+
+
WC Series
लुम्बिनी लायन्स 2025
61/2 (7.4)
VS
७४ बलमा ७२ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिके राउततिर जानेलाई गच्छदारले रोक्न सक्दैनन्

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २९ गते १८:१४

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले मधेसवादी आन्दोलनमा सामन्तवाद हाबी रहेको बताएका छन् । कतिपय मधेसवादी नेताहरुमा विजय गच्छदारको व्यक्तिव्यलाई देखेर जलन र डाह भइरहेको उनको तर्क छ ।

दस वर्ष जनयुद्ध लडेर आएका एमाओवादी अध्यक्ष प्रचण्डले मधेसवादी र जनजातिलाई धोका नदिने तर्क गर्दै जितेन्द्र भन्छन्- कोही ३० दलीय मोर्चा छाडेर सशस्त्र संघर्षमै जान्छु भन्छ वा सिके राउतकै बाटोमा जान्छु भन्छ भने विजय गच्छदारले रोक्न सक्दैनन् ।’

पछिल्लो समय प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चामा देखिएको गत्यावरोधबारे फोरम लोकतान्त्रिकका नेता तथा सभासद देवसँग अनलाइनखबरले गरेको कुराकानी :

Jitendra Dev

प्रचण्डले बोलाएको ३० दलीय मोर्चाको बैठक बहिस्कार गरेका नेतासँग अहिले तपाईहरुको सम्वाद भइरहेको छ कि टुटेको छ ?

त्यो दिनको यथार्थ कुरा के हो भने २७ गतेको बैठक १२ बजे राखौं भनेर सल्लाहै भएको थियो । राजेन्द्र महतो, महेन्द्र यादवजीहरुसँग सल्लाहै गरेर १२ बजेका लागि तोकियो । राजेन्द्रजीले पनि के भन्नुभयो भने प्रचण्डजी, म अहिले गौरबाट हिँडेको छु, अहिले वीरगञ्ज आइपुगेको छु, वीरगञ्जबाट भोलि बिहानै १०/११ बजे काठमाडौं पुगिहाल्छु, १२ बजे बैठक राखौं ।

यसरी सल्लाह भएरै बैठक राखेको हो । तर, पछि फेरि राजेन्द्रजीले ठाकुरजी पनि हुनुहुन्न, म पनि यतै छु, महेन्द्रजी पनि बाहिरै हुनुहुन्छ, हृदयेशसजी पनि नवलपरासीमै हुनुहुन्छ, त्यसकारण यो बैठक कमसेकम सबै नेताहरु उपस्थित भएपछि बसौं, हतार नगरौं भन्नुभयो । त्यो बैठक यसरी स्थगित भएको हो ।

पूर्वघोषणा गरिसकेको नेपाल बन्द किन स्थगित गरेको ?

यो त हाम्रो राजनीतिक विश्लेषण हो । कांग्रेस एमाले चैत २३ गते नै बहुमतीय प्रक्रियामा गइहाल्छन् भन्ने हाम्रो अनुमान थियो । तर, २३ गते एजेण्डा परिवर्तन भयो र रामनाथ ढकालको शोक प्रस्ताव आयो । त्यसपछि संविधानसभाको बैठक ३० गते राख्ने कुरा भयो । ३० गते नै बहुमतीय एजेण्डा लिएर गइहाल्छन् भन्ने विश्लोषण २४ गतेसम्म भएन । अहिलेसम्म पनि त्यो विश्लेषण भएको छैन । यसरी सत्ताधारी पङ्ती बहुमतीय प्रक्रियामा हिँडिनसकेकै अवस्थामा हामीले अनिश्चितकालीन बन्दको घोषणा गर्दा जनतालाई सास्ती हुन्थ्यो । भिडन्त हुन्थ्यो, मान्छे दुईचार जना मर्न सक्छन् । हामी सबैका लागि यी सबै प्रियकर कुरा त होइनन् ।

त्यसकारण हामीले के विश्लेषण गर्‍यौं भने फागुन १६ मा पनि हामीले आमसभा गरेर देश र दुनियाँलाई हामी अहिले पनि ताकतदार छौैं, समाजमा हाम्रो प्रभाव छ भन्ने कुरा देखायौं । बन्द पनि सफल गरेर हामीले देखायौं । कांग्रेस एमालेले कुबुद्धिको बाटो हिँडेर देशलाई मुठभेडतिर नलगोस् भनेर हामीले म्यासेज पनि दियौं । यही म्यासेज दिएर हामी ‘वेट एण्ड सी’मा छौं । कांग्रेस एमाले पेलेर अघि बढ्ने दिशामा गयो भने त हामी बन्द भन्दा पनि कडा कडा अनिश्चित बन्दतिर पनि जान्छौं ।

३० दलीय मोर्चा अब फुट्छ भन्छन् नि मानिसहरु ?

