने ।

– पहिले नाडीमा चोट लागेको भएमा ।

अन्य कारणहरू

मधुमेहका कारण पनि यस्तो समस्या हुन सक्छ । अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा पनि परिधीय स्नायुको समस्या देखिन सक्छ ।

त्यस्तै, भिटामिन बी१२, भिटामिन बी६, पोटासियम वा म्याग्नेसियमको कमीले पनि हात सुन्निने समस्या उत्पन्न हुन सक्छ। केही प्रकारका संक्रमण वा नसा सुन्निने कारण पनि यस्तो समस्या देखिन सक्छ ।

 उपचार कसरी गरिन्छ ?

कतिपय अवस्थामा कार्पल टनेल सिन्ड्रोम आफैँ पनि निको हुन सक्छ । विशेषगरी गर्भावस्थाका बेला देखिएको यस्तो समस्या बच्चा जन्मिएपछि सुधार हुन सक्छ।
आफैँ निको नभएको खण्डमा यसका उपचार विधिहरू पनि छन् ।

१. नाडीलाई अड्याउने पट्टी (रिस्ट स्प्लिन्ट)

रिस्ट स्प्लिन्ट नाडीमा बाँधिने एक प्रकारको पट्टी हो । यसले नाडीको स्नायुमा पर्ने दबाब कम गर्न मद्दत गर्छ । यस्तो पट्टी राति सुत्ने बेला लगाइन्छ । चिकित्सकले करिब ६ हप्तासम्म यसको प्रयोग गर्न सल्लाह दिन सक्छन् ।

२. समस्या बढाउने कारणबाट बच्ने

नाडी बारम्बार मोड्नुपर्ने वा स्नायुमा दबाब पर्ने गतिविधिबाट बच्ने प्रयास गर्नुपर्छ । उदाहरणका लागि, कम्पन उत्पन्न गर्ने औजार वा केही उपकरणको प्रयोग कम गर्न सकिन्छ ।

३. दुखाइ कम गर्ने औषधि

कार्पल टनेल सिन्ड्रोमका कारण हुने दुखाइ कम गर्न चिकित्सकले दुखाइ कम गर्ने औषधि दिन सक्छन् ।

४. हातको व्यायाम

हात तथा नाडीका लागि गरिने उपयुक्त व्यायामले लक्षण कम गर्न मद्दत गर्न सक्छ । तर व्यायाम गर्दा दुखाइ बढेमा रोक्नुपर्छ र चिकित्सकको सल्लाह लिनुपर्छ।

५.शल्यक्रिया

कार्पल टनेल सिन्ड्रोम गम्भीर भएमा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । औषधि तथा अन्य सामान्य उपचारबाट समस्या कम नभएमा वा स्नायुमा दबाबका कारण कमजोरी बढ्दै गएमा चिकित्सकले शल्यक्रियाको सुझाव दिन सक्छन् । शल्यक्रियाको मुख्य उद्देश्य स्नायुमा परेको दबाब हटाउनु हो ।

ध्यान दिनुपर्ने कुरा

हात बारम्बार सुन्निने, दुख्ने वा औँलामा कमजोरी महसुस हुने समस्या भएमा चिकित्सकसँग जाँच गराउनु उचित हुन्छ । अचानक हात सुन्निनु वा कमजोरी हुनुका साथै अनुहार बाङ्गिनु वा बोली अस्पष्ट हुनुजस्ता लक्षण देखिएमा तत्काल आपत्कालीन उपचार लिनुपर्छ ।

कार्पल टनेल सिन्ड्रोम झमझमाउने हात
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय