News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगका खेलहरू हिमालय टेलिभिजन नेटवर्कले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
- नेपाली कमेन्ट्री हिमालय टिभीबाट र अङ्ग्रेजी कमेन्ट्री हिमालय स्पोर्ट्स च्यानलमार्फत प्रसारण हुनेछ।
- जनकपुर बोल्ट्सका खेलका दिन मात्र हिमालय स्पोर्ट्स २ च्यानलबाट मैथिली कमेन्ट्री प्रसारण गरिनेछ।
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ।
नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, अङ्ग्रेजी भाषाको कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण भने हिमालय स्पोर्ट्स च्यानलमार्फत हेर्न सकिनेछ।
प्रतियोगितामा पहिलोपटक मैथिली भाषामा पनि क्रिकेटको प्रत्यक्ष प्रसारण सुन्न पाइने भएको छ। तर, यो सुविधा फ्रान्चाइजी टोली जनकपुर बोल्ट्सले खेल्ने म्याचका दिनहरूमा मात्र उपलब्ध हुने नेटवर्कले जनाएको छ। जनकपुरको खेल भएको दिन हिमालय स्पोर्ट्स २ च्यानलमार्फत मैथिली भाषामा कमेन्ट्री प्रसारण गरिनेछ।
क्रिकेटको प्रत्यक्ष प्रसारणमा यसरी बहुभाषिक कमेन्ट्रीको अभ्यास गरिएसँगै विभिन्न भाषिक समुदायका क्रिकेट समर्थकहरूलाई एनपीएलसँग थप नजिक ल्याउने अपेक्षा गरिएको नेटवर्कले जनाएको छ ।
प्रतिक्रिया 4