नाइँ नाइँ । फाटो आएको छैन । फाटो आउँदैन । राजनीतिक मुद्दामा आधारित भएर व्यापक छलफल गरेर माओवादी शक्ति, जनजाति शक्ति र मधेसवादी शक्ति, पहिचानवादी शक्ति र अग्रगामी शक्तिवीच संविधान निर्माणमा एक भएर अगाडि बढेनौं भने जनताले चाहेअनुसार पहिचानमा आधारित संघीयता पनि आउँदैन र राज्यको समानुपातिक समावेशी ढंगले पुनसंरचना पनि हुँदैन । न्याय प्रणाली पनि अग्रगामी हुँदैन र निर्वाचन प्रणाली पनि जनपक्षीय हुँदैन । यही मान्यताका आधारमा अत्यन्त गहिरो र लामो छलफल गरेर यो मोर्चा बनाएका हौं ।

सिके राउतको स्वशासनकै नारामा जान्छु भन्छ भने फोरम लोकतान्त्रिक वा विजय गच्छदारले रोक्न सक्छ ? सक्दैन नि । त्यसैले कोही मोर्चै छाड्छौं र सशस्त्र संघर्षमै जान्छौं भन्छ भने हामीले रोक्न सक्दैनौं

मोर्चामा विवाद त कडै देखियो नि हैन ?

अब यी कुरा प्राप्त गर्न कसरी अगाडि जाने भन्ने जहाँसम्म सवाल छ, छलफलका क्रममा दुईवटा धार र राजनीतिक चिन्तन मोर्चाभित्र छ ।

एउटा के छ भने अहिले कांग्रेस एमालेले पनि प्रतिपक्षलाई समाप्त गर्न नसक्ने स्थिति छ भने प्रतिपक्षले पनि कांग्रेस र एमालेलाई पुरै पराजय गर्न नसक्ने स्थिति छ । यो अवस्थामा हामीले वीचको विन-विन सिचुएसनमा सन्तुलन बनाउनुपर्ने आवश्यकता छ । यस्तो नगर्ने हो भने नेपालको लोकतन्त्रको कोर्ष अझ प्रतिगामी दिशामा जाने सम्भावना छ । त्यसकारणले कांग्रेस एमालेसँग सहमति गरेर संविधानसभाभित्रैबाट अग्रगामी संविधान बनाऔं । यही हाम्रो मूल राजनीतिक लाइन हो कि सहमति गरेर संविधानसभाभित्रैबाट पहिचान र अधिकारलाई सम्बोधन गर्नेगरी अग्रगामी संविधान बनाउने ।

मोर्चाभित्र हामीजस्ता साथीहरुको सोचाइ के छ भने अन्तिम बिन्दुसम्म मुठभेडबाट देशलाई जोगाउने गरी सहमति निकाल्ने प्रयत्न गर्नुपर्छ । जबसम्म कांग्रेस र एमाले ज्ञानेन्द्र गएजस्तो विनासकाले विपरीत बुद्धितिर जाँदैनन्, तबसम्म आन्दोलनको रुप भनेको कांग्रेस र एमालेलाई दबाव दिने र सहमति कायम हुने गरी गर्नुपर्दछ भन्ने हाम्रो भनाइ हो । तर, कांग्रेस एमाले बहुमतीय प्रक्रियाबाट पेलेर संविधानै घोषणा गर्ने दिशामा गए भने हामी पनि क्लियर छौं कि त्यो अवस्थामा संघर्ष र विद्रोह गर्नुबाहेक अर्को विकल्प छैन । त्यतिबेला हामी पनि कांग्रेस एमालेको मोलाहिजा गर्दैनौं । आत्मसमर्पण पनि गर्दैनौं । हामी फोरम लोकतान्त्रिकको सोचाइ भनेको न उत्ताउलोपन, न आत्मसमर्पण हो ।

मोर्चाभित्र उपेन्द्र यादव र राजेन्द्र महतो लगायतका नेताहरुको भनाइचाँहि के हो ?

