४ असोज, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले संविधान जारी भएपछि मुलुकमा समृद्धिको बाटो खुलेको बताएका छन् । पोखराको चिप्लेढुंगामा संविधान जारी गरिएको उपलक्ष्यमा भएको कार्यक्रममा मन्त्री महतले हिंसा र अशान्ति मेटेर अब विकासको बाटोमा हिड्नुपर्ने बताए ।
‘राजनीतिक खिचातानीले मुलुक धेरै पछि परेको छ । हामीलाई छोडेर संसार धेरै अगाडि बढिसकेको छ ।’ उनले भने- ‘संविधान बनेको छ । अब नेपालले पनि नेपाल आर्थिक विकासमा फड्को मार्नेछ ।’ महतले नेपाललाई दक्षिण एसियामै पर्यटनको राजधानी बनाउन सकिने तथा उर्जाको पावर हाउस र कृषि उपजको खानीको रुपमा विकास गर्न औंल्याए ।
राष्ट्र निर्माणमा लाग्न सबैलाई अपिल गर्दै उनले भने -‘आर्थिक एजेण्डालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने हो भने युवाहरुले विदेश जानुपर्दैन । स्वदेशमै रोजगारीका प्रशस्त अवसरहरु सिर्जना हुनेछन ।’ उनले थपे- ‘सिर्जनशील र उद्यमशील भएर मेहनतका साथ मुलुक निर्माणमा लागौं, सँधै यस्तै रहे भावी पुस्ताले हामीलाई माफ गर्ने छैनन् ।’ नेपालको संविधान एसियाकै उत्कृष्ट भएको महतको दाबी थियो ।
प्रतिक्रिया 4