२९ असार, काठमाडौं । सरकारले तराई मधेसमा आधुनिक सुविधा सम्पन्न १० वटा शहर निर्माण गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।
अर्थमन्त्री डा. रामशरण महतले मंगलबार बजेट सार्वजनिक गर्दै आधुनिक शहर निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने बताए ।
सरकारले विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा आवश्यक सहरी पूर्वाधारहरुको विकास गर्ने जनाएको छ । अहिले यी सहरहरुलाई लक्षित गरी ६ लेनको व्यापारिक मार्ग निर्माण भइरहेको छ ।
सरकारले तराई मधेसलाई राजधानीसँग जोड्ने काठमाडौं-तराई मधेस द्रुतमार्गको निर्माण आगामी वर्ष सुरु गर्ने बताएको छ । यसका लागि १ अर्ब रुपैयाँ छुट्टाइएको छ ।
तराई मधेसको पूर्वाधारमा विशेष महत्व राख्ने हुलाकी राजमार्गलाई ५ वर्षभित्र सम्पन्न गर्ने गरी ३ अर्ब १९ करोड विनियोजन गरिएको छ । त्यस्तै, पूर्व पश्चिम राजमार्गको स्तरोन्नती गरी ४ लेनको बनाउने काम शुरु गर्न सरकारले बजेट विनियोजन गरेको छ ।
मिथिला क्षेत्र सडक सुधारका लागि ३१ करोड विनियोजन गरिएको छ । त्यस्तै, बर्दिवास-सिमरा खण्डको रेल्वे ट्रयाक निर्माण र जग्गा खरिदका लागि १ अर्ब ८६ करोड विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।
तराई-मधेशका १२ जिल्लाहरुमा धान उत्पादनको पकेट क्षेत्र विकास गरिने भएको छ । यहाँको सबै कृषियोग्य भूमिमा पाँच वर्षभित्र सिँचाइ सुविधा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।
आगामी वर्ष तराई-मधेशमा ४८ वटा डी ट्युबेलहरु जडान गरिने छ । निर्माणाधीन सिक्टा, रानी-जमरा कुलरिया र बबई सिँचाइ योजना निर्माणका लागि ३ अर्ब ७६ करोड छुट्टाइएको छ । वृहत सिँचाई आयोजनाहरु पुनस्र्थापनाका लागि ५२ करोड छुट्टाइएको छ ।
चुरे विनाश रोक्नका लागि १ अर्ब ९६ करोड बजेटमा विनियोजन गरिएको छ । तराई-मधेसलाई राजधानीसँग जोड्ने काठमाडौं-निजगढ द्रुतमार्गको निर्माण आगामी वर्ष शुरु गर्ने सरकारले घोषणा गरेको छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आगमी दुई वर्षभित्र सम्पन्न गर्ने गरी २ अर्ब ५० करोड विनियोजन गरिएको छ । अन्तरदेशीय प्रशारण लाइनहरुको निर्माणलाई तीब्रता दिइने भएको छ ।
लुम्बिनी र जनकपुरको विकासका लागि पनि सरकारले बजेट विनियोजन गरेको बताएको छ । लुम्बिनी क्षेत्रको गुरुयोजना अनुरुपका कार्यहरु शीघ्र सम्पन्न गर्ने गरी बुद्धिष्ट सर्किटको प्रारम्भिक कार्य शुरु गर्ने बताइएको छ ।
तराईका पिछडिएका दलित र सीमान्तकृत वर्गका कक्षा ११ र १२ मा अध्ययनरत ८० हजार छात्राहरुका लागि रामनारायण मिश्र विशेष छात्रवृत्ति प्रदान गरिने भएको छ ।
प्रतिक्रिया 4