२७ असोज, काठमाडौं । फ्लाई दुबईले उत्कृष्ट कार्यसम्पादन गर्ने १० वटा ट्राभल एजेन्टलाई सम्मान गरेको छ । कम्पनीले काठमाडौंमा गरेको मुख्य ट्राभल एजेन्ट र पार्टनरहरू भेलामा उत्कृष्टताको प्रमाण पत्रसहित उनीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा कम्पनीका कमर्सियल सिनियर भाइस प्रेसिडेन्ट सुधिर श्रीधरनले सन् २००९ देखि काठमाडौंमा उडान सुरु भएदेखिनै यात्रुको आकर्षण बढ्दै गएको बताए ।
अहिले नेपालमा फ्लाई दुबईले दैनिक चारवटासम्म उडान गरिरहेको जानकारी दिँदै उनले यसका लागि ट्राभल एजेन्ट र पार्टनरहरुले खेलेको भूमिकाको प्रशंसा गरे । कार्यक्रममा सरकारी अधिकारी र पर्यटन उद्योगका हस्तिहरुको पनि उपस्थिति थियो ।
फ्लाई दुबईले सन् २००९ मा हप्ताको चारवटा उडानबाट काठमाडौंमा आफ्नो उडान सुरुवात गरेको थियो । विभिन्न ९५ गन्तव्यमा उडान भर्ने फ्लाई दुबईले सन् २०१४ मा २३ वटा नयाँ गन्तव्यमा उडान सुरु गरेको थियो ।
यस्तै सन् २०१५मा पनि १८ वटा नयाँ गन्तव्यमा उडान सुरु गरिसकेको कम्पनिले जनाएको छ । कम्पनिले दुबईबाट सिधा हवाई सम्पर्क नभएको ६७ नयाँ गन्तव्यमा समेत उडान सुरु गरेको जानकारी दिएको छ ।
फ्लाई दुबईसँग ५० वटा नयाँ बोइङ ७३७-८०० जहाज छन् । जसलाई सन् २०२३ सम्ममा एकसय वटामा पुर्याउने कम्पनिको लक्ष्य छ । फ्लाई दुबाई एयरलाइन्स दुबई सरकारको नीति तथा आर्थिक विकासलाई टेवा पुर्याउन स्थापित नयाँ वायुसेवा कम्पनी हो ।
प्रतिक्रिया 4