१ कात्तिक, काठमाडौं । भारतीय सत्तारुढ दल बीजेपीका बरिष्ठ नेता विजय जोलीले चीनको बेइजिङ पुगेर नेपालका विषयमा ढाँटेका छन् । भारतीय प्रधानमन्त्री मोदीले छिमेकीप्रति राम्रो व्यवहार गरिरहेको भन्दै जोलीले अन्तरराष्ट्रिय समुदायसँग झूठो कुरा गरेका हुन् ।
नेपालमाथि भारतले लगाइरहेको आर्थिक नाकाबन्दीलाई पूरै ढाकछोप गर्दै जोलीले आफ्ना प्रधानमन्त्री मोदीले छिमेकीहरुसँग राम्रो व्यवहार गरिरहेको दाबी गरे । नेपाली नेताहरुले नाकाबन्दीबारे प्रश्न गर्दा जोलीले यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
एशियाली राजनीतिक पार्टीहरुको सम्मेलनमा सहभागिता जनाउन बीजेनी नेता जोली बेइजिङ पुगेका थिए । सो सम्मेलनमा नेपालबाट एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले सचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत सहभागी थिए ।
सम्मेलनमा मन्तव्य दिँदै जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारोहणमा पाकिस्तान, नेपाल, बंगलादेश, भुटान र श्रीलंका लगायतका देशलाई निम्तो दिएर छिमेकीसँग राम्रो सम्बन्ध बनाएको जोलीले आफ्नो मन्तव्यमा उल्लेख गरे ।
आफ्नो मन्तव्यमा जोलीले ‘छिमेकीतर्फ हेर’ भन्ने नरेन्द्र मोदीको नीति रहेको बताउँदै नेपालमाथि लगाइरहेको नाकाबन्दीलाई ढाकछोप गर्ने भरमग्दुर प्रयास गरे ।
नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको भारतले छिमेकीका सामु हाम्रो व्यवहार राम्रो छ भनेपछि नेपाली नेताहरुले यसबारे जोलीसँग बेइजिङमै प्रश्न उठाएका छन् ।
तपाईहरुले नेपालमाथि किन नाकाबन्दी लगाएको ? तेल लगायतका अत्यावश्यक सामाग्रीहरु किन रोकेको ? बेइजिङमा नेपाली नेताहरुले गरेको यस्तो प्रश्नमा भाजपा नेता जोलीले आश्चर्य प्रकट गर्दै भने, ‘ए हो र ? भारतबाट नेपालमा पेट्रोलियम पदार्थ गइरहेको छैन ?’
भारतीय नाकाबन्दीले नेपालीहरु मारमा परिरहेको नेपाली नेताहरुले बताएपछि जोलीले भने- ‘यदि त्यस्तो भएको रहेछ भने मलाई इमेलमा लेखेर पठाउनोस्, म दिल्ली पुगेपछि प्रधानमन्त्री मोदीजीसँग कुरा गरौंला ।’
नाकाबन्दीबारे जानकारी नभएको बताउने उनै विजय जोलीले यसअघि विज्ञप्ति नै जारी गरेर नेपालमा नाकाबन्दी नभएको तर्क गरेका थिए ।
यो पनि पढ्नुस्
भाजपा नेता जोलीले भने-नेपालमा भारतविरोधी प्रदर्शन हुनु दुर्भाग्यपूर्ण
प्रतिक्रिया 4