+

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला यसरी बन्दैछ भैरहवामा

२०७३ जेठ  ५ गते १७:०१ २०७३ जेठ ५ गते १७:०१
अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला यसरी बन्दैछ भैरहवामा

Cricket-Stadium-Map

५ जेठ, भैरहवा । भैरहवाको ‘सिद्दार्थ रंगशाला’ले पछिल्लो एक दशकमा धेरै राष्ट्रिय खेलाडीहरु जन्माइसकेको छ । तर, यथार्थमा यहाँ कुनै रंगशाला थिएन ।

सिद्दार्थ रंगशालालाई वास्तविक रंगशालाको स्वरुप दिने गृहकार्य बल्ल सुरु भएको छ । अन्तर्राष्ट्रियस्तरका सम्पूर्ण भौतिक संरचनासहित पहिलोपटक नेपालमा क्रिकेट रंगशाला बन्ने भएको हो । हाल मैदान स्तरोन्नतीको काम अहिले तीव्र रुपमा भइरहेको छ ।

साढे ६ विगाहा क्षेत्रफलमा फैलिएको मैदानलाई रंगशालामा स्तरोन्नती गर्नका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ४५ हजार ९ सय ४१ दशमलव २ स्क्वयर मिटर क्षेत्रफलमा निर्माण थालिएको छ । नेपाल सरकारकै लगानीमा चरणबद्ध रुपमा रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

स्विमिङ पुल सहितको निर्माणधीन सिद्धार्थ रंगशालामा चारैतिर प्याराफिट, प्याविलियन, कार्यालय, क्रिकेट अभ्यास क्षेत्र, पार्किङ स्थल, लाइट कन्ट्रोल रुम, उपचार कक्ष, टिकट काउन्टर, भिआइपी प्याराफिट एरिया, प्रशिक्षक भवन, प्रशासनिक भवन, कन्फ्रेन्स हल, डोप टेस्ट एरिया लगायत भौतिक संरचनाहरु निर्माण हुनेछन् ।

हाल तयार पारिएको निर्माणधीन सिद्धार्थ रंगशालाको गुरुयोजना अनुसार रंगशालाको पूर्व उत्तर तर्फ पेविलियन बनाइनेछ । जसमा शौचालय सहितको चेन्जिङ रुम, नुहाउने क्षेत्र, डब्लु सी, खाना खाने स्थान, खेलाडीले क्रिकेट हेर्ने डेस्क, भिआइपी बस्ने क्षेत्र र कन्फ्रेन्स हल हुनेछ ।

यस्तै पूर्वतर्फ पार्किङ स्थल, गार्ड भवन, २ वटा गेट निर्माण हुनेछ । पश्चिम तर्फ पार्किङ स्थल, २ वटा गेट र टिकट काउन्टरको भवन निर्माण हुनेछ ।

त्यस्तै उत्तर तर्फ उपचार, प्रशिक्षक र कार्यालय भवन, पार्किङ स्थल, पाहुना, स्टाफ भवन, प्रसाशिनक भवन, भित्री अभ्यास क्षेत्र, बाहिरी अभ्यास क्षेत्र, स्विमिङ पुल र २ वटा गेट निर्माण हुने छ भने दक्षिण तर्फ पनि २ वटा गेट, टिकट काउन्टर, फुड स्टल्स भवन निर्माण हुने रंगशालाका इन्जिनियर माधव देवकोटाले बताए ।

Cricket-Stadium2उनका अनुसार दक्षिण-पश्चिम क्षेत्रमा एउटा गेट, एउटा सार्वजनिक शौचालय, दक्षिण-पूर्वतर्फ पनि एउटा सार्वजनिक शौचालय र एक्जीट पेबिलियन भवन निर्माण हुनेछ ।

रंगशालामा अहिले ग्राउन्डमा माटो फिलिङ गर्ने काम सकिएको र खाल्डो खन्ने काम जारी रहेको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

मैदानमा पानी जम्न नदिन १४ वटा खाल्डो खनिनेछ । जसमा खाल्डोमा ग्राभल राखिनेछ र माथिबाट जिओ टेक्सटाइल (विशेष किसिमको कपडा) राखिनेछ र त्यसमाथिबाट दुबो रोपिन्छ । जसको कारण मैदानमा जमेको पानी सो खाल्डोबाट रसाएर सजिलै रुपमा बाहिरी नालामा जानेछ । यो अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेको आधुनिक प्रविधि हो ।

मैदान सम्याइसकेपछि दुबो रोप्ने र साथसाथै मैदान वरीपरी तारजाली लगाइने काम सुरु हुने अध्यक्ष मल्लले बताए ।

‘अहिले क्रिकेट पिच निर्माणको लागि हामीसगँ बजेट पुगेको छैन तर जिल्ला क्रिकेट संघ रुपन्देहीले  पिच निर्माणको लागि बजेटको माग गर्दै राष्ट्रिय खेलकुद परिषदमा अनुरोध पत्र पठाइसकेको छ’ अध्यक्ष मल्लले अनलाइनखबरसँग भने- ‘यदि अहिले नै बजेट विनियोजन भए चालु आर्थिक वर्षमै क्रिकेट पिच निर्माण कार्य सुरु गर्ने छौँ । यो रंगशालामा ३ वटा पिच निर्माण गरिनेछ ।

Cricket-Stadium1

भैरहवामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि २०६८ सालदेखि नै गुरुयोजना बनाएर काम सुरु गरिएको थियो । तर अपेक्षाकृत काम हुन नसक्दा पाँच बर्षमा उल्लेख्य प्रगति भने भएन । यो आर्थिक बर्षमा निर्माणको कामले गति लिएको छ । सरकारले नै चरणबद्ध रुपमा रंगशाला निर्माण गर्ने योजना बनाएको छ । अन्तर्राष्ट्रिय बिमानस्थलका साथै क्रिकेट मैदान पनि बन्ने भएपछि भैरहवावासी निक्कै उत्साहित देखिएका छन् ।

पहिले मैदान निर्माणको काम गरिने र क्रमिक रुपमा योजना अनुसार भौतिक संरचनाको निर्माण हुनेछ । नियमित रुपमा बजेट आइमा लक्ष्य भन्दा अगाडि नै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सम्पन्न गरिने अध्यक्ष मल्लले जानकारी दिए ।

अगामी आर्थिक वर्षका लागि सिद्धार्थ रंगशालाका लागि बजेट विनियोजनको लागि आफुले पहल गरिरहेको र रंगशालाका लागि उपयुक्त बजेट विनियोजन हुनेमा आफु आशावादी रहेको उनले बताए ।  जग्गा विवादका कारण सिद्धार्थ रंगशालाको गुरुयोजनामा भने केही परिवर्तन हुन सक्ने बुझिएको छ ।

क्रिकेट रंगशाला बुटवल भैरहवा लुम्बिनी
लेखक
सलमान खान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय