नविन अर्याल
४ असोज, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आयोजित सवारी साधनको कुम्भ मेला सोमबार सम्पन्न भएको छ । मेलामा करिव ५ अर्ब रुपैयाँ बराबरको सवारी साधन बुकिङ भएको बताइएको छ ।
मेलामा दुई पांग्रे, चार पांग्रे र कमर्शियल भेहिकल पर्दशनीमा राखिएको थियो । सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर बुकिङ भएको मेला संयोजक सम्भुप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मोटरसाइकल तथा स्कुटर २ हजार, कार तथा जीप ६ सय र कमर्शियल गाडी ५० थान बुकिङ भएका छन् ।
भिडियो
मेलामा सबैभन्दा बढि हुन्डाई गाडी बुकिङ भएको छ । हुन्डाई गाडी ४ सयभन्दा बढी बुकिङ भएको लक्ष्मी हुन्डाईका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले बताए । यो संख्या कुल बुकिङ संख्याको दुई तिहाई हुन आउँछ । हुन्डाईले हालैमात्र भित्राएको एसयुभी क्रेटामा सबैभन्दा बढी आकर्षण देखिएको हो ।
त्यसो त मेलामा टाटाका १६२ वटा कार बुकिङ भएको सेल्स म्यानेजर अर्जुन कार्कीको भनार्इ छ । जसमध्ये ५० प्रतिशत टाटा बोल्ट बुकिङ भएको छ । मेलामा सहभागी कार ब्रान्डले दाबी गरेको बुकिङ संख्या जोड्ने हो भने ६ सयभन्दा बढी हुन आउँछ ।
संयोजक दाहालका अनुसार ६ दिनसम्म चलेको मेला ६० हजार बढीले अबलोकन गरेका छन् । मेला आयोजक नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा)ले ५० हजार अवलोकनकर्ता आउने अनुमान गरेको थियो ।
‘भूकम्प, बन्द हड्ताल लगायतका गतिविधिहरुले अटो मेलालाई कुनै असर पारेन’ मेला संयोजक दाहालले भने- ‘हामीले अपेक्षा गरेभन्दा भव्य रुपमा मेला सम्पन्न भयो ।’ सकरात्मक सोँचाई राखेर अगाडि बढेमा जस्तोसुकै परिस्थितीमा पनि सफलता मिल्ने उनको भनाई थियो ।
नाडाका पूर्वअध्यक्ष सौरभ ज्योतीले विगतको तुलनामा अवलोकनकर्ता बढेको अनलाइनखबरसँग बताए । ‘मेलाको हरेक वर्ष स्तरोन्नती हुँदै गइरहेको पाएका छौं’ उनले भने- ‘आफ्नो ब्रान्ड एक्स्पोज गर्ने मेलामा सम्पूर्ण व्यवसायी सन्तुष्ट देखिएका छन् ।’
नाडाका अध्यक्ष शेखर गोल्छाले आफुहरुले अपेक्षा गरेभन्दा बढी बिजनेश भएको ठोकुवा गरे । मेलामा सहभागी सबै स्टलकर्ता सन्तुष्ट देखिएको दाबी गर्दै उनले यस पटकको मेलामा विगतमा भन्दा बढी मार्केटिङ गरेको बताए ।
मेलामा विभिन्न ६५ कम्पनीका १२० स्टलहरु रहेका थिए । १४ ब्रान्डका चारपांग्रे, १५ ब्रान्डका दुई पांग्रे र ५ ब्रान्डका कमर्शियल गाडी प्रर्दशनीमा राखिएको थियो ।
मेलामा डाटसुन, दाइहात्सु, फियट, फोर्ड, हुन्डाई, किया, निशान, स्कोडा, सुजुकी कार, टाटा, टोयोटा, फक्सवागन, अशोक ले ल्यान्ड, स्कोर्टस, अपि्रलिया, एमभी अगष्टा, बजाज, बेनिली, हिरो, हिरो इलेक्टि्रक, होन्डा बाइक, होन्डा कार, केटीएम, महिन्द्रा, रोयल इन्पिmल्ड, सुजुकी बाइक, टिभीएस, भेष्पा र यामाहा ब्रान्ड प्रर्दशनीमा थिए ।
यस पटकको अटो मेलाले इतिहास रच्न सफल भएको नाडाका उपाध्यक्ष समेत रहेका अञ्जन श्रेष्ठको बुझाई छ । १०औं संस्करणसम्म आइपुग्दा ‘नाडा अटो शो’ ब्रान्ड बनिसकेको उनले बताए । उनका अनुसार मेलाप्रति व्यवसायीको बढ्दो उत्साहजनक सहभागीताले आयोजकलाई थप हौसला मिलेको छ ।
मेलामा खासगरी बाइक र इन्ट्रीलेवल कारमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको थियो । बुकिङ पनि इन्ट्रीलेवल कारकै बढी रहेको मेला संयोजक दाहालले बताए । मेलामा नयाँ कार तथा बाइकले अवलोकनकर्ता आकषिर्त गर्न सफल भए ।
हुन्डाईको एसयुभी क्रेटा सबैभन्दा बढी बुकिङ हुने कारमा पर्यो । त्यस्तै, होन्डाको हृयाजब्याक ज्याज र सेडान सिभिक कारले पनि ग्राहकको विश्वास जित्न सफल भए । मेलामा होन्डाका ३५ वटा कार बुकिङ भएका छन् । जसमध्ये ज्याजको संख्या १५ र सिभिकको संख्या ३ रहेको स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले बताए ।
यसैगरी टाटा बोल्ट, साङयोङ टिभोली, निशान माइक्रा र एक्स-ट्रेल, टायोटा इटिओस क्रस, सुजुकी एस क्रस, फक्सवागन सिरिक्को, बिटल र टोरेग लगायतका मोडलले पनि ग्राहकको ध्यान खिच्न सफल भए । यी सबै मेलालाई लक्षित गर्दै नेपाली बजारमा भित्राइएको हो ।
यसपटकको मेलामा ३/४ वटा नयाँ ब्रान्डका मोटरसाइकल तथा स्कुटर थपिए । एमभी अगष्टा, बेनिली, भेष्पा पहिलो पटक मेलामा राखिएको हो । तीनवटै पि्रमियम ब्रान्ड हुन् । यी बाइक तथा स्कुटरमा पनि ग्राहकको भिड देखिन्थ्यो ।
मेलामा खासगरी महंगा बाइकमा चासो रख्नेहरुले डुकाटी, एमभी अगष्टा, बेनिली, अपि्रलिया, यामाहा आर ३ र आर ६, होण्डा सिबिआर ६०० आरआर, पल्सर आरएस २०० लगायतमा आँखा लगाएका थिए ।
कम्पनीका अनुसार ९ लाख ३० हजार पर्ने यामाहा आर ३ मेलामा ६ जनाले बुकिङ गरेका छन् । एमभी अगष्टा पनि ९ जनाले बुकिङ गरेर गएको अभिषेक कार्कीले बताए । मेलामा २७ लाख ५० हजारदेखि ३८ लाख ७५ हजारसम्मका एमभी अगष्टा बाइक प्रर्दशनीमा राखिएको थियो ।
प्रतिक्रिया 4