+
+
Shares

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २५ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।
  • प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
  • १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार जोगाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ।

२५ कात्तिक, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने जानकारी दिए । त्यसका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको उनले बताए ।

विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र विश्वासको मत लिनुअघिसम्म संवाद जारी रहने उनको भनाइ छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यस्तै, सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन राजनीतिक सक्रियता बढाएका छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?