मोर्चाभित्र एउटा सानो चिन्तन के पनि छ भने अब कांग्रेस एमालेले सहमति गर्दैनन्, कांग्रेस एमालेले हामीलाई मुसा खेलाएजस्तो खेलाइराखेको छ, त्यसकारण एकदम फाइट टु फिनिसको वारपारको लडाइँ लडिहाल्नुपर्छ, यो वार्ता-सार्ता सबै फजुलको कुरा हो भन्ने एउटा धार छ । नभएको होइन ।

त्यसकारण मोर्चामा दुईवटा धार छ । दुईवटा धारको वीचमा बढी बहस हुने अनि त्यो मिडियामा आउने यो थयथार्थ हो, यसलाई लुकाएर राख्न सकिँदैन । लुकाउनु हुँदैन ।

तर, ३० दलीय मोर्चा फोड्ने र अलग्गै मोर्चा बनाएर गइहाल्ने भन्नेसम्मको मिडियामा कुरा आइराखेको छ, केही अमूक नेताहरुले उत्ताउलो भएर बोलिराखेका छन्, यो चाँहि दिशामा जाँदैन भन्ने हामीलाई लाग्छ ।

तपाईहरु सहमति-सहमति भन्नुहुन्छ, खोइ त कांग्रेस र एमाले सहमतिमा आएको ?

मलाई अहिले पनि लाग्दैन कि कांग्रेस र एमालेका नेताहरु यति अदूरदर्शी छन् । अर्कालाई गलाउने विन्दुबाट अहिले राजनीति अगाडि बढिराखेको छ । एकअर्कालाई बार्गेनिङमा तल पार्ने र गलाउने किसिमको अवस्थामा अहिलेको राजनीतिमा छ ।

चैत्र ३० गतेसम्म सहमति हुन्छ त ?

एक हप्तैभित्र वा १५ दिनैभित्र हुन्छ त भन्ने मलाई लाग्दैन । मोटामोटी मलाई के लाग्छ भने बैसाखभित्रमा एउटा सहमति भएर ड्राफ्ट बन्ने प्रक्रिया सुरु हुन्छ कि जस्तो मलाई लाग्छ ।

अब मोर्चाको बैठक कहिले बस्छ ?

म त यता राजविराजतिर आएँ । अब भोलि ३० गते भइहाल्यो । आज भोलि बिहानसम्म बस्यो भने बस्यो, नभए भोलिको बैठकबाट संविधानसभामा केही हुने होइन, त्यस्तो अवस्थामा एक दुई दिन सारिन्छ होला । आजै भोलि नै पनि बैठक बस्न सक्छ ।

अब बस्ने ३० दलको बैठकले आन्दोलनको कार्यक्रम बनाउँछ त ?

परिस्थितिको विश्लेषण गर्छ । कांग्रेस एमाले कसरी हिँड्न खोज्दैछन्, त्यसको विश्लेषण गर्छौं । उनीहरु जसरी हिँड्न खोज्छन्, हाम्रो पनि क्रियाको प्रतिक्रिया हुन्छ । ऊ सहमति गरौं भनेर खेलाउने दिशामा हिँड्छ भने हामी पनि त्यही ट्याक्टिसमा हिँड्छौं । ऊ निर्णायक ढंगले बहुमतीय प्रक्रियामा जान खोज्छ भने हामी पनि निर्णायक ढंगले संघर्षमा जान्छौं । ऊ निर्णणायक ढंगले सहमतिको प्रक्रियामा आउँछ भने हामी पनि निर्णायक ढंगले सहमतिको प्रक्रियामा जान्छौं ।

तर, उपेन्द्र यादवजीले त सार्वजनिकरुपमै प्रचण्डलाई धोकेबाज नै भनिसक्नु भयो त ?

