+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गायक पिताले नचाहेका गायक छोरा

तर अघि बढाउँदै छन् पिताकै गोरेटो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते १५:१९

Dharmendra Sewan (1)हाँगा र पातका मुनाहरूको कुरा गर्नुअघि जहाँ पनि जराको कुरा महत्वपूर्ण हुन्छ । भर्सटायल गायकको परिचय बनाएका धर्मेन्द्र सेवानको हकमा यो प्रसंग झनै लागू हुन्छ ।

देश-विदेशमा सबैतिर गुञ्जिरहने निकै प्रचलित लोकगीत छ –
रेशम फिरिरी रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ
रेशम फिरिरी ।

यो गीतसँग धर्मेन्द्रको निकै गहिरो नाता गाँसिएको छ । खासमा रगतकै साइनो छ । यो गीतका सर्जक हुन् धर्मेन्द्रका पिता बुद्धि परियार । बुद्धिको शब्द र लय संकलनमा २०२६/२७ सालताका तयार भएको यो गीतमा द्वारिकालाल जोशी र सुन्दर श्रेष्ठले स्वर दिएका छन् । यही गीत बुद्धि परियारको सिंगो परिचय बन्यो ।

नेपाली लोकगीतकै पर्याय जस्तो बनेको रेशम फिरिरीले नेपालीहरूलाई त रन्को छुटाएकै छ । भाषाले पर्खालको काम गर्ने विदेशीहरूमाझ समेत यसको धुनले धेरैको मनमा डेरा जमाएको छ ।

बुबालाई रेशम फिरिरीले चिनाए पनि धर्मेन्द्र नेपाली ताराबाट चम्किएका प्रतिभा हुन् । पहिलो नेपाली तारामा दोस्रो भएपछि उनले श्रोताको माया र चर्चा कमाए । त्यो मायालाई कसरी बचाइराख्ने भन्ने चुनौतीका बीच उनी स्तरीय गीतको खोजी गर्दै संगीतको गोरेटोमा बढिरहेका छन् । त्यो भनेको लोकलयमा आधारित ठेट नेपाली स्वाद आउने संगीतको विकास ।

बाहिर ताली, स्टेज पछाडि पेट खाली

सुन्दर नगरी पोखराको खहरे लेकसाइडमा जन्मिएका हुन् धर्मेन्द्र । पर्यटकीय केन्द्र लेकसाइडको नराम्रो हावा लागेर छोराले बाटो बिराउला कि भन्ने घर-परिवारको डर थियो । तर, उनका लागि भने संगीत नै संयमको मार्ग बनेको थियो ।

बुवा थिए नेपाल प्रहरीका जागिरे । प्रहरीको सांस्कृतिक फाँटमा आबद्ध उनी पुलिस क्लबको कलाकारका रूपमा विभिन्न कार्यक्रममा नाच्थे, गाउँथे । नाच्न भनेपछि चौपट्टै सिपालु मानिन्थे बुद्धि । मञ्चमा नाच्दानाच्दै टोपी फुस्किएर खस्यो भने पनि नाच्ने क्रममै दर्शकले चालै नपाई टिपेर शिरमा पहिरिसक्थे । नाच्ने, गाउने, बाजा बजाउने सबै कुरामा ‘अलराउन्डर’ उनका बुबा त्यतिबेला युरोप टुर गर्ने गिनेचुनेको कलाकारमा पर्थे ।

नाचगानको छाप छोरा धर्मेन्द्रमा नजानिँदो हिसाबले पर्दै थियो । रेडियोमा गीत बज्नुअघि बुबाको नाम सुनेर, अन्तर्वार्ता पढेर बुवाप्रतिको गौरव निकै चुलिएको थियो ।

यो गाउने-बजाउने क्षेत्रमा बाहिर ताली तर स्टेज पछाडि पेट खाली हुन्छ भन्ने यथार्थ बुझेरै  रोक्न खोज्नुभयो होला

कलामा आफू त्यस्तरी भिजे पनि छोरा भने यस्तो ‘दुःखिया’ क्षेत्रमा नआओस् भन्ने उनको चाहना थियो । राम्ररी पढाइ पूरा गरेर राम्रो जागिर गरोस् भन्ने चाहन्थे । ‘म संगीत क्षेत्रमा आकषिर्त छु भन्ने छनक पाएपछि बुवा सजग हुनुभएको थियो,’ धर्मेन्द्रले विगत केलाए – ‘यो गाउने-बजाउने क्षेत्रमा बाहिर ताली तर स्टेज पछाडि पेट खाली हुन्छ भन्ने यथार्थ बुझेरै मलाई रोक्न खोज्नुभयो होला ।’

