+

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति

२०८३ मंसिर  ८ गते १४:२९ २०८३ मंसिर ८ गते १४:२९
Shares
एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति

एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा देखिँदै गएको छ । नेपालमा पनि औषधि प्रतिरोधको अवस्था चिन्ताजनक बन्दै गएको तथ्यांकले देखाउँछ ।

यसको नियन्त्रणका लागि कानुनी नियमनसँगै औषधिको समुचित प्रयोग, प्रभावकारी निगरानी र प्रमाणमा आधारित नीतिगत हस्तक्षेप आवश्यक छ ।

विशेषगरी एन्टिबायोटिकको आविष्कारले चिकित्सा विज्ञानमा क्रान्तिकारी परिवर्तन ल्याएको थियो । कुनै समय सामान्य संक्रमणबाट समेत मानिसको ज्यान जाने अवस्था थियो भने एन्टिबायोटिकको विकासपछि त्यस्ता धेरै संक्रमण उपचारयोग्य बने । तर आज यही जीवनरक्षक औषधिको प्रभावकारिता क्रमशः घट्दै जानु विश्व स्वास्थ्य समुदायका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।

यसको प्रमुख कारणमध्ये एक हो ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ (एएमआर) । यो भनेको सूक्ष्मजीवले आफूविरुद्ध प्रयोग गरिने औषधिको प्रभावलाई प्रतिरोध गर्ने क्षमता विकास गर्नु । ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीवीजस्ता सूक्ष्मजीवमा औषधिप्रतिको प्रतिरोध क्षमता विकसित हुँदा सामान्य संक्रमणको उपचारसमेत कठिन बन्न सक्छ ।

यसले उपचार अवधि लम्ब्याउने, अस्पताल बसाइ बढाउने, स्वास्थ्य उपचारको लागत वृद्धि गर्ने र मृत्युदरसमेत बढाउने जोखिम सिर्जना गर्छ । त्यसैले एएमआर केवल औषधिको प्रभावकारिता घट्ने समस्या होइन; यो स्वास्थ्य प्रणालीको दिगोपना, आर्थिक उत्पादकत्व, खाद्य सुरक्षा र समग्र राष्ट्रिय विकाससँग जोडिएको चुनौती हो ।

विश्वव्यापी चुनौती र नेपालको अवस्था

विश्व स्वास्थ्य संगठन र द ल्यान्सेट मा प्रकाशित अध्ययनहरूले एएमआरको बढ्दो जोखिम देखाएका छन् । सन् २०१९ मा विश्वभर ब्याक्टेरियाजन्य एएमआरसँग सम्बन्धित करिब ४९ लाख ५० हजार मृत्यु भएको अनुमान गरिएको थियो । त्यसमध्ये १२ लाख ७० हजार मृत्यु प्रत्यक्ष रूपमा औषधि प्रतिरोधका कारण भएको थियो ।

सन् २०२४ मा द ल्यान्सेट मा प्रकाशित अध्ययनअनुसार सन् २०२१ मा एएमआरका कारण प्रत्यक्ष रूपमा करिब ११ लाख ४० हजार र एएमआरसँग सम्बन्धित संक्रमणका कारण ४७ लाख १० हजार मानिसको मृत्यु भएको थियो । सन् २०५० सम्म प्रत्यक्ष मृत्यु वार्षिक १९ लाख १० हजार र एएमआरसँग सम्बन्धित मृत्यु ८२ लाख २० हजार पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।

नेपाल पनि यस जोखिमबाट अछुतो छैन । विश्व स्वास्थ्य संगठन नेपालले सन् २०२४ मा सार्वजनिक गरेको २६ अस्पतालको निगरानी तथ्यांकअनुसार ई. कोलाईमा ५१ प्रतिशत, क्लेब्सिएलामा ५६ प्रतिशत र एसिनेटोब्याक्टरमा ७२ प्रतिशत बहुऔषधि प्रतिरोध (एमडिआर) देखिएको थियो । कार्बापेनेम्स र थर्ड जेनेरेसन सेफालोस्पोरिन्सजस्ता महत्वपूर्ण एन्टिबायोटिकप्रतिको प्रतिरोध पनि बढ्दो अवस्थामा रहेको उल्लेख गरिएको छ ।

नेपालमा प्रयोग हुने ६० प्रतिशतभन्दा बढी एन्टिमाइक्रोबियल औषधि डब्ल्यूएचओको ‘वाच ग्रुप’ मा पर्नुले पनि औषधिको समुचित प्रयोग आवश्यक देखाउँछ ।

चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन, औषधि पसलबाट सहज खरिद, भाइरल संक्रमणमा समेत प्रयोग, निर्धारित मात्रा र अवधिको पालना नगर्ने तथा आफूखुसी औषधि परिवर्तन गर्ने प्रवृत्ति नेपालमा देखिएका प्रमुख समस्या हुन् । पशुपन्छीपालन, कृषि, खाद्य प्रणाली र वातावरणमा हुने अनुचित प्रयोगले पनि जोखिम बढाएको छ ।

औषधिको जथाभावी प्रयोगले समस्या

एएमआरको विकास प्राकृतिक जैविक प्रक्रिया भए पनि यसको तीव्र विस्तारमा मानवीय गतिविधिको ठूलो भूमिका छ । आवश्यकताभन्दा बढी, गलत औषधि, गलत मात्रा र गलत अवधिसम्म एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्दा प्रतिरोधी सूक्ष्मजीवको विकास र प्रसारलाई प्रोत्साहन मिल्छ ।

नेपालमा एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण चुनौतीपूर्ण हुनुका केही प्रमुख कारण छन् ।

जनचेतनाको कमी

सामान्य रुघाखोकी, ज्वरो, घाँटी दुखाइ तथा भाइरल संक्रमण हुँदा पनि धेरै मानिस एन्टिबायोटिक सेवन गर्न खोज्छन् । तर एन्टिबायोटिकले भाइरसविरुद्ध काम गर्दैन भन्ने सामान्य जानकारीसमेत समाजमा पर्याप्त रूपमा स्थापित हुन सकेको छैन ।

औषधिको अनियन्त्रित बिक्री वितरण

कानुनी रूपमा चिकित्सकको सिफारिसमा बिक्री गर्नुपर्ने औषधि व्यवहारमा कतिपय स्थानमा सहजै उपलब्ध हुनु चिन्ताको विषय हो । यसले स्वेच्छिक औषधि सेवन र अनावश्यक एन्टिबायोटिक प्रयोगलाई बढावा दिएको छ ।

गुणस्तरीय निदान सेवाको अभाव

कतिपय स्वास्थ्य संस्थामा संक्रमणको कारण पहिचान गर्न आवश्यक प्रयोगशाला परीक्षण, कल्चर तथा एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षणको पर्याप्त सुविधा छैन । फलस्वरूप अनुमानका आधारमा औषधि सिफारिस गर्ने प्रवृत्ति देखिन्छ ।

पशु स्वास्थ्य र कृषि क्षेत्रमा नियमन नहुनु

पशुपन्छीमा रोगको उपचार, रोकथाम तथा उत्पादन प्रक्रियामा एन्टिमाइक्रोबियल औषधिको अनुचित प्रयोगले मानिस, जनावर र वातावरणबीच प्रतिरोधी सूक्ष्मजीव फैलिने जोखिम बढाउँछ ।

औषधि प्रयोगसम्बन्धी तथ्यांकको उपलब्धता कम हुनु

कुन औषधि कहाँ, कति, कसरी र कुन प्रयोजनका लागि प्रयोग भइरहेको छ भन्ने भरपर्दो तथ्यांक नहुँदा प्रभावकारी नीति निर्माण तथा कार्यक्रमको मूल्याङ्कन कठिन हुन्छ ।

यी समस्याको समाधानका लागि औषधिको बिक्री नियन्त्रण मात्र पर्याप्त हुँदैन । स्वास्थ्य सेवा प्रणाली, औषधि नियमन, प्रयोगशाला क्षमता, जनचेतना, पशु स्वास्थ्य र वातावरणीय व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ ।

तथ्यांक र प्रमाणमा आधारित नीति

एएमआर नियन्त्रणका लागि अनुमान र व्यक्तिगत धारणाभन्दा वैज्ञानिक प्रमाण तथा तथ्यांकमा आधारित नीति आवश्यक हुन्छ । यसले औषधिको प्रयोग, सूक्ष्मजीवमा बढ्दो प्रतिरोध, प्रभावकारी औषधि र नियमनका कमजोरी पहिचान गर्न मद्दत गर्छ ।

नेपालले सन् २०२४-२०२८ का लागि दोस्रो राष्ट्रिय एएमआर कार्ययोजना स्वीकृत गरेको छ । यसले जनचेतना, निगरानी तथा अनुसन्धान, संक्रमण रोकथाम, औषधिको विवेकपूर्ण प्रयोग र दिगो स्रोत व्यवस्थापनलाई प्राथमिकता दिएको छ । साथै, तीनै तहका सरकार तथा स्वास्थ्य, औषधि, पशु सेवा, कृषि र वातावरणसम्बन्धी निकायबीच समन्वयमा जोड दिएको छ ।