हरेक नेताहरुको आफ्नो स्तर हुन्छ, आफ्नो भाषाशैली हुन्छ । यो उहाँको कुरा हो, मैले के टिप्पणी गर्ने ।

कांग्रेस एमालेले हामीलाई मुसा खेलाएजस्तो खेलाइराखेको छ, त्यसकारण एकदम फाइट टु फिनिसको वारपारको लडाइँ लडिहाल्नुपर्छ

प्रचण्डले धोका देलान् भन्ने तपाईलाई लाग्दैन ?

मलाई त्यस्तो लाग्दैन । त्यत्रो १० वर्ष जनयुद्ध गरेको मान्छे । हजारौं हजारको बलिदानी संघर्षबाट आएको मान्छे । एउटा आइडियोलोजी बोकेको मान्छे । कम्युनिष्ट, मार्क्सवादी, लेनिनवादी, माओवादी विचारधार बोकेको मान्छे, त्यत्रो मान्छेले सितिमिति सानोतिनो हावाहुरीबाट प्रभावित भएर गलत बाटोमा जान्छ भन्ने मलाई लाग्दैन ।

प्रचण्डजी एन्टी करेन्ट हिँडिराख्नुभएको छ । उहाँको पार्टी विभाजन भएको छ । सेना समायोजन गर्नुभएको छ । उहाँसँग भएको हतियार कांग्रेस एमालेसँगको विश्वासमा उहाँले समायोजन गर्नुभएको छ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि यो सब गर्नुभएको छ । त्यसैले मलाई लाग्दैन कि प्रचण्डजी र माओवादीले अहिले मधेसी र जनजातिलाई धोका दिएर आत्मसमर्पणको बाटोमा जानुहुन्छ ।

एकथरि मधेसवादी दलहरु विजय गच्छदारसँग रिसाएर मोर्चाबाट बाहिरिन खोजेका हुन् ?

त्यो जलन छ हेर्नोस् । मधेसवादी आन्दोलनमा एउटा सामन्तवादी चिन्तन हाबी छ । व्यक्तिकेन्द्रित राजनीतिक चिन्तन हावी छ । यी कमी कमजोरीहरु छन् । तर, यी सबैलाई पचाएर फोरम लोकतान्त्रिक जस्तो पार्टीले सबै विषको घुट्को पिएर पनि मधेसको पहिचान र अधिकारको सवाललाई माथि राखेर हिँडिराखेका छौं ।

तर, तपाईहरुकै अध्यक्ष विजय गच्छदारलाई सम्झौतावादी भन्ने आरोप लाग्छ, किन ?

गच्छदारजी एउटा परिपक्व नेता हो । एउटा राष्ट्रिय दृष्टिकोण भएको नेता हो । उहाँले धेरै उचाइ र हैसियत भएको व्यक्तित्व बनाउनुभएको छ । त्यसकारण केही नेताहरुलाई विजय गच्छदारको व्यक्तित्वबाट जलन हुन सक्छ । डाहा हुन सक्छ ।

तर, अन्य मधेसी दलहरुले ३० दलबाट फुटेर अलग्गै मोर्चा बनाए भने मधेसको राजनीति कता जाला ?

बनाउँछन् भने तपाई हामीले रोक्न सक्दैनौं । कोही पार्टी सशस्त्र संघर्षमै जान्छु, सिके राउतको स्वशासनकै नारामा जान्छु भन्छ भने फोरम लोकतान्त्रिक वा विजय गच्छदारले रोक्न सक्छ ? सक्दैन नि । त्यसैले कोही मोर्चै छाड्छौं र सशस्त्र संघर्षमै जान्छौं भन्छ भने हामीले रोक्न सक्दैनौं । हामीले यति भन्छौं कि त्यो बाटो आत्महत्याको बाटो हो । यसले लोकतान्त्रिक आन्दोलनलाई मद्दत गर्दैन । यो उग्रवादी चिन्तन हो । हामी यही भन्छौं ।

अहिलेको परिस्थितिमा ३० दलीय मोर्चाबाट मधेसवादी दलहरु अलग भए भने के हुन्छ ?

यो आत्मघाती हुन्छ । सुसाइडै हुन्छ । आत्महत्यासरह हुन्छ । यसले प्रकारान्तरले यथास्थितिवादी र प्रतिक्रियावादीहरुलाई फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?