तर, यिनी पछाडि नर्फकने गरी अघि बढिसकेका थिए ।

साथीहरूसँग ब्यान्ड बनाएर पोखरा लेकसाइडको पबमा गाउन थाले । झन्डै चार वर्ष ब्यान्डको सुरले गुञ्जियो लेकसाइड । यसले केही पकेट खर्च जुटायो । संगीतको भोक-प्यास मेटायो । त्यसभन्दा बढी उनको लागि संगीतको सुरुवाती पाठशाला त्यही पब बन्यो । मान्छेहरूसँग आमनेसामने भएर स्टेजमा गाउने साहस दियो त्यसले । तर, संघर्ष भनेको के हो थाहै नभएको त्यो ठिटौले उमेरमा त्यसरी साथीभाइसँग ब्यान्डमा गाउनुलाई उनी संगीतप्रतिको प्रेमका रुपमा अथ्र्याउँछन् धर्मेन्द्र ।

बुबा लोकगीतको संसारमा रमाउँदा मादल र हार्मोनियम मात्रै बज्थ्यो घरमा । छोराले पहिलो चोटि गितार भित्र्याए ।

जागिरको सिलसिलामा बुबा काठमाडौंतिरै बस्ने भएकाले पनि संगीतमा मनमौजी रमाउन पाएका थिए । आमाकै आडभरोसा पाएर रात-रातभर पबमा गाएर स्वदेशी-विदेशी पर्यटकलाई मोहनी लगाइरहे । आमाको साथ चाहिँ कस्तो भने ‘मेरो छोराले गाउँदा चराचुरुंगीहरू पनि रमाइलो मानिरहेका हुन्छन् होला’ भनेर ऊर्जा दिइरहन्थिन् । तर, घरमा बुबा हुँदा भने स्थिति अलिक सम्हालिन्थ्यो । डरले उनी चुप, उनको गितार चुप ।

मनमा नेपाली मौलिक संगीत

गितारको सुरमा धर्मेन्द्रले पप गीतले गला सफा धेरै पारे । तर, संगीत सिक्दै र बुझ्दै आउँदा लोक लयमा आधारित गीत-संगीत नै हाम्रो मौलिक परिचय रैछ भन्ने उनलाई लागेको छ । विदेशतिर कार्यक्रममा जाँदा श्रोताहरूले विशुद्ध नेपालीपन बोकेका गीतहरूलाई विशेष माया दिएको देखेपछि मौलिक नेपाली संगीतमा झनै एकोहोरिएका छन् ।

Dharmendra Sewan (4)कार्यक्रमहरूमा जाँदा बुबाको ‘रेशम फिरिरी’ गीत गाएकै हुन्छन् । बुद्धिका छोरा हुन् भनेर थाहा पाएपछि त झन् उनलाई कन्सर्टहरूमा यो गीत गाउने फर्माइश नै आउँछ । बुवालाई आफ्नै गायकीबाट ब्यूँताउने र आजका श्रोतासम्म फैलाउने त्यो अवसर खेर फाल्दैनन् । एक हिसाबले सांगीतिक कन्सर्टको श्रीगणेश रेशम फिरिरीबाटै गर्छन् ।

संगीतकर्मी बुबाले यो क्षेत्रमा लागेर जीवन चल्दैन भन्दै आउँदा उनलाई संगीत सिकाउने कुरै थिएन । तर, बुबाको जीवनबाट उनले सिकेको कुरा हो – ‘नेपाली गीत संगीतलाई माया गर्नुपर्छ है ।’ त्यही भएर तत्काल केही समयको लागि चल्ने गीतभन्दा बीसौं वर्ष बाँच्ने बुबाको जस्तै गीत निकाल्न उनी साधनारत छन् ।

