News Summary
Generated by OK AI. Editorially reviewed.- तिहार र छठ नजिकिएसँगै सिरहा र तराईका गाउँबस्तीमा गृहिणीहरू घर लिपपोत र सिंगारपटारमा व्यस्त भएका छन्।
- गोलबजार नगरपालिका–८ की फुलकुमारी उराउ, सुनिलकुमारी उराउ र कर्जन्हा नगरपालिका–११ की रेखादेवी मण्डलले माटोको घर लिपपोत गरेर चाडपर्वको तयारी गरेका छन्।
- रेखादेवी मण्डलले ‘हामी माटोमै रमाउने मान्छे हौँ।’ भन्दै माटोको घर लिपपोत गर्नु पुरानै परम्परा भएको बताएकी छन्।
२० कात्तिक, सिरहा । तिहार तथा छठ नजिकिएसँगै तराईका गाउँबस्तीमा चाडपर्वको रौनक बढ्न थालेको छ। चाडपर्वलाई स्वागत गर्न गृहिणीहरू घर लिपपोत तथा सिंगारपटारमा व्यस्त भएका छन्।
सिरहाको गोलबजार नगरपालिका–८, भाइजीटोल चोहर्वाका फुलकुमारी उराउ र सुनिलकुमारी उराउले घर लिपपोत गरी चिटिक्क पारेका छन् ।
कर्जन्हा नगरपालिका–११, बगहाकी रेखादेवी मण्डल पनि आफ्नो माटोको घर लिपपोत गर्दै चाडपर्वको तयारीमा जुटेकी छन्।
माटोलाई पानीमा घोलेर घरका भित्ता तथा आँगनमा लिपपोत गर्दै उनी परम्परागत शैलीमा घरलाई सिँगारिरहेकी छिन्। मण्डलका अनुसार माटोको घर लिपपोत गर्नु उनीहरूको पुरानै परम्परा हो।
उनी भन्छिन्, ‘हामी माटोमै रमाउने मान्छे हौँ। हाम्रोमा हरेक वर्ष चाडपर्वको तयारी यसरी नै हुन्छ। माटोको घर लिपपोत गरेरै चाडपर्वमा घरलाई चम्काउने गर्छौँ। धनी भए पो पक्की घर बनाउनु।’

आधुनिक पक्की घरप्रतिको आकर्षण बढ्दै गए पनि तराईका ग्रामीण बस्तीमा माटोका घरको आफ्नै महत्त्व र आत्मीयता अझै कायम छ। आर्थिक अवस्था कमजोर हुँदा पक्की घर बनाउन नसके पनि स्थानीयवासीले आफ्ना साना माटोका घरलाई लिपपोत गरेरै चाडपर्वको खुसी र उमङ्ग भित्र्याउने गरेका छन्।
गोलबजार नगरपालिका–८ का ८५ वर्षीय रामु उराउ पनि माटो र मानिसबीचको सम्बन्धलाई विशेष रूपमा व्याख्या गर्छन्।
उनी भन्छन्, नागरिक जतिसुकै धनी भए पनि माटोबाटै रमाएर आएको हुन्छ र अन्त्यमा पनि माटोमै जाने हो। त्यसैले आर्थिक अभावका कारण पक्की घरमा बस्न नपाए पनि आफ्नै साना घरलाई हरेक चाडपर्वमा सिँगार्ने गरेका छौँ।
पुस्तौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै तराईका गृहिणीहरू माटोका घर लिपपोत गरी चाडपर्वको स्वागतमा जुटेका छन्। आधुनिकतासँगै जीवनशैली परिवर्तन हुँदै गए पनि माटोका घर, स्थानीय संस्कृति र परम्परासँग जोडिएको आत्मीयता भने अझै जीवित छ।

प्रतिक्रिया 4