+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोरखाबाट काठमाडौं भित्रियो ‘माओवादी सिमी’

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते ८:५५

२१ माघ, काठमाडौं । तस्वीरमा देखिने सिमीको रंग जनयुद्धकालमा माओवादी लडाकूले लगाउने बर्दीजस्तै छ । गोर्खा ताङ्लिचोक-७ घर भई हाल काठमाडौंमा उन्नत तरकारी खेती गरिरहेका गुनबहादुर गुरुङले यो सिमीको नामै ‘माओवादी सिमी’ राखेका छन् । यो सिमीको कथा रोचक छ ।

माअोवादी सीमी

गुनबहादुर गोरखा तालिङचोकका किसान हुन् । माओवादीको जनयुद्ध चरम अवस्थामा पुगेका बेला ०५७/०५८ सालतिर उनका घरमा माओवादी लडाकूहरु सेल्टर लिन आइरहन्थे ।

पूर्वको इलामतिरबाट गोरखा पुगेका एक माओवादी लडाकूले गुनबहादुरलाई झोलाबाट एक/दुई कोसा सुकेको सिमी निकालेर दिँदै भने, ‘ल बूढा मान्छे, यसको बिऊ जगाउनु, यो माओवादी सिमी हो, मज्जाले फल्छ, खाँदा पनि मीठो हुन्छ ।’

माओवादी लडाकूमार्फत अलिकति बिउ पाएपछि गुनबहादुरले कोठेबारीमा रोपे । जब सिमी फल्न थाल्यो, तब उनलाई अचम्मै लाग्यो, सिमीको रंग माओवादी लडाकूको बर्दीजस्तै देखियो ।

सिमीको नाम थाहा नभएको र माओवादी कार्यकर्ताले ल्याइदिएकाले गाउँलेले पनि सिमीको नाम ‘माओवादी सिमी’ राखे ।
विस्तारै गोरखाको दिप्लिङ लगायतका गाउँमा यसको उत्पादन सुरु गरिएको गुरुङले बताए ।

पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बन्न सफल माओवादी अहिले तीनटुक्रा भएर बिऊ मासिने अवस्थामा छ । तर, गुनबहादुरले माओवादी सिमीको बिउ गोरखादेखि काठमाडौंसम्म फैलाइसकेका छन् । उनी अहिले काठमाडौंमै बसेर ‘माओवादी सिमी’कोे बिउ उत्पादनमा लागेका छन् ।

सरकारी सेवामा ३० बर्ष कार्यरत रही अवकाश लिएका गुरुङले बिगत दुई बर्षदेखि काठमाडौंको ईचंगु-६ मा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् ।

टमाटर खेतीमा केन्द्रित गुरुङले ‘माओवादी सिमी’बाट पहिलो वर्ष २२ हजार ५ सय आम्दानी लिन सफल भए । यसका लागि उनले जम्मा २०० ग्राम मात्र बिउ खर्चनु परेको थियो ।

‘माओवादी सिमी’को बजार माग पनि उच्च रहेको उनको फार्ममा सिमी किन्न आएका हरी जमरकट्टेल बताउँछन् । कट्टेलका अनुसार यो अन्य सिमीभन्दा स्वादिलो र नरम छ । जति छिपिए पनि हाड नपस्ने र पकाउँदा बोक्रादेखि नै सबै पाक्ने यो सिमीको गुण हो ।

यो सिमीको बजार मूल्य ९० रुपैयाँदेखि १०० रुपैँया प्रतिकिलो रहेको र आफूले कहिल्यै यो भन्दा कममा बेच्नु नपरेको अनुभव गुरुङको छ । उनी अचेल राजधानीमै माओवादी सिमी बेच्छन् ।

‘माओवादी सिमी’बाट प्रतिबोट १० किलोसम्म उत्पादन लिन सकिने र अन्य बालीभन्दा धेरै मुनाफा लिन सकिने गुरुङको दाबी छ ।

 गुनबहादुर गुरुङ
गुनबहादुर गुरुङ

अन्य सिमी र यो सिमी बजार लैजाँदा यसमै बढी उपभोक्ता झुम्मेर खरिद गर्ने गरेको उनको अनुभव छ । कालीमाटीमा कतिपय तरकारी व्यापारीले नै ‘माओवादी सिमी छैन ?’ भन्दै सोध्न थालेको गुरुङ बताउँछन् ।

गोरखालीका लागि नौलो भए पनि इलाम लगायत पूर्वी नेपालका केही जिल्लामा यो सिमी चर्चित रहेको किसानहरु बताउँछन् ।

यो सिमी सुकाएर दालका रुपमा वा हरियोमा कोसा तरकारीको रुपमा खान सकिने भएकाले आफु यसको संरक्षण एवं  बिऊ उत्पादनमा लागेको गुरुङले बताए । ‘यो बर्ष करिब एक मुरी बिउ फलाएको छु,’ गुरुङले भने, ‘यो साल काठमाडौंमा तरकारी खेती गरिरहेका किसानसम्म बिउ फैलाउने मेरो लक्ष छ ।’
 
एमाओवादीप्रति वितृष्णा

गुरुङ एक समय एमाओवादी सम्वद्ध गणतान्त्रिक मोर्चाअन्तरर्गत जिल्ला तहका कार्यकर्ता समेत बनेका थिए । तर, हाल पार्टीको गतिबिधिदेखि दिक्क भएका उनले पार्टी भ्रष्टाचार र नातावादमा लागेको गुनासो गरे ।

‘बिउ गतिलो भए मात्रै फल गतिलो हुन्छ’ उन्नत तरकारी कृषक गुरुङ भन्छन्- ‘अब माओवादीको बिउ जोगाउने हो भने नेताहरुले सबैभन्दा पहिले आफ्नो चरित्र सुधार गरेर अगतिलो गुण भएका बिउको पछाडि नलागी राम्रो बिऊ पहिचान गर्नुपर्छ ।’

गुरुङ भन्छन्- ‘जस्तो बिउ रोप्यो त्यस्तै फल फलेकाले माओवादीले दोस्रो संबिधान सभामा हार बेहोरेको हो । पैसा पाएपछि जस्तासुकैलाई पनि पार्टीमा ल्याइयो, इमान्दार र असली माओवादीको बिउलाई बेवास्ता गरियो ।’

पहिलो बर्ष रासायनिक तरिकाले खेती गर्दा माटो, पानी वातावरण र स्वास्थ्य बिगि्रएकाले यस बर्षदेखि पूर्ण अर्गानिक खेतीको सुरुवात गरेको बताउने गुरुङले भने- ‘पार्टी पनि आफ्नो रैथाने बिउ बचाएर अर्गानिक हुनुपर्‍यो ।’

गुरुङले भने- ‘नेपालमा लोकल बिउ जसरी मासिने अवस्थामा पुगेको छ, त्यसरी नै रैथाने लोकल माओवादीको बिउ पनि मासिने क्रममा छ, अब नक्कली हाइबि्रड र जीएमओका पछाडि लागिरहने हो भने एमाओवादीको पनि बिउ मासिन्छ ।’
कृष्ण न्यौपानेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?