+
+
Shares

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिबारे कांग्रेस महामन्त्रीको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवादमा सरकारको आलोचना गरेका छन् ।
  • उनले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरेर धरपकड गर्नु गलत भएको बताएका छन् ।
  • पौडेलले लुम्बिनी विकास कोषको नेतृत्वमा नियुक्ति गर्दा योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहिता हेर्नुपर्ने बताएका छन् ।

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवादमा सरकारको आलोचना गरेका छन् ।

उनले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरेर धरपकड गर्नु गलत भएको बताएका छन् ।

‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड ! त्यो पनि मध्यरातमै !,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘अनि फेरि नागरिकको हुर्मत लिएर लुसुक्क छाड्ने ! सरकारको यस्तो रबैयाको समर्थन गर्न सकिंदैन ।’

लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको स्मरण गर्दै उनले महत्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियतामात्र पर्याप्त नहुने जिकिर गरेका छन् ।

नियुक्तिका क्रममा योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहिता हेर्नै पर्ने महामन्त्री पौडेलको भनाइ छ ।

उनले उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफबिना सरकारले नियुक्तिको औचित्य पुष्टि गर्न र छनोटको आधार बताउन नसक्ने पनि बताएका छन् ।

‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ । राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ,’ उनले लेखेका छन्, ‘गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?