त्यसैगरी, राष्ट्रिय एन्टिमाइक्रोबियल उपचार निर्देशिका २०२३ र औषधि व्यवस्था विभागको सन् २०२५ को औषधि खपत निगरानी प्रोटोकलले औषधिको उचित प्रयोग तथा खपतसम्बन्धी तथ्यांक संकलन र विश्लेषणका लागि आधार तयार गरेका छन् ।

यी नीतिगत प्रयासको सफलता प्रभावकारी कार्यान्वयनमा निर्भर हुन्छ । त्यसका लागि पर्याप्त बजेट र जनशक्ति, संस्थागत समन्वय, नियमित अनुगमन तथा नतिजाको मूल्याङ्कन सुनिश्चित गर्न आवश्यक छ ।

नीतिलाई प्रभावकारी बनाउन आवश्यक ७ रणनीति

१. औषधि प्रयोगसम्बन्धी राष्ट्रिय तथ्यांक प्रणाली सुदृढीकरण

एएमआर नियन्त्रणका लागि सबैभन्दा पहिले देशमा एन्टिमाइक्रोबियल औषधिको वास्तविक खपत र प्रयोगको अवस्था थाहा हुनुपर्छ । औषधि उत्पादक, आयातकर्ता, थोक तथा खुद्रा विक्रेता, अस्पताल र स्वास्थ्य संस्थाबाट प्राप्त हुने तथ्यांकलाई एकीकृत राष्ट्रिय प्रणालीमा आबद्ध गर्नुपर्छ ।

कुन प्रदेशमा कुन औषधिको खपत बढी छ, कुन अस्पतालमा कुन प्रकारको एन्टिबायोटिक बढी प्रयोग भइरहेको छ र समयसँगै यसको प्रवृत्ति कसरी परिवर्तन भइरहेको छ भन्ने विषय नियमित रूपमा विश्लेषण गर्नुपर्छ ।

अस्पताल तथा स्वास्थ्य संस्थामा एन्टिबायोटिक प्रयोगको अवस्था बुझ्न नियमित पोइन्ट प्रिभ्यालेन्स सर्भे (पीपीएस) र एन्टिमाइक्रोबियल कन्जम्प्सन सर्भिलेन्स (एसीएस) सञ्चालन गर्नुपर्छ । औषधि बिक्री तथा वितरणको तथ्यांकलाई समेत यस प्रणालीसँग जोड्न सके औषधिको वास्तविक खपत र प्रयोगको प्रवृत्ति पहिचान गर्न सकिन्छ ।

२. औषधिको बिक्री तथा वितरणमा प्रभावकारी नियमन

चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न औषधि व्यवस्था विभाग तथा सम्बन्धित नियामक निकायले प्रभावकारी अनुगमन गर्नुपर्छ । औषधि पसलको नियमित निरीक्षण, बिक्री अभिलेखको परीक्षण, कानुनी प्रावधानको कार्यान्वयन र नियम उल्लङ्घन गर्नेलाई जवाफदेही बनाउने व्यवस्था आवश्यक छ ।

यससँगै औषधि व्यवसायीलाई केवल नियमनको दायरामा राख्नेभन्दा पनि उनीहरूको क्षमता अभिवृद्धि, निरन्तर व्यावसायिक शिक्षा (सिपिई) र जिम्मेवार औषधि वितरण अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ ।

३. प्रयोगशाला तथा निदान सेवाको विस्तार

संक्रमणको वास्तविक कारण पहिचान नगरी अनुमानका आधारमा एन्टिबायोटिक प्रयोग गर्दा अनावश्यक औषधि सेवन र प्रतिरोधको जोखिम बढ्न सक्छ । त्यसैले अस्पताल तथा प्रयोगशालामा कल्चर र एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षणको पहुँच विस्तार गर्नुपर्छ ।

विशेषगरी प्रदेश तथा जिल्ला अस्पतालमा गुणस्तरीय प्रयोगशाला सेवा, दक्ष जनशक्ति, आवश्यक उपकरण र नियमित गुणस्तर परीक्षणको व्यवस्था गर्नुपर्छ ।

४. चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि

एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोगमा चिकित्सक, नर्स, फार्मासिस्ट, प्रयोगशालाकर्मी तथा अन्य स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका हुन्छ । उनीहरूलाई राष्ट्रिय उपचार निर्देशिका, औषधि प्रतिरोधको पछिल्लो अवस्था, प्रयोगशाला नतिजाको व्याख्या र एन्टिमाइक्रोबियल स्टेवार्डसिपसम्बन्धी नियमित तालिम दिनुपर्छ । अस्पतालमा एन्टिबायोटिक प्रयोगको समीक्षा गर्ने बहुविषयगत समिति गठन गरी औषधि सिफारिस र प्रयोगको नियमित मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्छ ।

