४ भदौ, काठमाडौं । संविधान जारी गर्ने प्रकृया रोक्न बिशेष दूतमार्फत् दिएको दबाबको वेवास्ता गर्दै नेपालको संविधानसभाले संविधान जारी गरेपछि भारतले आफ्ना दूतलाई फेरि दिल्ली बोलाएको छ ।
नेपालका लागि भारतीय राजदूत रणजीत राय सोमबार बिहानै दिल्ली प्रस्थान गरेका छन् ।
‘हो उहाँ एक दिने परामर्शका लागि यहाँ आउनुभएको छ’ भारतीय बिदेश मन्त्रालयका एक अधिकारीले द हिन्दुसँग भने- ‘सम्भवत उहाँ भोलि नै फर्कनुहुनेछ ।’
आफ्नो सुझावलाई लत्याउँदै संविधानसभाले संविधान जारी गरेको र तराईमा हिंसा जारी रहेको अबस्थामा त्यसको के असर पर्न सक्छ भन्नेबारे छलफल गर्न राजदूतलाई दिल्ली बोलाइएको समाचारमा उल्लेख छ ।
आइतबार संविधानसभाले संविधान जारी गरेलगत्तै भारतीय बिदेश मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा त्यसको स्वागत गर्नुको सट्टा ‘संविधान जारी गरेको जानकारी पाएको’ मात्र भनेको थियो ।
तनाव बोकेर दिल्ली प्रस्थान
पछिल्लो समय राजदूत राय निकै तनावमा देखिएका छन् । राजदूत राय एक सातामा दोस्रोपटक दिल्ली गएका छन् । भारतीय विदेश सचिवलाई काठमाडौं लिएर आएको तीन दिन नबित्दै उनी फेरि दिल्ली गएका हुन् ।
नेपालमा उनको कार्यकाल र काम गराइ अब थप चुनौतीपूर्ण हुने देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग राजदूत रायको सम्बन्ध शुरुदेखि नै सुमधुर हुन सकेन । नेपालको मामिलामा सुझाव दिन खोज्दा ओली कडा रुपमा प्रस्तुत भएपछि राजदूत र ओलीवीचको सम्बन्ध त्यति राम्रो नभएको हो ।
अन्य नेतालाई भारतीय दूताबासमै बोलाउने गरेका राय ओलीलाई भेट्न आफैं बालकोट जाने गरेका थिए । कुनै समारोहबाहेक अन्य अवस्थामा ओलीले दूताबासमा जान नमान्ने गरेकाले राजदूत आफैं बालकोट जाने गरेका थिए ।
पछिल्लो समयमा आफूलाई ओलीले नटेरेको भन्दै राजदूतले विदेश सचिवलाई काठमाडौं लिएर आए । भारतीय विदेशसचिव एस जयसंशकरलाई लिएर राजदूत सीधै बालकोट पुगे ।
तर, विदेश सचिवलाई बोलाएर ल्याउँदा पनि भारतीय राजदूत रञ्जित रायले नेपालको संविधान निर्माण प्रक्रियालाई पछि सार्न सकेनन् र मधेसी मोर्चासँग वार्ता पनि गराउन सकेनन् ।
आफ्नो लाइन असफल भएपछि राजदूत थप तनावमा परेर फेरि दिल्लीतर्फ लागेका छन् । उनले नेपालको मामिलालाई दिल्लीलाई एकपक्षीय विश्लेषण गरेका कारण नेपाल भारत सम्बन्धमा असहजता देखा परेको नेपाली नेताहरुको तर्क छ ।
स्रोतका अनुसार अबको केही साताभित्रै एमाले अध्यक्ष केपी ओली नेपालको प्रधानमन्त्री बन्न लागेकाले भारतीय राजदूत रायका लागि अबका दिनहरु थप असहज बन्ने देखिन्छ ।
रायको भूमिकालाई लिएर नेपालका नेताहरु सन्तुष्ट नभएकाले भारतले नयाँ राजदूत पठाउनु उपयुक्त हुने चर्चा समेत कूटनीतिक वृत्तमा चल्न सुरु भएको छ ।
अर्कातर्फ राजदूत रायको भूमिकाका कारण मोदीको नेपालसम्बन्धी नीति असफल हुन लागेको चर्चासमेत काठमाडौंमा चल्न थालेको छ ।
पूर्वराजदूत भन्छन्- भारतले गडबडी गर्यो
विश्लेषक एवं कोरियाका लागि नेपालका पूर्वराजदूत कमल कोइरालाको बुझाइमा भारतले खेलेको पछिल्लो भूमिका गडबड मच्चाउने खालको प्रष्टै देखिएको छ ।
‘सोमबार सुष्मा स्वराजले वक्तव्य निकालेर स्वागत गर्नु, शुक्रबार फेरि विदेश सचिव पठाउनु र बेग्लै प्रतिक्रिया दिनुले भारतको भूमिका विवादास्पद देखिएको छ,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘यसमा राजदूत राञ्जित रायको मात्रै मामिला नभएकाले भारतले तत्काल राजदूत परिवर्तन गर्लाजस्तो मलाई लाग्दैन ।’
भारतले बाहिर जे भने तापनि उसको चासो सप्तकोशी नदीको पानीमा भएको कोइरालाले बताए । तर, यो मामिलामा विदेश मन्त्रालयकै योजनामा राजदूतले काम गरेको कोइरालाको विश्लेषण छ ।
एसडी मुनीको टिप्पणी
उता भारतमा समेत नेपालको पछिल्लो घटनाक्रमबारे भारतले लिएको नीतिबारे टिप्पणी सुरु भएको छ ।
नेपाल मामिलाका जानकार एसडी मुनीले ट्विट गर्दै भनेका छन्- ‘संविधानबारे भारतको रुष्ट प्रतिक्रियाका कारण नेपालका दायाँ र वायाँ अतिवादीहरुलाई तराईमा आगो बाल्नका लागि इन्धन प्राप्त भएको छ ।’
प्रतिक्रिया 4