दुईवटा एल्बम निकालिसकेका धर्मेन्द्र अहिले तेस्रो एल्बम निकाल्ने तयारीमा छन् । नाम जुराइसकेका छन् – ‘राष्ट्रको गीत’ । नामअनुसार नै यसमा नेपाली जनजिब्रोमा झुन्डिएर राष्ट्रकै गीत बनिसकेका लोक भाकाहरूलाई रिमेक गरेर उनले पस्किएका छन् । जसमा रेशम फिरिरी, हेर्दा राम्रो माछापुच्छ्रे, पहाडमा हुर्किएकी, दिलै जलायो लगायत अधिकांश गीतहरू बुबाकै सिर्जनालाई उनले समेटेका छन् । ‘दिलै जलायो’ भन्ने गीत चाहिँ बुबाको डायरीमा अपुरो भेटेका थिए । त्यसैमा शब्द थपथाप गरेर उनले पूरा गरे ।

एउटा गीत भने बुबाको सम्मान गर्दै ‘मेरो बुबा’ भनेर आफ्नै मौलिक सिर्जना एल्बममा रहनेछ । यसका साथै आमाको शब्द-संगीतमा पनि ‘अइयो, रइयो, सइयो’ बोलको गीत पनि गाएका छन् ।  उनले भने – ‘आमाले बुवालाई संगीत सिर्जनामा धेरै सपोर्ट गर्नुहुन्थ्यो । कतिपय बेला बुवामा आएका गीतका भावना आमाले लेख्दिनुहुन्थ्यो ।’

धर्मेन्द्र १९/२० वर्षको छँदा २०६० सालमा बुद्धि बिते । त्यो शून्यतामा संगीत नै उनको साथी भयो । सांगीतिक यात्रामा नेपालीपनलाई जोगाएर अघि बढ्दै गए ।

२०५४ सालको ब्याच भए पनि फेल भएपछि पढाइ त्यत्तिकै अलपत्र छाडेर संगीतमै घोटिएका थिए धर्मेन्द्र

एसएलसी फेल, नेपाली तारामा पनि झन्डै फेल

२०६१ सालमा गायन प्रतिभाको खोजी गर्ने रियालिटी शो ‘नेपाली तारा’ सुरु भयो । संगीतलाई सर्वस्व मानेका धर्मेन्द्रको लागि यो त सुवर्ण अवसर नै बन्यो । पोखरेली गायकका रूपमा पोखराबाटै अडिसन दिए । गायक बन्ने क्षमता देखाउन त्यतिबेला पोखरामा १६ सय जनाले अडिसन दिएका थिए । उनी पनि गाउने रहर र चार वर्ष पबमा गाएको अनुभवले मैदानमा उत्रिए ।
‘तर त्यस बेलासम्म पनि म अन्डर एलएलसी नै थिएँ,’ उनले सुनाए – ‘२०५४ सालको ब्याच भए पनि फेल भएपछि पढाइ त्यत्तिकै अलपत्र छाडेर संगीतमै घोटिएको थिएँ ।’

नेपाली ताराको अडिसनमा जाँदा रोमाञ्चभन्दा डरले उनको मुटु भुकभुकी फुलेको थियो । बाहिर मान्छेहरूको लर्को छल्दै भित्र हलमा स्वरको परीक्षा दिन जजहरूसामु उभिए । मुटु त झन् उफ्रिदै जिब्रोनेरै आइपुगे जस्तो भयो । केही उच्चारण नै गर्न सक्ने अवस्था रहेन । ज्यादै नर्भस भए ।

जजहरू थिए दीपक जंगम, विमला राई र आलोकश्री ।

‘गाऊ भाइ’ भन्ने आवाज आएपछि नारायण गोपालको गीत सुनाए –
‘पोखिएर घामको झुल्का भरि सँघारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है ।’

तर, सुर लागेन । लो रेन्ज पक्रेन उनको गलाले । उनको गायकी अलि हाइ रेन्जको गीतको लागि सुहाउँदो थियो ।

दीपक जंगमले उनीमा के देखे कुन्नि, भनेछन् – ‘यो भन्दा अलिकति हाइ रेन्जको गीत गाऊ त ।’

धर्मेन्द्रले अरुण थापाको ‘तिमी हेर्छौ भने यो जिन्दगीमा नदेखिने घाउ धेरैधेरै छन्’ सुनाए । तर, यो गीत पनि जुन स्केलमा गाउनुपर्ने हो, त्यसमा गाउने साहस नै जुटेन ।

जजहरूबीच ‘गलाको घुमाइ हेर्दा यो केटा गाउने चाहिँ हो रैछ’ भन्ने कुरा भयो ।  फेरि अर्को मौका पाए उनले ।

आलोकश्रीले सुझाए – ‘तिमीसँग त्यस्तो कुनै हाइ रेन्जको गीत छ ? ल गाऊ त भाइ ।’

यो पालि भने उनले अलिक धक फुकाएर यम बरालको गीत गाए –
‘अब चोटहरूले पिरोल्दैन मलाई
गहिरो घाउ छातीमै छ ।’

बल्ल जजहरूको चित्त बुझ्यो । अगाडिको प्रतिस्पर्धाका लागि अझ मिहिनेत गरेर काठमाडौं आउने निम्ता पाए । उनले भने – ‘त्यसरी तीन चोटि मौका त कसैले पनि पाएको थिएन होला । आफूलाई भाग्यमानी मान्छु । भिड्दै जाँदा देशभरिबाट नेपाली ताराको टप टेनमा पुग्ने बेला म एकमात्र पोखरेली थिएँ ।’

काठमाडौं आएपछि उनको साधनाको दिन सुरु भयो । तर, बाँच्ने मेलो कसरी मिलाऊँ, कसरी अगाडि बढूँ भन्ने जस्तो संघर्ष भने उनले खेप्नुपरेन । बिहे भइसकेका तीनवटी दिदी काठमाडौंमै आ-आफ्नो मेलोमा लागेकै थिए । उनको सांगीतिक यात्रामा आमापछि दिदीहरू सहयोगी भइदिए ।

पोखरामा उनको घर छेउछाउमा हरियाली छ । बोटबिरुवाका डालीमा चराचुरुंगी खेल्छन् । आमा धनमाया छोरालाई ढाडस दिंदै भन्थिन् – ‘मेरो छोराले गाउँदा चराचुरुंगीहरू पनि रमाइरहेका हुन्छन् होला ।’

यो सुनेर साँच्चै हो कि जस्तो लाग्थ्यो धर्मेन्द्रलाई । गजबको ऊर्जा मिल्थ्यो । आँगनका चराचुरुंगीभन्दा फैलिएर उनको स्वर रुचाउने जमात आज देश-विदेशमा पनि बढ्दो छ ।

Dharmendra Sewan (8)नेपाली ताराबाट उदाएको गायकको चिनारी पाउँदा जति गर्व मान्छन्, संगीतमा युवा गायकको रुपमा आफ्नो परिचय बनेसँगै जिम्मेवारीबोध पनि बढेको उनी सुनाउँछन् । ‘संगीतको ध्वनि सुनेर श्रोताहरू आनन्दित हुन्छन्, कार्यक्रमहरूबाट पाएको पैसाले जिन्दगी चलिरहेको छ,’ धर्मेन्द्रलाई खुसी लाग्छ – ‘हामी त संसारकै गजब काम गरिरहेका छौं जस्तो लाग्छ ।’

केटौले उमेरमा पढाइलाई अलपत्र छाडे पनि उनी संगीतको रेसका क्रममा औपचारिक शिक्षाबाट भागेनन् । २०५४ सालमा फेल भएर छाडेको एसएलसी ११ वर्षपछि दिए । २०६५ सालमा फस्ट डिभिजनमा पास भए । भन्छन् – ‘पढाइलाई कहिल्यै पनि कम आँक्न हुन्न भन्ने लाग्छ । नपढी संसार बुझ्न गाह्रो छ ।’ यही बुझेर उनले संगीतको व्यस्ततासँगै समय मिलाएर बीए सम्मको पढाइ अघि बढाइसकेका छन् ।

जिन्दगीको मजा लाइभ म्युजिक

सिकारु बेलामा पोखराको पबमा दर्शकको आँखाको भाव पढ्दै लाइभ संगीतमा झ्याम्मिएका हुन् धर्मेन्द्र । लाइभ म्युजिकको विशुद्ध स्वाद मन पर्छ उनलाई । दर्शकको प्रतिक्रिया पनि तत्काल थाहा हुन्छ । दर्शकको अगाडि परीक्षा दिइरहे जस्तो लाग्दा राम्रो प्रस्तुति दिनुपर्ने चुनौती पनि त्यत्तिकै हुन्छ ।

डिजिटलमा भने धेरै कुरा छ्यासमिस हुन्छ । स्वाद ठिमाहा भइदिन्छ । रेकर्डिङका क्रममा प्राविधिक जादुगरीले मूल स्वरूप नष्ट हुन्छ ।