५. जनचेतना र व्यवहार परिवर्तन

नीति र कानुन प्रभावकारी हुन नागरिकको व्यवहारमा परिवर्तन आउनु आवश्यक छ । एन्टिबायोटिक सबै प्रकारका संक्रमणमा काम गर्दैनन्, चिकित्सकको सल्लाहबिना सेवन गर्नु हुँदैन र अरूलाई सिफारिस गरिएको औषधि आफूले प्रयोग गर्नु हुँदैन भन्ने सन्देश जनस्तरसम्म पुर्‍याउनुपर्छ ।

विद्यालयको पाठ्यक्रम, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, स्थानीय तहका स्वास्थ्य कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका तथा सामुदायिक संस्थामार्फत निरन्तर जनचेतना अभियान सञ्चालन गर्न सकिन्छ ।

६. पशु स्वास्थ्य, कृषि र वातावरणलाई समेट्ने

एएमआर मानव स्वास्थ्यको मात्र समस्या होइन । पशुपन्छी, खाद्य उत्पादन प्रणाली र वातावरणसँग समेत यसको प्रत्यक्ष सम्बन्ध छ । त्यसैले ‘वन हेल्थ’ अर्थात् एक स्वास्थ्य अवधारणालाई व्यवहारमा लागू गर्नुपर्छ।

पशुपन्छीमा एन्टिबायोटिकको प्रयोग पशु चिकित्सकको सल्लाहअनुसार मात्र गर्ने, औषधिको अवशेष खाद्य पदार्थमा नपरोस् भनेर निगरानी गर्ने तथा औषधिजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने प्रणाली विकास गर्नुपर्छ ।

७. नीति कार्यान्वयनमा बजेट र जवाफदेहिता

एएमआर नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहमा पर्याप्त बजेट विनियोजन गर्नुपर्छ । नीति कार्यान्वयनको प्रगति मापन गर्न स्पष्ट सूचक निर्धारण गर्नुपर्छ ।

औषधिको अनुचित प्रयोगमा आएको कमी, निगरानीमा समेटिएका स्वास्थ्य संस्थाको संख्या, प्रयोगशाला सेवाको पहुँच, औषधि खपतको प्रवृत्ति र प्रतिरोधको दरलाई नियमित रूपमा मूल्याङ्कन गर्नुपर्छ । यसका साथै सार्वजनिक रूपमा प्रगति प्रतिवेदन प्रकाशन गर्ने र कमजोर कार्यसम्पादन भएका निकायलाई सुधारका लागि जवाफदेही बनाउने व्यवस्था गर्नुपर्छ ।

अनुसन्धान र निगरानीलाई नीतिनिर्माणसँग जोड्नुपर्छ

नेपालमा एएमआर नियन्त्रणका लागि प्रदेश तथा जिल्लागत अध्ययन, अस्पताल र समुदायस्तरको निगरानी तथा एन्टिबायोटिक खपतसम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ । औषधि प्रयोगको प्रवृत्ति र प्रतिरोधको अवस्थाबारे प्राप्त प्रमाणलाई राष्ट्रिय नीति, उपचार निर्देशिका र स्थानीय स्वास्थ्य योजनामा समावेश गर्नुपर्छ।

यसका लागि विश्वविद्यालय, अनुसन्धान संस्था, प्रयोगशाला, मेडिकल कलेज र सरकारी निकायबीच सहकार्य बढाउँदै अनुसन्धानका निष्कर्षलाई नीतिनिर्माण र कार्यान्वयनसँग जोड्न आवश्यक छ ।

एएमआर नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको समन्वय र सहकार्य आवश्यक छ । संघीय सरकारले राष्ट्रिय नीति, कानुनी व्यवस्था, औषधि नियमन र निगरानीको नेतृत्व गर्नुपर्छ । प्रदेश सरकारले प्रयोगशाला सेवा विस्तार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र औषधि प्रयोगको अनुगमन गर्नुपर्छ भने स्थानीय सरकारले जनचेतना, औषधिको उचित प्रयोग र समुदायस्तरीय निगरानीमा भूमिका खेल्नुपर्छ ।

एन्टिबायोटिक तथ्यांक
कृष्ण नन्दन मेहता
लेखक
कृष्ण नन्दन मेहता
फार्मासिस्ट

कृष्ण नन्दन मेहता जिल्ला अस्पताल, डोल्पामा फार्मेसी शाखा प्रमुखका रूपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय