सउल । दक्षिणा कोरियामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार तथा समाजसेवी मीनप्रकाश उप्रेतीको कोरियामा सम्मान तथा विदाइ गरिएको छ । जनस्तरबाट संयुक्तरुपमा आइतबार एक कार्यक्रमकाबीच उप्रेतीको सम्मान तथा विदाइ गरिएको हो ।
कोरियामा रहेर निरन्तर निष्पक्ष ढंगले कमल चलाउनुका साथै सामाजिक क्षेत्रमा अग्रणी भूमिका देखाएको भन्दै उप्रेतीलाई सम्मानपत्र प्रदान गरिएको हो ।
रोजगार अनुमति प्रणाली अन्तर्गत विगत सात वर्षदेखि कोरियामा रहँदै आएका उप्रेती कोरिया सन्देश क्लबका अध्यक्ष हुन । कोरियामा रहेका दर्जन बढि सङ्घ सस्थाहरुमा प्रमुख सल्लाहकारको भूमिका निभाउदै आएका उप्रेती कोरियाको बसाई अवधि समाप्त गरी नेपाल फर्किदैछन् ।
तेह्रथुमको छातेढुङ्गा गाविसमा जन्मिएका उप्रेती झापा डागिबारीमा स्थायी बसोबास गर्दै आएका छन् । २०५२ सालदेखि पत्रकारिता गर्दै आएका उप्रेतीले मलेसियामा रहेर पनि पत्रकारिता गरेका थिए ।
उनी ०६२/६३ सालको जनआन्दोलनका घाइते समेत हुन् । कोरियामा नेपाली दूतावास आइतबार बन्द हुँदा नेपाली श्रमिकले कष्ट भोग्नु परेको भन्दै आइतबार दूतावास खोल्नु पर्ने अभियान प्रमुखका रूपमा उप्रेती चिनिन्छनन् ।
उप्रेतीले कोरिया सन्देश क्लबको माध्यमबाट नेपाली स्वास्थ्यकर्मी सहितको निःशुल्क स्वास्थ्य परामर्श शिविर सञ्चालन गरेका थिए भने उप्रेती कोरियामा सञ्चालित पाथिभरा हाउसका संस्थापक हुन् ।
अटिजम बालबालिका सहयोग अभियान, आरती सेल्टर, सुनाखरी बैन्ड, कोरिया सन्देश क्लब लगायतले संयुक्तरुपमा सम्मान कार्यक्रमको आयोजना गरेका थिए ।
सम्मान तथा बिदाई कार्यक्रममा नेपाली सम्पर्क समितिका कार्यवाहक अध्यक्ष अन्जु केसी, अटिजम अभियान संयाेजक बिक्रम ठकुरी, आरति सेल्टरका व्यवस्थापक जीवन थापा, सुनखरी सांगीतिक समूहका प्रतिनिधि रघु महार्जन लगायतले उप्रतीलार्इ दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
प्रतिक्रिया 4