हिजोआज लाइभ म्युजिक प्रस्तुतिमै व्यस्त छन् उनी । गीत रेकर्ड पनि वाद्यवादन टोली एकसाथ भेला भएर प्रत्यक्ष रुपमै गर्न पाए हुन्थ्यो भन्ने लाग्छ उनलाई । भन्छन् – ‘संगीतको विशुद्ध स्वाद र आनन्द लाइभ म्युजिकमै पाइन्छ ।’

पढेर, सिकेर आएको मान्छेमा प्रतिभा छ भनेर श्रोताले थाहा पाएपछि अहिले स्थापित हुन गाह्रो छैन

नेपाली तारामा दोस्रो भएपछि देश-विदेशमा धेरै कन्सर्टमा गाए । त्यस क्रममा लाइभ संगीतको महत्व र शक्ति थाहा पाए । आफ्नो गीत सुनेर श्रोता जुरुकजुरुक भएको देख्दा एउटा कलाकारलाई मिल्ने शान्ति कति अद्भूत हुँदो हो !

अहिलेको समय राम्रो संगीतकर्मीको समय मान्छन् उनी । उनलाई लाग्छ – ‘पढेर, सिकेर आएको मान्छेमा प्रतिभा छ भनेर श्रोताले थाहा पाएपछि अहिले स्थापित हुन गाह्रो छैन ।’

प्रविधिले पनि नयाँ पुस्तालाई जुनसुकै क्षेत्रमा नयाँ-नयाँ कुरा सिक्ने अवसर दिएको उनले देखेका छन् । संगीतमा पनि गाउने, बजाउने तौरतरिका इन्टरनेटबाट हेरेर, सुनेर सिक्न सकिन्छ । यो सुविधाको नयाँ पुस्ताले भरपूर फाइदा लिनुपर्ने उनी बताउँछन् । भन्छन् – ‘पढ्ने र सिक्ने इच्छा भए स्रोतहरू खुल्दै आउँछन् ।’

संगीतमा अवसरले भरिएको आजको समय आउनुमा आफ्नो बुबा पुस्ताकै योगदान मुख्य मान्छन् उनी । नारायण गोपाल, भक्तराज आचार्य, अरुण थापाहरूले बनाइदिएको बाटोमा हिँड्न पाएका छन् नयाँ संगीतकर्मीले । ‘बुवाको पुस्ताले खाइ-नखाई गरेका सिर्जनाहरूले अहिले बाटो सजिलो भएको छ । त्यसबाट हामीले लाभ लिइरहेका छौं,’ अग्रजप्रति ऋणी छन् उनी ।

पुरानो समय धमिलो र चमक उडेको किन नहोस्, त्यसको गुदी रसिलो र गुनिलो हुन्छ । यसैले धर्मेन्द्र पनि भुल्न सक्दैनन् पुरानो समय । हातमा बुबा र आमाको चिनारी झल्काउने ट्याटु खोपेका छन् – ‘रेशम फिरिरी आमा ।’ अर्थात् रेशम फिरिरीले समग्रमा उनको बुबाको चिनारी बोकेको छ ।

मनले खाएको असल संगीतमा लागेर संगीतको विकासमा एउटा खम्बा बन्ने अठोट त छ । तर, सिंगो संसार संगीत नै भएपछि दाल-भात खान बजारमा चल्नुपर्ने जरुरी पनि छ । उनी यसमा प्रस्ट छन् – ‘बजारमा चल्न केही न केही सम्झौता त गर्नैपर्छ । तर त्यसो भन्दैमा आत्माले नै नमान्ने जस्तो पायो त्यस्तो गीत गाउँदिनँ ।’

एक दशकयता आफ्नो परिचय आफैंले निर्माण गर्ने यात्रामा लागेकै छन् उनी । नेपाली फिल्ममा पाश्र्व गायनमा पनि विस्तारै जम्दै छन् । बुबाको गोरेटोलाई अघि बढाउने दायित्व पनि लिएका छन् । मौलिक नेपाली संगीतलाई जनजनमा फैलाउने र संगीतको विकास गर्ने सोच पनि जब्बर हुँदै छ ।

बुबाप्रति सम्मानभाव राख्दै हालै ‘रेशम फिरिरी अडियो भिडियो प्रोडक्सन’ नामक कम्पनी नै खोलेका छन् । त्यसैबाट ‘राष्ट्रको गीत’ एल्बम ल्याउने तयारी छ ।

राष्ट्रको गीत जब आउनेछ, जनजिब्रोमा घुलेको उही परिचित गीत नयाँ गलामा गुञ्जिनेछ –
‘उडेर जाउँ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?