१९ कात्तिक, काठमाडौं । नेपाल र चीनबीच दुई सुख्खा बन्दरगाह र सातवटा नाका सञ्चालन गर्नेसहित २० बुँदे सम्झौता भएको छ । भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेका बेला नेपालले चीनतर्फ थप नाका खोल्ने सहमति गरेको हो ।
काठमाडौंमा भएको वार्तापछि सहमतिपत्रमा नेपालको तर्फबाट भन्सार विभागका उप-महानिर्देशक दामोदर रेग्मी र चीनको तर्फबाट ल्हासा भन्सार उपमहानिर्देशक लोङ चुनवेईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नयाँ सात नाकाहरुमा खुला गरिनेछ । संखुवासभाको किमाथाङ्का, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामाबगर र मुगुमा भन्सार पूर्वाधारको विकास गरी नाका सञ्चालनमा ल्याउनेछ । त्यसका लागि सरकारी उच्च तहका अधिकारीहरुले आवश्यक अध्ययन अघि प्रक्रिया बढाउने बढाइनेछ ।
सम्झौतापछि भन्सार विभागका उप-महानिर्देशक रेग्मीले भने-‘यसअघिका बैठकहरुमा सात नाकाहरुबारे ठोस छलफल नै हुँदैनथ्यो । यो पटक हामीले सञ्चालन गर्ने गरी नै सहमति गरेका छौं ।’
साथै भूकम्पका कारण बन्द रहेका तातोपानी र रसुवागढीमा भन्सार कार्यालय खोल्ने र खुख्खा बन्दरगाह सञ्चालन गर्ने सहमति पनि भएको छ । सिन्धुपाल्चोकको लार्चामा निर्माणधीन सुख्खा बन्दरगाहको निर्माण छिट्टै सक्ने र रसुवाको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण अघि बढाउने उल्लेख छ ।
भिडियो
यसैगरी नेपाल र चीनका भन्सार कार्यालय खुल्ने र बन्द हुने समयलाई एकैपटक हुने गरी व्यवस्था गरिने भएको छ । यस्तै नेपालको क्वारेन्टाइन प्रमाणपत्र स्वीकार गर्ने वातावरण बनाउन चीन सहमत भएको छ ।
समझौता अनुसार चीनले विभिन्न वस्तुमा दिएको शुन्य भन्सार सुविधा कार्यान्वयनमा प्राविधिक गृहकार्य गर्नेछ । यसैगरी रसुवाको केरुङ नाकालाई थप व्यवस्थित बनाउन स्थानीय सरोकारवाला निकायबीच नियमित बैठक गर्ने, नेपाली व्यापारी र चालकलाई केरुङसम्म जान दिनेे, बैंकिङ कारोबार तथा प्रतितपत्रमार्फत कारोबार गर्ने, भन्सार कार्यालयहरुबीच सूचना आदानप्रदानमा सहकार्य गर्ने सहमति भएको छ ।
दुबै देशका भन्सार कार्यालयलाई थप प्रभावकारी बनाउन संयुक्त टोलीले अध्ययन गर्ने, नेपाल आउने चिनियाँ सामग्रीमा नेपाली वा अंग्रेजी भाषामा उत्पादन तथा उपभोग्य मिति सहित लेभल राख्न पहल गर्ने दुई देशबीच भएको २० बुँदे सम्झौता पत्रमा उल्लेख छ ।
नयाँ सम्झौताले नेपाली बस्तुहरुलाई चिनियाँ बजारसम्म सहज रुपमा पुर्याउन सहयोग पुग्ने रेग्मीले बताए ।
 
                









 
                     
                                

 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4